शताब्दीयौं टिक्ने भनिएको नमूना पुल १० वर्षमै ‘धराप’ : गल्ती कसकाे ? (भिडिओ) – Nepal Press

शताब्दीयौं टिक्ने भनिएको नमूना पुल १० वर्षमै ‘धराप’ : गल्ती कसकाे ? (भिडिओ)

काठमाडौं । अत्याधुनिक प्रविधि भनिएको भोजपुर-धनकुटा जोड्ने लेगुवाघाटस्थित अरूण नदीको पुलको नट बोल्टहरू भाँचिएपछि आइतबार दिनभर सवारी आवागमन प्रभावित भयो ।

सडक डिभिजन तुम्लिङटारले पुल जोखिम रहेको भन्दै १० टनभन्दा माथिका सवारीसाधन प्रवेशमा रोक लगाएसँगै एकपल्टमा एक वटामात्र सवारी पार गराउन आग्रहसहितको सूचना जारी गर्‍यो र सँगै वारिपारि प्रहरी खटाइए ।

पुलको मध्यभागमा स्टिल ग्रिडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको १० वटामध्ये ८ वटा नटबोल्ट भाँचिएको थियो । नटबोल्ट भाँचिएसँगै आइतबार बिहानैबाट मिडियादेखि पूर्वसचिव भीम उपाध्यायसम्मले ध्यानाकर्षण गराए । उपाध्यायले डोलिडार प्रमुखको हैसियतमा उद्घाटन समारोहताका आफू त्यहाँ पुगेको फेसबुकमा लेखेका छन् । सांसददेखि मन्त्रीसम्मले ताकेता गरेपछि चितवनको जलप नेपाल नामक कम्पनीका इन्जिनियर गएर हतारहतार नयाँ नटबोल्ट कसेपछि साँझबाटै सवारी आवागमन सुचारु गरियो ।

एउटा पुलको नटबोल्ट भाँचिएको र नयाँ कसिएको हेर्दा सुन्दा सामान्य घटना लागेपनि १२० वर्ष आयु दाबी गरिएको राष्ट्रिय राजमार्गको पुलमा १० वर्ष नपुग्दै जोखिमको समस्या आउनुले निर्माणमा संलग्न र यसका नियामक निकायमाथि प्रश्न तेर्सिएको छ । तर, सम्बन्धित निकाय कारण खोजी गर्नेतर्फ नलागी सामान्य भएको गैरजिम्मेवार जवाफ दिइरहेका छन् । पुल निर्माणको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको थियो ।

सुरूमा हिले-भोजपुर जोड्ने सडकको यो पुल अहिले राष्ट्रिय गौरवका योजनाअन्तर्गतको ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ मा पर्छ । पुललाई भोजपुर, खोटाङलगायतका मध्यपहाडी जिल्लाको ‘लाइफलाइन’ समेत भनिँदै आएको छ ।

२०७० मंसिर २० मा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पुलको उद्घाटन गरेका थिए । बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) को अनुदान सहयोगमा बनेको सस्पेन्सन प्रविधिमा आधारित यो पुल नेपालकै लामो र पहिलो नमुना पुल भएको तत्कालीन इन्जिनियर महेन्द्र श्रेष्ठले बताएका थिए । बीचमा बेस नभएकाले यसको भारजति सबै माथि पर्ने गरी पाता कसिएको हुन्छ ।

पुलको लम्बाई १२० मिटर, चौडाई ७ र उचाई २०.६ मिटर रहेको छ । पुलको वारि र पारीमात्र बेस सपोर्ट छ । प्राविधिकका अनुसार यसको फाउण्डेसन पूर्वमा ८ मिटर र पश्चिममा १६ मिटर गहिरो रहेको छ । यसमा प्रयोग गरिएको विशेष प्रकारको स्टिल बेलायतबाटै ल्याइएको हो ।

योसँगै यस्तै प्रविधिबाट बनाइएको संखुवासभाको सभा खोलामा बनाइएको पुलसमेत गरी ६५ करोड लागत रहेको उद्घाटनताका जानकारी दिइएको थियो ।

पुल नहुँदा वैकल्पिक रूपमा फेरीमार्फत हिउँद याममामात्र सवारी आवतजावत हुन्थ्यो ।

करोडौं खर्चेर बनाइएका विकास पूर्वाधार भित्रिनु बिग्रिनुमा नियामक निकाय र सिष्टममै दोष देख्छन् पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई ।

‘अहिलेको समस्या तत्कालका लागि समाधान गरेजस्तो देखिएपनि कसको कमजोरीका कारण यस्तो भएको हो खोजिनुपर्छ । ए यस्तो पो भइगएछ नि भनेर कसैलाई छुट दिइनु हुन्न ।’

सडक विभागको गैरजिम्मेवारपूर्ण जवाफ

पुलको नटबल्ट भाँचिएकोबारे नेपाल प्रेसको जिज्ञासामा सडक डिभिजन तुम्लिङटारका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद साहले गैरजिम्मेवारपूर्ण जवाफ फर्काए ।

करिब ५ मिनेटजति प्राविधिक विषय पढाउँदै उनले भने, ‘कुनै चिज बनाएपछि बिग्रिन्छ यो अकाट्य सत्य हो । यो बनाको होइन मर्मत गरेको हो । कुनै पनि चिज थाई हुँदैन संसारमा । हामीले पनि घर बनाउँदा पाँच-छ वर्षमा बिग्रिरहेको हुन्छ । मर्मत गर्छौं नि हैन । गाडी गुड्ने, आउनेजाने गतीशील लोड हुन्छ नि त्यसका कारण कालान्तरमा डिस्ट्रोइज हुन्छ । त्यो मात्र होइन हामीले थाहा नपाउने गरी पृथ्वीमा आउने धक्का, बाढीले पुलमा बेलाबेला धक्का आइरहेको हुन्छ ।’

तर, करोडौं खर्चेर बनाइएको पुल १० वर्ष नपुग्दै बेसप्लेटमै नटबोल्ट भाँचिदा सडक विभागले बेलाबेला निगरानी त नगरेको देखियो नि ? भन्ने जिज्ञासामा उनले यो घटनाबाट सचेत भएको भनेर टारे ।

‘म पनि आएको एक वर्षमात्र भयो । मर्मत गर्नुपर्ने, हेर्नुपर्ने त हामीले नै हो । अब नियमित चेकजाँच गर्छौं’, उनी अलि नरम भए ।

पुलको लागत, निर्माणमा संलग्न ठेकेदारलगायतका कागजात कार्यालयसँग केही नभएको भन्दै त्यो खोज्ने पनि सीडीई साहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर