फेरि मन्त्री नबन्ने ‘प्रण’ गरेका पूर्णबहादुर रक्षाकाे कुर्सीमा – Nepal Press

फेरि मन्त्री नबन्ने ‘प्रण’ गरेका पूर्णबहादुर रक्षाकाे कुर्सीमा

काठमाडौं । नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्काउन सक्रिय भएर लाग्नेमध्येका एक हुन् नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का । मुखैमा आएको सत्ता गुमेपछि पार्टी सभापति शेरबहादुर देउवामाथि नेता कार्यकर्ताले चर्को आलोचना गरिरहेको बेलामा उपसभापति खड्का चुनावअघिकै गठबन्धन ब्युँताउन सक्रिय रुपमा लागिपरेका थिए ।

उनीमात्रै नभएर गुमेको सत्ता हातमा ल्याउन खड्कालाई पार्टी सभापति देउवासहित सबै शीर्ष नेताहरुले एकै ठाउँमा आएर साथ दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दूरी बढिरहेको बेलामा खड्काले माओवादीको दोस्रो तहका नेताहरुबीच सक्रिय रुपमा छलफल अघि बढाए ।

एमाले अध्यक्ष ओलीसँग भन्दा चुनावअघिकै गठबन्धनमा जानुपर्नेमा माओवादी केन्द्रका उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्नि सापकोटा, उपमहासचिव जनार्दन शर्मालगायत नेताहरुले पनि प्रचण्डलाई दबाब बढाएका थिए । जसले कांग्रेस नेताहरुको प्रयासलाई थप सघाउ पुर्‍यायो ।

ओलीले गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई काखी च्यापेर आफूलाई दबाबमा राख्न खोजेपछि प्रचण्ड झस्किएका थिए । प्रतिनिधिसभाको पहिलो बैठकमै ओलीले प्रतिनिधिसभा विघटनको पक्षमा वकालत गरे । जुन कुराले सात दलीय गठबन्धन टिक्न नसकेको प्रचण्डले प्रष्ट्याइसकेका छन् ।

चुनावअघिकै गठबन्धन ब्युँताएपछि खड्काले फागुन १६ गते फेसबुकमा लेखेका थिए, ‘निश्चित एजेन्डा र उद्देश्यसहित सडक आन्दोलन– अदालतको कानूनी संघर्ष हुँदै निर्माण भएको लोकतान्त्रिक–वाम गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि षड्यन्त्रको जालोमा पारिएर पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको दृढ संकल्पलाई लगभग पूरा गरिएको छ ।’

उपसभापति खड्कौ पहलमा चुनावअघिकै गठबन्धन फर्काउन सफल भएपछि सभापति देउवाले उनकै नेतृत्वमा सरकारमा पठाएर गुण तिरेका छन् ।

खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने चर्चाबारे उनले भनेका थिए, ‘सबैलाई प्रस्ट होस्, अब मेरो व्यक्तिगत दाबी कुनै कुरामा छैन । मेरो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर मिडिया र सामाजिक सञ्जालमा सुरु गरिएका बहसलाई अघि बढाएर कृपया मलाई अन्याय नगरी दिनुहोस् । सबैमा अनुरोध ।’

तर, उनले अस्वीकार गरे पनि आफ्नो नेतृत्वमा सरकारमा जान आन्तरिक लविङ गरिरहेका थिए । सोहीअनुसार आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि दोस्रो वरियतामा रहने गरी उपप्रधानसहित रक्षा मन्त्रालय लिएर सरकारमा गएका छन् ।
त्यसो त खड्का नेतृत्वमा कांग्रेस सरकारमा जाने चर्चा चलिरहेको बेलामा उनले २०७२ सालमा अर्घाखाँचीमा गरेको प्रणलाई स्मरण गरेका थिए ।

उनले भनेका थिए, ‘मैले अर्घखाँचीको यस कार्यक्रमबाट घोषणा गरें । मेरो जीवनमा म मन्त्री बन्दिनँ । मन्त्रीभन्दा माथि जनता, भाग्य र भगवानको जिम्मा । मैले त्यो घोषणा गर्दा कसैले पनि पत्याउँदैनथे । भन्नको लागि भनेको हो । कुन दिन पाउँछ फेरि आइहाल्छ भन्थे ।’

उनले आफू २०५५ देखि २०६१ सालसम्म धेरै मन्त्रालय सम्हालेको भएकाले फेरि मन्त्री नबन्ने बताएका थिए ।

‘पटक पटक हाम्रो पार्टी सभापतिको नेतृत्वको सरकार आयो । तर, मैले आफ्नो संकल्प मैले जे घोषणा गरें, त्योबाट तलमाथि गर्दिनँ । किनभने मैले मन्त्रीको रुपमा धेरै मन्त्रालय २०५५ देखि २०६१ सालसम्म धेरै मन्त्रालय सम्हालें’, उनको भनाइ थियो ।

खड्का यसअघि ७ पटक गृहसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । तर, मन्त्री नबन्ने घोषणा गरेका खड्का आठै पटक मन्त्री बन्दा रक्षा मन्त्रालयमा थन्किएका छन् ।

उनको नेतृत्वमा कांग्रेसका ४ जना नेताहरु अहिले सरकारमा गएका छन् । दश दलीय गठबन्धनमा कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ । शेखर कोइराला र गगन थापा समूहले ३ मन्त्रीको भाग खोजेपछि देउवाले थप ४ जना मन्त्रीको शपथ रोकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर