नापी र मालपाेतकाे मिलेमताेमा १० जना व्यक्तिले हडपे मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाको १३ बिघा जग्गा – Nepal Press

नापी र मालपाेतकाे मिलेमताेमा १० जना व्यक्तिले हडपे मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाको १३ बिघा जग्गा

हेटौंडा । मकवानपुरमा सरकारी जमिन अतिक्रमणको रहस्य खुलासा भएको छ । मकवानपुरको हेटौंडा- ५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको नाममा रहेको जग्गा अतिक्रमण भएको खुलासा भएको हो ।

केन्द्रको नाममा रहेको ४९ हेक्टर जग्गामध्ये १३ बिघा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको छ । केन्द्रले आफ्नो अतिक्रमित भएको जग्गाको विवरण जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई गत जेठ ८ गते जानकारी गराएको थियो । अहिले सोही पत्र सार्वजनिक भएको छ ।

पत्रमा कित्ता नम्बर ९६ को ८ बिघा १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रंगशाला निर्माण, हेल्थ पोष्ट र कार्यालय भवनसमेत अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरिएको जनाइएको छ ।

कित्ता नम्बर ९६ को २ कठ्ठा १.५ धुर अतिक्रमित जग्गामा उद्धव चौलागाईंले जस्ताको टहरा बनाइ पसल सञ्चालन गरेका छन् । त्यस्तै सनम श्रेष्ठले १ कठ्ठा १.५ धुर जग्गामा जस्ताकै टहरा बनाइ रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको उल्लेख छ ।

यसैगरी कृष्णप्रसाद पुरी, रामकृष्ण कुँवर, विष्णु दंगालले क्रमशः १ कठ्ठा १२ धुर, १ कठ्ठा ३ धुर, २ कठ्ठा ५ धुर सरकारी जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरी रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएका छन् ।

जीतलाल महर्जनले १ कठ्ठा ३ धुर जग्गा अतिक्रमण गरी जस्ताको टहरा बनाइ पसल सञ्चालन गरेका छन् ।

कालु स्याङ्तानले १ कठ्ठा ५ धुर, विष्णु दंगालले २ कठ्ठा ५ धुर र पदमबहादुर खड्काले २ कठ्ठा चार धुर जग्गा अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको बताएको छ ।

यसैगरी प्रेमबहादुर परियारले १ कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रको भवन नै अतिक्रमण गरी कुखुरापालन गरिरहेको पत्रमा उल्लेख छ ।

केन्द्रको नाममा रहेको ४९ हेक्टर जग्गामध्ये नापी र मालपोत कार्यालय हेटौंडाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरिएको पाइएको हो ।

सरकारी जग्गालाई ८/९ धुरमा विभाजन गरी १० जनाको नाममा पास भएको पाइएको केन्द्र प्रमुख सरोजकुमार यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *