लुम्बिनी केवलकारको बिहीबार उद्घाटन हुँदै, दैनिक ६ हजारले सेवा लिन सक्ने – Nepal Press

लुम्बिनी केवलकारको बिहीबार उद्घाटन हुँदै, दैनिक ६ हजारले सेवा लिन सक्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (जेठ २५ गते) लुम्बिनी केबलकारको उद्घाटन गर्ने भएका छन् ।

२०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बुटवल र पाल्पाको बसन्तपुर डाँडा जोड्ने गरी लुम्बिनी केबल कार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने भएका हुन् ।

यससँगै आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने भएको छ ।

अब केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरीलगायत क्षेत्र एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ ।

यसअघि जेठ १५ मा कामाख्या मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पूजा आराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिएका थिए ।

बसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुरसम्म ३ किलोमिटर दूरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए । भारतको गोरखपुर, लखनउ लगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको उनको भनाइ छ ।

केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।

केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर