डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पायो – Nepal Press

डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पायो

डोटी । डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पाएको छ ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिक क्याम्पसको रूपमा सो क्याम्पसले आधिकारिकता पाएको परियोजना संयोजक रामप्रसाद पौडेलले जानकारी दिए ।

‘नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा स्नातक तहकाको इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने भन्ने व्यवस्था भएको थियो’ पौडेलले भने ‘सोही अनुसार सुदूरपश्चिम प्रदेश स्तरको क्याम्पस डोटीमा स्थापना भएको हो ।’

असार १२ गते बसेको त्रिभुवन विश्वविद्यालयको सभाले उक्त क्याम्पसको नाम खप्तड क्याम्पस स्वीकृत गरेको पौडेलले बताए ।

क्याम्पसले आधिकारिकता पाइसकेपछि अव पूर्वाधार निर्माणको काम अघि बढ्ने पौडेल बताउँछन् । उनले भने ‘हाललाई चार करोड ५० लाख बजेट विनियोजन भएको छ, यसले क्याम्पसको गुरुयोजना बनाउने र जग्गा सम्म्याउने काम हुन्छ ।’ उनले बिस्तारै कक्षाकोठा भवन, प्रयोगशाला भवन, प्रशासनिक भवन निर्माण हुने बताए ।

सोमवार एक कार्यक्रमका बीच क्याम्पसको आधिकारिक कार्यालय स्थापना गरिएको छ । हाललाई जिल्ला समन्वय समिति डोटीको भवनमा कार्यालय स्थापना भएको हो ।

तत्काल कक्षा सञ्चालन नहुने

क्याम्पसले आधिकारिकता पाएको भए पनि तत्काल कक्षा सञ्चालन हुने अवस्था नरहेको पौडेल बताउँछन् । उनी भन्छन् ‘त्रिवि सभाको बैठकमा भौतिक संरचना नबनेसम्म कक्षा सञ्चालन अनुमति दिन नहुने भन्ने कुरा उठेको छ, त्यसैले तत्कालै कक्षा सञ्चालन हुने सम्भावना कमै छ ।’

उनले क्याम्पसका लागि शिक्षक र कर्मचारीहरूको दरबन्दी पनि सिर्जना नभइसकेको बताए । दरबन्दी सिर्जना भई पूर्वाधार निर्माण भएपछि कक्षा सञ्चालन गर्नु उपयुक्त हुने समेत पौडेलको भनाई छ । उनले पहिलो चरणमा सिभिल र कम्प्युटर इन्जिनियर कार्यक्रम सञ्चालन गर्ने सोच रहेको बताए ।

कक्षा सञ्चालन छिटो गर्नु पर्ने माग

जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले क्याम्पसले आधिकारिकता पाइसकेपछि कक्षा सञ्चालन छिटो सुरु गर्नु पर्ने बताए ।

‘शिक्षक र कर्मचारीको दरबन्दी छिटो सिर्जना गर्न म इन्जिनियरिङ अध्ययन संस्थानलाई आग्रह गर्छु’ कार्यालय स्थापना गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै सिंहले भने ‘शिक्षक दरबन्दी सिर्जना भई कक्षा सञ्चालन अनुमति पाइयो भने ‘हामी हाललाई जिल्लामा उपलब्ध भौतिक संरचनाहरूको गरी कक्षा सञ्चालन गर्न सक्छौँ ।’

उनले भौतिक संरचना निर्माणमा सहयोग गर्न डोटीबाट प्रदेश र संघमा प्रतिनिधित्व गर्ने माननीयहरू र राजनीतिक दलका नेताहरूसँग आफूले आग्रह गर्ने बताए ।

कक्षा सञ्चालन छिटो हुने वातावरण बनाउनु पर्ने बताउँछन् दिपायल सिलगढी नगरपालिकाका प्रमुख तथा क्याम्पस परियोजना समन्वय समितिका अध्यक्ष बाजीसिंह खड्का ।

‘यो प्रदेश स्तरको क्याम्पस भएका कारण सुदूरपश्चिम प्रदेश सरकारले पनि चासो दिनु पर्छ’ खड्काले भने ‘डोटीका अन्य स्थानीय तहहरूले पनि इन्जिनियरिङ क्याम्पसका लागि बजेट विनियोजन गर्नु पर्छ ।’

उनले यस विषयमा जिल्ला समन्वय समितिले सबै पालिकाका प्रमुख उपप्रमुखलाई बोलाएर छलफल गर्नु पर्ने बताए । यसमा सबै स्थानीय तहहरूको समान दायित्व हुने नगर प्रमुख खड्काको भनाई छ ।

उनी भन्छन् ‘इन्जिनियरिङ क्याम्पसका लागि नगरपालिकाले गर्नु पर्ने सबै काम गर्न तयार छौँ ।’

उनले आगामी आर्थिक वर्षको पहिलो चौमासिकमै क्यापसको भौतिक पूर्वाधार निर्माण स्थलसम्मको पहुँच मार्ग बनाइने बताए । पहुँच मार्गका लागि नगरपालिकाले ३५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको बताए ।

दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासी क्याम्पसले आधिकारिकता पाएकोमा खुशी व्यक्त गर्दै कक्षा सञ्चालन छिटो हुनु पर्ने बताए । उनले कक्षा सञ्चालनका लागि वडाध्यक्षका साथसाथै स्थानीयवासीको हैसियतले आफूले गर्नु पर्ने जिम्मेवारीका लागि तयार भएको बताए ।

क्याम्पसका लागि आवश्यक पर्ने जमिन स्थानीय तहले खरिद गरिदिनु पर्ने भन्ने व्यवस्था अनुसार दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको वडा नं. ६ थाप्ला भन्ने ठाउँमा एक सय २५ रोपनी जमिन खरिद गरी हस्तान्तरण समेत गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर