रिबन काण्डबारे तोसिमाको प्रष्टीकरणः मन्त्रीज्यूले सँगै जाउँ भन्नुभयो, पत्रकारले कार्यक्रमको महत्व बुझ्नुभएन (भिडिओ) – Nepal Press

रिबन काण्डबारे तोसिमाको प्रष्टीकरणः मन्त्रीज्यूले सँगै जाउँ भन्नुभयो, पत्रकारले कार्यक्रमको महत्व बुझ्नुभएन (भिडिओ)

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले केही दिनअघि स्वास्थ्यमन्त्री पदम गिरीसँगै रिबन काटेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । आशालाग्दी मन्त्रीले नचाहिँदो ‘स्टन्ट’ गरेको भन्दै धेरैले आलोचना पनि गरे । आज एक कार्यक्रममा मन्त्री कार्कीले यस विषयमा प्रष्टीकरण दिएकी छन् ।

उनले वीर अस्पतालमा पहिलोपटक स्थापना भएको मुटुरोगसम्बन्धी क्याथल्याब उद्घाटन कार्यक्रममा आफू स्वास्थ्यमन्त्रीसँगै पुगेको बताइन् । अस्पतालबाट स्वास्थ्यमन्त्री र राज्यमन्त्री दुवैलाई आमन्त्रण आएको तथा कार्यक्रमको महत्व हेरेर दुवैजना गएको उनको भनाइ छ ।

‘मन्त्रीज्यूले पनि मलाई सँगै जाउँ भन्नुभयो । हामी दुवै जानुपर्ने आवश्यक ठान्यौं । डाक्टर भएको हिसाबले पनि र मेडिकल काउन्सिलको सदस्य भएकाले हिसाबले अस्पतालका निर्देशन र विशेषज्ञ डाक्टरले पनि यो कार्यक्रम नछुटाउनुस् है भन्नुभएको थियो,’ उनले सुनाइन् ।

डा. कार्कीका अनुसार दुवै मन्त्रीलाई रिबन काट्न लगाएर क्याथल्याव उद्घाटन गराउने पहिल्यै तयारी गरिएको थियो । दुवैजनालाई कैँची दिएपछि कार्यक्रमको सम्मानका लागि थप नसोची रिबन काटेको उनले बताइन् ।

‘क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा आएन । त्यो कुरा चाहीँ जनताले थाहा पाउनुपथ्र्यो नि होइन ? तर, सबैजना रिबनका पछि दौडिनुभयो । यदि तपाईंहरुले सही र सत्य सूचना प्रवाह गर्नुभयो भने मात्रै हामीले चाहेकोजस्तो सुशासन आउनेछ ।’

उनले क्याथल्यावजस्तो राम्रो कुराको उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

डा. कार्कीले थपिन्, ‘उद्घाटन गर्ने मौका पाएकोमा म खुसी छु । यसलाई के कसरी साथीहरूले व्याख्या गर्नुभयो, उहाँहरूकै विवेकलाई छोडिदिएँ । म त्यहाँ नपुग्नुपर्थ्यो कि रिबन नकाट्नुपर्थ्यो कि ? के भन्न खोजिएको हो बुझ्न सकेकी छैन ।’

उनले कुनै पनि कार्यक्रममा अतिथिका रूपमा आतिथ्यता दिनका लागि मात्र वा खादा-माला ओढाउन मात्र भने नबोलाइदिन सबैसँग अपिल गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर