इन्द्रजीतदेखि टोपबहादुरसम्मको नाम लेखिएको सानु भण्डारीको डायरीमा छेडिएको बहस – Nepal Press
नक्कली भुटानी शरणार्थी प्रकरण

इन्द्रजीतदेखि टोपबहादुरसम्मको नाम लेखिएको सानु भण्डारीको डायरीमा छेडिएको बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको जारी थुनछेक बहसका पछिल्ला दुई दिनमा योजनाकार भनिएका सानु भण्डारीको घरबाट बरामद भएको भनिएको डायरीलाई लिएर प्रतिवादीलाई बलजफ्ती मुद्दा लगाइएको कानून व्यवसायीले तर्क गरेका छन् ।

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले अनुसन्धान अधिकारीसँग भण्डारीलाई सुनियोजित रुपमा पटक पटक बयानमा उभ्याइएको भन्दै आशंका व्यक्त गरे । ‘एक पटक बयान लिएपछि फेरि एक पटक बयान लिनु सामान्य हो । तर, भण्डारीसँग पटक पटक बयान लिइएको छ’, श्रेष्ठले भने ।

पहिलो बयानमा भण्डारीले इन्कारी बयान दिए पनि दोस्रो पटकको बयानमा साविती गरेको र अदालतमा आएर फेरि इन्कारी बयान दिइएको उनको भनाइ थियो ।

‘एकै व्यक्तिले अनुसन्धान अधिकारीसँग सुरुमा इन्कारी बयान दिएका छन् । पछि संलग्नता स्वीकार गर्दै साविती बयान दिएका छन् । तर, सरकारी वकिलले साविती बयानलाई टेकेर अभियोग लगाएको छ’, श्रेष्ठले भने, ‘अनुसन्धान अधिकारीले भण्डारीलाई मध्यरातमा उठाएर साविती बयान गराएका थिए । प्रतिवादीले अदालतमा आएर गरेको बयानलाई मात्र मान्यता दिइने भएकाले भण्डारीलाई जबरजस्ती साविती बयान गर्न लगाइएको स्पष्ट देखिन्छ ।’

त्यसपछि उनले भण्डारीको घरबाट बरामद भएको भनिएको डायरीलाई जोडे ।

‘भण्डारी हिरासतमा रहेका बेला उनको घरबाट प्रहरीले डायरी बरामद गरेको भनेको छ । तर, भन्डारीले उक्त डायरी आफ्नो नभएको र त्यहाँ लेखिएका कुराहरु पनि आफ्ना नभएको अदालतमा गरेको बयानमा भनेका छन्’, उनले भने ।

सरकारी वकिलले भने भण्डारीले उनको घरबाट बरामद भएको डायरी उनकै भएको स्वीकार गरेको र त्यहाँ उल्लेख भएका विषयहरु पनि उनी आफैंले लेखेको स्वीकार गरेको दाबी गरेको थियो ।

उक्त डायरीमा भण्डारीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईदेखि पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित विभिन्न व्यक्तिलाई दिएको रकम उल्लेख गरेको सरकारी वकिलको दाबी थियो । भण्डारीले आफूले पोलेका व्यक्तिहरुको नाम उल्लेख नगरेपछि आत्मदाह गर्ने चेतावनी दिएका कारण अनुसन्धान अधिकारीले दोस्रोपटक बयान गर्नु परेको चर्चा चले पनि अहिले आएर उनका कानून व्यवसायीले त्यसको खण्डन गरेका छन् ।

अधिवक्ता विनोद शर्माले आफूविरुद्ध जाहेरी दिएका अधिकांश जाहेरवाला नचिनेका कारण भण्डारीले त्यसो भनेको भन्दै बचाउ गरेका छन् ।

भण्डारीका अर्का कानून व्यवसायी शालिकराम सापकोटाले अनुसन्धान अधिकारी र सरकारी वकिल कार्यालयले भण्डारीको काँधमा बन्दुक राखेर मान्छे छानी छानी ड्यामेज गरिएको दाबी गरेका छन् ।

डायरीको व्यहोरा र त्यसैको आधारमा साविती बयान गर्न लगाएर आफूले चाहेका मान्छेलाई मात्र मुद्दा चलाइएको अधिवक्ता शरदप्रसाद कोइरालाले बताए । उनले डायरीलाई मात्र प्रमाण नमान्ने अदालतका नजिरहरु रहेको पनि दाबी गरे ।

व्यक्तिका कल रेकर्ड र म्यासेजमा अनुसन्धान गरेर प्रहरीले गोपनियताको हक पनि हनन गरेको तर्क उनले इजलाससमक्ष गरेका थिए । अर्का अधिवक्ता खडानन्द कँडेलले प्रतिवादीले अदालतमा गर्ने साविती बयानलाई पनि प्रमाणका रुपमा लिन छाडिएको भन्दै प्रतिवादीको बचाउ गरेका थिए ।

‘मान्छेले कुन अवस्थामा साविती बयान दियो भन्ने हुन्छ । मान्छेको २४ घण्टामा एकपटक दिमागले काम गर्दैनन् भन्छन्’, कँडेलले तर्क गरे ।

इन्द्रजीत राईका कानून व्यवसायीले पनि भण्डारीको बयान र उनको भनिएको डायरीको सेरोफेरोमा रहेर बहस गरेका छन् । वरिष्ठ अधिवक्ता बालकृष्ण ढकालले राईले कुनै पनि जाहेरवालाबाट पैसा लिएको प्रमाण पेश हुन नसकेको र उनलाई पोल गर्ने भण्डारीले पनि अदालतमा इन्करी बयान दिएका कारण निर्दोष रहेको भन्दै साधारण तारेखमा छाड्नुपर्ने माग गरे ।

अर्का वरिष्ठ अधिवक्ता प्रकाश केसीले डायरीमा लेखेकै आधारमा कसैलाई पनि प्रतिवादी बनाउन नमिल्ने बताए । ‘राईले न कुनै जाहेरवालाबाट पैसा लिनुभएको छ न त कुनै अडियो र म्यासेज नै पेश हुन सकेको छ’, केसीले भने, ‘उनले प्रहरीमा र अदालत दुवैमा इन्कारी बयान दिएका छन् । यस्तो अवस्थामा शंकाको सुविधा प्रतिवादीलाई प्राप्त हुन्छ ।’

न्यायाधीश : सरकारी पक्षबाट जवाफ आउला कि ?, वरिष्ठ अधिवक्ता : मिसिलमा भए पो जवाफ आउँछ ?

भुटानी शरणार्थी प्रकरणमा जाहेरवालातर्फबाट बहस सकिएपछि बुधबारदेखि प्रतिवादीका कानून व्यवसायीले बहस सुरु गरेका छन् । बिहीबारसम्म केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई र इन्द्रजीत राईका कानून व्यवसायीले बहस गरेका छन् ।

प्रतिवादीका कानून व्यवसायीले बहस गरिरहँदा सरकारी वकिलले त्यसलाई टिपिरहेका छन् । प्रतिवादीको तर्फबाट बहस सकिएपछि फेरि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

त्यसमा प्रतिवादीका कानून व्यवसायीले उठाएका प्रश्नको जवाफ उनीहरुले दिनेछन् । बहसका क्रममा प्रतिवादीका कानून व्यवसायीले हचुवाका भरमा अभियोग लगाइएको र कुनै प्रमाण पेश गर्न नसकेको तर्क गरिरहेका छन् । हालसम्मको बहसमा कुनै पनि प्रतिवादीका कानून व्यवसायीले कुनै पनि जाहेरवालासँग पैसा नलिएको दाबी गरिरहेका छन् ।

बिहीबार इन्द्रजीत राईको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता प्रकाश केसीले शंकाका आधारमा कसैलाई पनि कसुरदार ठहर गर्न नमिल्ने भन्दै हचुवाका भरमा अभियोग ल्याइएको दाबी गरेका थिए । त्यसपछि न्यायाधीश न्यौपानेले ‘सरकारी वकिलले टिपिरहनुभएको छ । जवाफ आउला नि भने ।

लगत्तै वरिष्ठ अधिवक्ता केसीले जवाफ फर्काए, ‘मिसिलमा प्रमाण भए न जवाफ आउँछ । उहाँहरुसँग प्रमाण नै छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर