सन्दीपको दक्षिण अफ्रिका यात्रामा अन्योल, मंगलबार पनि मुद्दाको सुनवाई नभए सम्भावना कम – Nepal Press

सन्दीपको दक्षिण अफ्रिका यात्रामा अन्योल, मंगलबार पनि मुद्दाको सुनवाई नभए सम्भावना कम

क्रिकेट संघसँगको छलफलमा भने- सुनवाई सर्दै गयो भने विश्वकप क्वालिफायरमा पनि उपलब्ध नहुन सक्छु

काठमाडौं । जिम्बावेमा हुने विश्वकप क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टीम मंगलबार बेलुकी दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । तर, टीमका प्रमुख खेलाडी सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने वा नजाने अझै टुंगो लाग्न सकेको छैन ।

जिल्ला अदालतमा विचाराधीन मुद्दामा एकपछि अर्को सुनवाई स्थगित हुँदा सन्दीपको दक्षिण अफ्रिका र जिम्वावे भ्रमण अन्योलमा परेको हो । फैसलाको चरणमा पुगे पनि जिल्ला अदालतका न्यायाधीशहरुले विभिन्न बहानामा लगातार पेशी सारिरहेका छन् ।

पछिल्लोपटक गत आइतबारका लागि तोकिएको पेशीमा न्यायाधीसले पहिले आइसकेका कागजातहरु फेरि दोहोर्याएर पेश गर्न आदेश दिँदै सुनवाई स्थगित गरे । अर्को पेशी आगामी मंगलबारलाई तोकिएको छ ।

अदालतमा मुद्दाको सुनवाई र फैसलामा अनावश्यक बिलम्ब हुँदा सन्दीप निराश बन्दै गएको निकटस्थ स्रोतले बतायो । मंगलबारको सुनवाई समेत स्थगित भएको खण्डमा उनी दक्षिण अफ्रिका नजाने मनस्थितिमा रहेको स्रोतको दाबी छ । हिजो नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग भएको छलफलमा पनि उनले आफ्नो गुनासो राखेका थिए ।

‘मुद्दा किनारा नलाग्दा निरन्तर मानसिक दवाव र तनावका बीच मैदानमा पफर्मेन्स गर्न गाह्रो हुन्छ,’ सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

क्यानले भने सन्दीपलाई जसरी पनि दक्षिण अफ्रिका लैजानका लागि प्रयास गरिरहेको छ । क्यानका प्रवक्ता दुर्गाराज पाठकले सन्दीप नेपाली टिमको अत्यन्त महत्वपूर्ण खेलाडी भएकाले उनलाई टिममा छुटाउँदा महंगो पर्न सक्ने बताए ।

‘हाम्रोतर्फबाट सबै पहलहरू भइरहेका छन्, आशा छ कि उनी दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमणमा जाने टिममा हुनेछन्,’ उनले भने ।

तर, धेरै कुरा मंगलबारको पेशीमा निर्भर रहने देखिएको छ । यदि त्यस दिन सुनवाई अघि बढ्यो भने सन्दीप नेपाली टीममा उपलब्ध हुनेछन् । भएन भने उनलाई दक्षिण अफ्रिका नजान कानूनी टीमले पनि सल्लाह दिएको छ ।

फौजदारी मुद्दामा पेशीको २१ दिनभित्र अदालतमा आरोपी आफैं उपस्थित भएर तारेख बुझ्नुपर्ने हुन्छ । अन्यथा अदालतमा राखेको धरौटी जफत हुने प्रावधान छ । सन्दीप २० लाख रुपैयाँ धरौटी राखेर छुटेका हुन् । दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण झण्डै डेढ महिनाको छ । डेढ महिनासम्म अदालतमा उपस्थित नहुँदा २० लाख धरौटी जफत हुने भएकाले प्राविधिक कठिनाइ भएको हो ।

सन्दीपका तर्फबाट बहस गरिरहेका अधिवक्ता सरोज घिमिरेले सन्दीपको दक्षिण अफ्रिका जाने वा नजानेबारे मंगलबार नै निधो हुने बताए ।

‘मंगलबार पनि सुनवाई भएन भने हामीले दक्षिण अफ्रिका नजान उहाँलाई सुझाव दिएका छौं,’ उनले भने, ‘विदेशबाट २१–२१ दिनमा नेपाल फर्किएर अदालत हाजिर हुने कुरा अव्यवहारिक हुनुका साथै यसले अनावश्यक मानसिक दवाव मात्रै थपिन्छ ।’

दोस्रो विकल्प भनेको सन्दीप दक्षिण अफ्रिका नगएर सिधै जिम्बाबे जाने हो । जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालको पहिलो अभ्यास खेल ३० जेठमा छ ।

उनी यदि सिधै जिम्बाबे गए भने २१ दिनभित्र प्रतियोगिता सकेर स्वदेश फर्किन भ्याउँछन् । तर, मुद्दाको चाँडो छिनोफानो नभएको खण्डमा सन्दीपले जिम्बाबे भ्रमणबाट पनि हात झिक्नसक्ने निकटस्थको भनाइ छ ।

सन्दीप निटकस्थ स्रोत भन्छ, ‘मुद्दा टुंगिएमा उहाँले पनि तनावमुक्त भएर खेल्न सक्ने स्थिति हुन्छ । नत्र कहिलेसम्म आँशु पिएर देशका लागि मैदानमा भिडिरहने ?’


प्रतिक्रिया

One thought on “सन्दीपको दक्षिण अफ्रिका यात्रामा अन्योल, मंगलबार पनि मुद्दाको सुनवाई नभए सम्भावना कम

  1. काठमाण्डाैं जिल्ला अदालतमा मात्रै सन्दीपका भन्दा पुराना जवरजस्ती करणी कै २,३ हजार मुद्दाहरू अझै पालो कुरिरहेका छन् । अदालतकाे लागि प्रतिवादीकाे हैसियतले कुनै अर्थ राख्दैन, राख्नु हुँन्न । फेरी खेलाडीले पनि खेेलाडी कै हैसियतमा बस्नु पर्छ, अन्तराष्ट्रिय खेल खेेल्न क्लाेजक्याम्पमा बसेेकाे खेेलाडि फ्लाइटकाे अघिल्लाे रात आफ्नो सेलिब्रेटी छवीकाे बलमा लठ्याइ फकाइ फुल्याइ नाबालिकालाइ लिएर नगरकाेेट र काठमाण्डाैंका होटल हाेटल नचहारेकाे भए यो दिन आउदैन थियो । नेपालप्रेसले बिचाराधिन मुद्दामा प्रतिवादीले दिएका झुठा तत्थ्यकाे सहरामा एकपक्षिय र पुर्वाग्रही समाचार पस्कनुकाे अर्थ खुल्दैजाला । संपादक प्रकाशककाे बेलैमा चेत खुलाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर