शेयर बजारले दुई महिनामा गुमायो सवा ४ खर्ब- अर्थमा कांग्रेसको दाबीले लगानीकर्तामा बढ्यो त्रास – Nepal Press

शेयर बजारले दुई महिनामा गुमायो सवा ४ खर्ब- अर्थमा कांग्रेसको दाबीले लगानीकर्तामा बढ्यो त्रास

काठमाडौं । पछिल्लो समय शेयर बजारमा निरन्तर गिरावट आएको छ । बजार लगातार घट्दा दुई महिनामै लगानीकर्ताले चार खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी रकम गुमाएका छन् ।

गत पुस ७ गते शेयर बजार १८ सयको विन्दुमा कारोबार भइरहेको थियो । बजार पूँजीकरण २७ खर्बमाथि थियो । त्यसबीच अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा चलेपछि बजार विस्तारै हरियाली बन्दै गयो । पुस ११ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहालसँगै अर्थमन्त्रीमा विष्णु पौडेलले सपथ लिए । पौडेलले अर्थतन्त्रको ढुकुटीको साँचो हातमा लिएसँगै बजारले उकालो लागेको नेपाल स्टक एक्सचेन्जको तथ्यांकले देखाउँछ ।

पुस १४ गते शेयर बजारले २ हजारको विन्दु पार गर्दै २०२९ मा उक्लियो । यतिबेलासम्म बजार पूँजीकरण २९ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको थियो । विस्तारै बढ्दै गएको बजार माघ ५ गते २१७८.८१ विन्दुमा अडियो । बजार पूँजीकरणले ३१ खर्ब ४५ अर्ब रुपैयाँ नाघ्यो ।

सत्ता समीकरण बदलिएपछि फागुन १५ गते अर्थमन्त्री विष्णु पौडेलसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिए । राजीनामा दिनुअघि नै बजार घट्न थालेको थियो । सो दिन २०२३ विन्दुमा बजार झरेको थियो । बजार पूँजीकरण भने २९ खर्ब २२ अर्ब रुपैयाँ पुग्यो । त्यसपछि क्रमशः झर्न थालेको बजार फागुन २५ गते २००० को आसपासमा आइपुग्यो ।

निरन्तर झरेको बजार आज १८०० को लाइनमा कारोबार भयो । देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाए । प्रधानमन्त्री प्रचण्डले पनि दोस्रो पटक विश्वासको मत लिइसकेका छन् । अहिले सरकार विस्तारको कसरत चलिरहेको छ । अर्थ मन्त्रालयमा कांग्रेसको दाबी छ । तर, बजारले अर्थ मन्त्रालय कांग्रेसले सम्हाल्ने हल्लालाई रुचाएको देखिँदैन । कांग्रेसका केही नेताहरुले कठोर नीति लिएर अर्थतन्त्र सुधार्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । त्यही अभिव्यक्तिले लगानीकर्तामा त्रास देखिन्छ ।

कतै कांग्रेसको कठोर नीतिको निशानामा शेयर बजार त पर्ने होइन भन्ने आशंका बढेको विज्ञहरु बताउँछन् । यसअघि पनि नेप्से १८०६ आसपासको न्यूनतम विन्दुबाट उक्लिएको थियो ।

यसअघि शेयर बजार प्रभावित हुनुमा बैंकको चर्को ब्याजदर, तरलता अभाव र अर्थतन्त्रको बाह्य क्षेत्रमा आएको दबाबलाई प्रमुख कारण मानिएको थियो । अहिले बाह्य क्षेत्रको दबाब कम छ । तर, सरकारको आम्दानीभन्दा खर्च बढी हुँदा अर्थतन्त्रमा दबाब कायमै छ । नेपालको आर्थिक इतिहासमा राजस्व प्रणाली ५५ वर्षयताकै कमजोर अवस्थामा छ ।

नेप्से सूचक आज १९ सयको मनोवैज्ञानिक विन्दुभन्दा पनि तल १८८८.२७ विन्दुमा अडिएको छ । निरन्तर घटिरहँदा बजारमा शेयरको भाउ पनि सस्तो भइसकेको छ । राम्रा फन्डामेन्टल भएका, ग्रोथ ओरियन्टेड कम्पनीहरु पनि सस्तो मूल्यमै शेयर कारोबार गरिरहेका छन् । यहीबीचमा लघुवित्तविरुद्धको आन्दोलनका कारण पनि ती समूहको शेयर मूल्य प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर