अर्घाखाँची महोत्सवमा ज्योतीको प्रस्तुति हुने भएपछि १० संस्थाले गरे बहिष्कार घोषणा – Nepal Press

अर्घाखाँची महोत्सवमा ज्योतीको प्रस्तुति हुने भएपछि १० संस्थाले गरे बहिष्कार घोषणा

असभ्य प्रस्तुति दिनसक्ने आशंका

काठमाडौं । अर्घाखाँचीमा गत ११ माघदेखि सुरू भएको पाँचौ अर्घाखाँची महोत्सव अन्तिमतिर आइपुग्दा विवादमा परेको छ । हिजो २१ गतेको कार्यक्रममा लोकगायिका ज्योती मगरको प्रस्तुति रहने भएपछि १० वटा सांगीतिक संघ-संस्थाले बहिष्कारको घोषणा गरेका छन् ।

एउटा संयुक्त विज्ञप्ति निकाल्दै बहिष्कारको घोषणा गरिएको हो । ज्योतीले कार्यक्रममा असभ्य प्रस्तुति दिनसक्ने भएकाले आफूहरूको सहभागिता नरहने विज्ञप्तिमा उल्लेख छ ।

‘उनले नेपाली कला क्षेत्रमा गरेको संघर्षको उच्च सम्मान गर्छौं, तर पनि प्रत्येक मेला महोत्सव र सांस्कृतिक कार्यक्रमहरुमा उनले गाउने गीत र नृत्यले नेपाली मौलिक कला-संस्कृतिको पक्षमा सुखद सन्देश दिन नसकेको हामी सबैलाई विदितै छ,’ विज्ञप्तिमा भनिएको छ ।

ज्योतीलाई बारम्बार सुझाव दिँदा पनि सुझाव ग्रहण नगर्नु र नेपाली संस्कृतिमाथि विकृति फैलाउनु समग्र कला क्षेत्रकै दु :खद पक्ष भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘हामीले नेपाली मौलिक कला संस्कृति बचाउन यी र यस्ता कार्यहरुको विरोध गर्दै आज सन्धिखर्कबाट हुन सक्ने असभ्य प्रस्तुतिमा सहभागी नहुने व्यहोरा अवगत गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ज्योतीलाई अबदेखि नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुन पनि आग्रह गरिएको छ । उनको स्वर र कला साधनाको प्रशंसा गरिएको छ । जारी विज्ञप्तिमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, अर्घाखाँची, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद, सांस्कृति संरक्षण मञ्च, लगायतले हस्ताक्षर गरेका छन् ।

हिजो महोत्सवमा ज्योती सहभागी हुन भने पाइनन् । मौसमको खराबीका कारण उडान हुन नसक्दा उनी अर्घाखाँची जान नपाएकी हुन् । उनको प्रस्तुति सोमबारलाई सारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर