दाङ पुगेर देउवालाई गगनको जवाफ- नेतृत्वले गल्ती गर्दा ताली बजाएर बस्न सक्दैनौँ, अब नेतृत्व बदल्ने गरी लाग्छौँ – Nepal Press

दाङ पुगेर देउवालाई गगनको जवाफ- नेतृत्वले गल्ती गर्दा ताली बजाएर बस्न सक्दैनौँ, अब नेतृत्व बदल्ने गरी लाग्छौँ

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले गर्ने गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् ।

देउवाले गाली गरेर पार्टी नबन्ने धारणा सार्वजनिक गरेपछि त्यसको काउन्टर दिँदै महामन्त्री थापाले गलत निर्णयको पक्षमा ताली बजाएर मात्रै पार्टी नबन्ने बताएका हुन् ।

दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि राखिएको अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने, गलत निर्णयका विरुद्ध आवाज उठाउन सक्नुपर्ने बताएका हुन् ।

गाली गरेर कांग्रेस अग्लो नहुने तर, नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबने जिकिर गरेका हुन । नेपाली कांग्रेसलाई बदल्नै पर्ने उनले बताए ।

‘कांग्रेसलाई बदल्न तपाई हामी सबै बदलिनुपर्ने छ । त्यो भन्या निर्वाचन प्रणाली बदलौँ । समानुपातिक निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष मात्रै राख्यौँ । प्रत्यक्षलाई समावेशी बनाऔँ’उनले भने,‘यसो गर्दा कोही सँग गठबन्धन गर्न पनि परेन । पार्टीले काबिल मान्छेलाई मन्त्री बनाऔँ न त । पार्टीभित्र माथिदेखि तलसम्म भएको सबै गुट भत्काऊ त । पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौँ त । यही हो बदलिने भनेको ।’

धेरै समय पार्टी र जनप्रतिनिधिको बिचको सम्बन्ध, गर्नुपर्ने काम र लिनुपर्ने नीतिको बारेमा समय खर्चिएका थापाले पार्टीले तयार पारेको घोषणापत्रको आधारमा काम गर्न सुझाए ।

‘अव पनि हामी बोलेनौँ भने, अव पनि प्रश्न गर्न सकेनौँ भने, गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ,पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ । पार्टीलाई ठिक ठाउँमा उभ्याउन सक्नुपर्छ ।’ उनले भने ।

पार्टी नेतृत्वले चुनावमा गठबन्धन गरेर गल्ती गरेको थापाको आरोप छ ।‘पार्टीले कहाँ गल्ती ग¥यो भने माथिदेखि तलसम्म कांग्रेसको मान्छेलाई हँसिया हथौडामा भोट हाल्न लगाउने कुरा गल्ती थियो ।
कांग्रेसको मान्छेलाई कलममा भोट हाल्न लगाउने कुरा कांग्रेसको गल्ती थियो ।’

गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके पार्टीलाई ठिक ठाउँमा उभ्याउन सकिने बताए । पार्टी भित्र परम्परागत सोच र चिन्तन हाबी भएको दाबी उनले गरे ।

‘केही साथीहरूलाई के लाग्दो रहेछ भने वर्षौंदेखि यसैगरी चल्दै आएको, यसरी चल्दै आउँदा चलेकै थियो । चलेकै छ । यी केटाहरू जान्ने भएर आएर यसरी पार्टी चल्दैन भन्ने भन्ने लाग्दो रहेछ’उनले भने, ‘हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य विनोद चौधरीले मुलुक आर्थिक रूपमा संकटको अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराएका छन् । उनले साधारण खर्च बढ्ने तर, पुँजीगत खर्च घट्ने अवस्थाले मुलुकलाई अहित गर्ने तर्क गरे ।

‘पुँजीगत खर्चको अवस्था दयनीय छ । साधारण खर्चले मुलुकलाई फाइदा गर्दैन’उनले भने,‘आर्थिक अवस्था मजबुत बनाउने गरी सरकारले काम गर्नुपर्छ ।’

नेपाली कांग्रेस प्रशिक्षण विभाग लुम्बिनी प्रदेशले दुई दिनसम्म प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर