इलामका सबै मतदान केन्द्र ‘अति संवेदनशील’ – Nepal Press

इलामका सबै मतदान केन्द्र ‘अति संवेदनशील’

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भोली हुने उप निर्वाचनका लागि निर्धारण गरिएको सबै मतदान केन्द्रलाई ‘अति संवेदनशील’ मतदान केन्द्र घोषणा गरिएको छ।

इलाम निर्वाचन क्षेत्र नम्बर २ का ७९ वटा मतदान स्थल र १ सय ४९ वटै मतदान केन्द्रलाई सुरक्षा समितिको बैठकले अति संवेदनशिल मतदान केन्द्रमा राखी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे प्रदेशमा एउटा मात्रै निर्वाचन क्षेत्रमा निर्वाचन भएकाले भिडभाड हुने र मूभमेन्ट बढी हुन सक्ने देखिएकाले यस पटक ‘अति संवेदनशील’मतदान केन्द्र घोषणा गरेर निर्वाचन गर्न लागेको बताए ।

उनले भने, ‘निर्वाचन भाँड्ने भन्दा पनि यातायात र बाटोको कारण पनि यस निर्वाचन गराउन सजिलो होस र सुरक्षाकर्मी परिचालनमा सहज होस भनेर अति संवेदनशील मतदान केन्द्रको रूपमा राखिएको हो ।’

निर्वाचन सम्पन्न गराउनका लागि विशेष सुरक्षा योजना लागू गर्दै निर्वाचनमा एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना परिचालन हुने छन् । यस्तै निर्वाचनमा सात सय ४५ कर्मचारी परिचालन हुने यादवले बताए ।

इलाम क्षेत्र नम्बर २ मा ६ वटा पालिकाका ४२ वडामा मतदान हुन लागेको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् ।

आवश्यक तयारी अन्तिम चरणमा

वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि अन्तिम तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि ९० मतदान केन्द्रको आवश्यक तयारी भइसकेको बताए । बाँकी केन्द्रको पनि तयारी सम्पन्न हुन लागेको रिपोट आएको घिमिरे बताए ।

उनले स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदान स्थलको घेरा बारा, मतदाताको लाइन बस्नका लागि लाइन बस्ने ठाउँ तयार भएको बताए ।

मतदातालाई पुरुष र महिलाले अलग-अलग लाइनमा बसेर मतदान गर्न सक्ने गरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसै गरी पानी र घाम बाट जोगाएका लागि टेन्ट टाङ्ने काम समेत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *