श्रीमान् गुमाएपछि दुबई पुगेकी गीतालाई अर्काे बज्रपात– सर्पले टाेकेर दुवै छोराकाे मृत्यु (अडिया‍े) – Nepal Press

श्रीमान् गुमाएपछि दुबई पुगेकी गीतालाई अर्काे बज्रपात– सर्पले टाेकेर दुवै छोराकाे मृत्यु (अडिया‍े)

रुपन्देही । वैशाखमा श्रीमान् गुमाएपछि दुई छोरालाई एक्लै हुर्काउनुपर्ने चुनौती आइपर्‍यो गीता भुसाललाई । उनले वैदेशिक रोजगारीमा जानुको विकल्प भएन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ कपासी कपिलवस्तुकी गीता दुबई गएको एक महिना पनि भएको छैन । यता घरमा दुवै नाबालग छोरालाई एकैपटक सर्पले टोकेर ज्यान गएको खबर आयो ।

भारतमा रोजगारी गरेर घरमा कमाउने उनका श्रीमान् बाबुराम भुसालले यही वैशाख ७ गते आत्महत्या गरेका थिए । ९ वर्ष र १२ वर्षका छोराहरु भएकी गीतालाई  ठूलाे बज्रपात पर्‍यो ।

सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा त छँदै थियो, अर्कोतिर भर्खर हुँर्कदै गरेका दुई छोराहरुलाई कसरी पढाउने र उनीहरुको भविष्य राम्रो बनाउने चिन्ताले सताइरहेको थियो ।

श्रीमान्‌को काजकिरिया सकेपछि उनले सासुससुरा, देवर, माइती तथा अन्य परिवारका सदस्यहरुको सल्लाहमा दुबई जाने र दुई छोराहरुलाई सासुससुराको जिम्मा लगाउने योजना बनाइन् ।

परिवारले त्यो कुरा मान्यो र २५ दिनअघि उनी दुबई पुगिन् । तर सोमबार राति गीताको घरमा अर्को  विपत्ति आइलाग्याे । आफ्नै हजुरआमासँगै सुतेका उनका दुई छोराहरुलाई सर्पले डस्यो र मंगलबार ज्यानै गयो ।

छिमेकीहरुका अनुसार सुरुमा सर्पले डसेको कुनै पत्तो भएन । हजुरआमासँगै भूँइमा बिस्तारा लगाएर सुतेका उनीहरु दुवै छट्पटाउन थालेपछि एकछिन घरमा हल्लाखल्ला भयो । बुढा भएका हजुरबुबाआमाले सामान्य ठानेर केही घण्टा घरेलु उपचार गरे ।

छिमेकी शारदा बन्जाडेका अनुसार बिहान ४ बजे दुवै जनालाई गोरुसिंगेको बुद्ध पोलिक्लिनिक पुराइयो । तर उनीहरुको अवस्था गम्भीर बनिसकेको थियो । त्यहाँका संचालकले तत्काल बुटवल लैजान सुझाएपछि छिमेकीले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पुराएपनि बचाउन सकेनन् ।

परिवारमा बुढा हजुरबुबा आमासँगै बस्दै आएका ९ वर्षका प्रदीप भुसाल र १२ वर्षका दीपक भुसाललाई समयमै सर्पले डसेको थाहा भएको भए गोरुसिंगेमै रहेको सर्पदंश उपचारमा लगेर बचाउन सकिने थियाे । तर, उपचारमा ढिलाइ भएकाले अकालमा ज्यान गएको छिमेकीको आंकलन छ ।

‘सर्पले डसेको थाहा नपाएर यस्तो कलिला बाबुहरुलाई गुमाउनुपर्यो, समयमा थाहा पाउन सकेको भए यही छिमेकमै सर्पदंश उपचार थियो,’ सो वडाका वडाध्यक्ष तेजबहादुर बस्नेतले नेपाल प्रेससँग भने, ‘ परिवारमा उस्तै समस्या छ, बुवा बितेको ३ महिना पनि पुगेको छैन, यिनै बाबुहरुको भविष्यको लागि आमा दुबई गएको अवस्था छ, अब कसरी उनलाई ल्याउने भन्ने चिन्ता छ ।’

मृतक दुई भाई गोरुसिंगेको पारिजात बोर्डिङ स्कुल अध्ययन गर्दै आएका थिए । हजुरआमासँगै भुइँमा ओछ्यान लगाएर सुतेका उनीहरु राति अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पुर्याइएको थियो । त्यहाँबाट उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो ।

घरबाट पाँच किलोमिटरमा सर्पदंश उपचार केन्द्र भए पनि सर्पले डसेको शङ्का नै भएन । अरु केही भएकाे होला भनेर उपचारका लागि बुटवल लगिएको स्थानीय पशुपति शर्माले बताए । अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । हजुरआमालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको भण्डारीले जानकारी दिए ।

यसैगरी सोमबार सर्पले डसेको थाहा नहुँदा थप दुई महिलाको मत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिकाका ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ की ममता चमार छन् ।

दुवै जनालाई गोमन सर्पले डसेको हुनसक्ने बताइएको छ । पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अप्ठ्यारो हुने, शरीर दुख्ने जस्ता लक्षण सर्पको डसाइको हुने भएकोले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर