सन्दीपकाे काँध हलुका बनाइरहेका ललित राजवंशी – Nepal Press

सन्दीपकाे काँध हलुका बनाइरहेका ललित राजवंशी

काठमाडौं । एक समय थियो नेपाली क्रिकेटमा वसन्त रेग्मी र शक्ति गौचनको स्पीन जोडी निकै जमेको थियो । उनीहरु लामो समय नेपाली टीममा सँगै रहेका थिए ।

सन् २०१४ को टी- २० विश्वकपमा शक्ति-वसन्तको जोडीले निकै चर्चा पाएको थियो । उनीहरुका आआफ्नै पहिचान र प्रभाव थिए । सन् २०१६ मा सन्दीप लामिछानेको आगमनपछि नेपाली टोलीको स्पीन आक्रमण अझ सशक्त बन्यो । शक्ति र वसन्त खेल जीवनको अन्तअन्ततिर आइरहेका बेला सन्दीपको आगमन नेपाली टोलीका लागि विशेष थियो ।

नेपाली टोली सन् २०१८ मा शक्ति, वसन्त र सन्दीपसहित ललितनारायण राजवंशी जस्ता स्पीन स्पेसलिस्टलाई लिएर जिम्बावे पुग्यो । सन् २०१६ को यू-१९ विश्वकप छनोटमा स्थान बनाएका ललित विश्वकप खेल्ने टोलीमा भने समावेश भएका थिएनन् । तर, उनलाई सिनियर टोलीमा आउन धेरै समय लागेन । प्रतियोगितामा सन्दीप र ललित नियमित जस्तो सुरुवाती ११ मा परे । वसन्त र शक्तिले एक अर्काको स्थान लिने अवस्था बन्यो ।
त्यस प्रतियोगितामा ६ खेलबाट सन्दीपले १३ र ललितले ५ विकेट लिएका थिए । वसन्तले ५ खेलमा ६ विकेट लिँदा शक्तिले एक खेलमा एक विकेट हात पारेका थिए । पार्ट टाइम स्पीनर दीपेन्द्रसिंह ऐरीले ६ खेलमा ७ विकेट लिएका थिए । नेपालले यही प्रतियोगिताबाट हो, पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको । नेपाली टोलीबाट विस्तारै शक्ति र वसन्त ‘साइड’ लाग्दै थिए । सन्दीपको बेजोड प्रदर्शन निरन्तर थियो ।

नेपालले मंगलबार घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० खेल पूरा गर्‍यो । यही खेलमार्फत सन्दीपले सय विकेटको विश्व कीर्तिमान बनाए र कुशल मल्लले शतक प्रहार गरे ।

फाइनलमा यूएईसँग नेपालले खेलेको खेल ५१औं ओडीआई थियो । सन्दीपले ४३ ओडीआई खेलेका छन् । ललितले भने हालसम्म १८ वटा ओडीआई खेलेका छन् । कहिले टीम बाहिर रहने त कहिले टीममा परेर पनि खेल्न नपाउने कारण ललितले खेलेको ओडीआई संख्या सन्दीपको तुलनामा कम छ । उनले विश्वकप लिग- २ अन्तर्गत नेपालले खेलेका ३६ मध्ये १० खेलमा मात्र खेल्ने अवसर पाए । उनले त्यसमा १५ विकेट लिए । तीमध्ये दुई खेलमा उनले बलिङ नै गर्नु परेन ।

नेपालले विश्वकप लिग- २ का पछिल्ला १२ मध्ये ११ खेल जित्दा ललितले ५ खेलमात्र खेल्ने अवसर पाए । अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिँदा ललितले १० ‌ओभरमा २७ रनमात्र खर्चिएर एक विकेट लिएका थिए । सन्दीपले उक्त खेलमा ८० रन व्यहोरेका थिए ।

एसीसी प्रिमियर कपको फाइनलमा ललितले ७.१ ओभर बलिङ गर्दै २ मेडन राखेर १४ रन खर्चंदै ४ विकेट हात पारे । उनकै घातक बलिङसँगै पहिला ब्याटिङ गरेको यूएई ११७ रनमा अलआउट भएको थियो ।

यूएईसँग ललितको सम्बन्ध पुरानै र विशेष छ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि सन् २०१९ को जनवरीमा यूएई पुगेर तीन खेलको श्रृंखला खेलेको थियो । त्यही श्रृंखलामार्फत ललितले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । ललितलाई एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिन भने झण्डै तीन वर्ष लाग्यो ।

सन् २०२२ को नोभेम्बरमा नेपालले घरेलु मैदानमा यूएईसँग तीन खेलको श्रृंखला खेलेको थियो । ललितले नोभेम्बर १६ तारिखमा खेलिएको दोस्रो खेलमा यूएईको ३ विकेट लिएका थिए । तेस्रो खेलमा पनि उनले विकेट लिए । अन्तिम दुई खेल जितेर नेपालले श्रृंखला हात पारेको थियो ।

सन्दीप लामिछानेको अनुपस्थितिमा ललितलाई विश्वकप लिगको लागि नामिबियाविरुद्ध भएको श्रृंखलामा समावेश गरिएको थियो । ललितले त्यहाँ चार खेल खेल्दै ६ विकेट लिएका थिए । नामिबियाविरुद्धको एक खेलमा उनले ४ विकेट लिए । फेब्रुअरी दोस्रो साता घरेलु मैदानमा भएको विश्वकप लिगकै श्रृंखलामा पनि ललित नेपाली टोलीमा थिए ।

यो श्रृंखलामार्फत सन्दीप लामिछानेले पुनरागमन गरेका थिए भने मोन्टी देशाईको प्रशिक्षणमा पहिलोपटक नेपाल आधिकारिक प्रतियोगितामा उत्रँदै थियो। त्यस श्रृंखलाका दुई खेलमा मात्र उत्रने अवसर पाएका ललितले एक विकेट लिए । त्यसपछि विश्वकप लिगकै यूएईमा हुने श्रृंखलामा भने उनी टोलीमा परेनन् ।

तर, त्यसपछि नेपालमा आयोजित अन्तिम श्रृंखलामा भने ललित टोलीमा समावेश भए । मार्च १२ मा यूएईसँग भएको खेलमा नेपाल १७७ रनले विजयी हुँदा ललितले ५ विकेट लिएका थिए । ललितले ७.५ ओभरमा २ मेडन राख्दै २० रन खर्चिएपछि २४९ रनको लक्ष्य पछ्याएको यूएई ७१ रनमा समेटिएको थियो । उनले पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिएका थिए । उनले त्यस श्रृंखलामा ३ खेल खेल्दै ८ विकेट लिएका थिए ।

प्रशिक्षक देसाईले ललितलाई पावर प्लेमै बलिङमा पठाउने गरेका छन् । सुरुको १० ओभरमा बलिङमा जानु स्पीनरहरुका लागि निकै कठिन काम हुन्छ । तर, उनले हरेक पटक आफूलाई दिइएको जिम्मेवारी पछिल्लो समय सशक्त पूरा गरिरहेका छन् । सुरुमै विकेट लिएर विपक्षी ब्याट्सम्यानलाई दबाब दिनु उनको म्ख्य जिम्मेवारी जस्तै बनेको छ । उनी हरेकपटक परिपक्व देखिँदैछन् ।

एसीसी प्रिमियर कपमा ललितले ५ खेलमा ९ विकेट लिए । समूहगत चरणको साउदी अरबसँगको खेलमा पनि उनी टोलीमा थिएनन् । समूहको अन्तिम खेलमा कतारविरुद्ध उनले सन्दीप लामिछानेसँग १०औं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमा समेटिँदा ललितले ५ ओभरमा २७ रन खर्चिएर २ विकेट लिएका थिए । ओमान र कतारविरुद्ध पावर प्लेमा उनले विकेट लिएका थिए ।

कतारसँगको स्मरणीय साझेदारीपछि ललित र सन्दीप दुवै पोस्ट म्याच कन्फेरेन्समा उपस्थित थिए । ललितले आफूले सन्दीपलाई साझेदारी दिने विश्वास स्मरण गरे । ‘लुज बलमा खेल, मेरो चिन्ता नगर भनेको थिएँ’, भावुक हुँदै ललितले भनेका थिए ।

उनले पावर प्लेमा आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न सकेको बताउँदै आफ्नो उद्देश्य कम रन दिने या विकेट लिने रहेको उल्लेख गरेका थिए । सन्दीपले पनि ललितको प्रदर्शनप्रति कृतज्ञता व्यक्त गरे । उनले ललितले निकै मेहनत गरेको बताए ।

‘उनले जुन आत्मविश्वास देखाइरहेका छन्, सायद ममा पनि विश्वास आउने थिएन’, साझेदारीलाई संकेत गर्दै सन्दीपले भनेका थिए । उनले ललित चोटबाट फर्किएर आफ्नो महत्व पुष्टि गरिरहेको बताउँदै आफूलाई समेत बलिङमा सजिलो भइरहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *