बुटवलमा पनि सेनाको महाविद्यालय र अस्पताल, कल्याणकारी कोषको लगानी नाघ्यो साढे ५ अर्ब – Nepal Press

बुटवलमा पनि सेनाको महाविद्यालय र अस्पताल, कल्याणकारी कोषको लगानी नाघ्यो साढे ५ अर्ब

रुपन्देही । नेपाली सेनाले कल्याणकारी कोषबाट व्यापार-व्यवसायमा लगानी बढाएको छ । पछिल्लो पटक बुटवलमा सैनिक फिल्ड अस्पताल, सैनिक महाविद्यालय र आपतकालीन रिकभरी डाटा सेन्टर सेनाले सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा आन्तरिक उपचारलाई प्राथमिकता दिइए पनि विद्यालयमा ६० प्रतिशत सैनिक परिवार र ४० प्रतिशत सर्वसाधारणको लागि खुला गरिएको छ । सैनिक कल्याणकारी कोषको लगानीमा निर्माण भएको अस्पताल, महाविद्यालय र डाटा सेन्टरको प्रधान सेनापति प्रभुराम शर्माले उदघाटन गरेका थिए ।

सैनिक कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषको लगानीमा रुपन्देहीको खस्यौली ब्यारेक हाताभित्र सैनिक आवासीय महाविद्यालय र २२ नम्बर बाहिनी अड्डा योगीकुटी ब्यारेकभित्र सैनिक अस्पताल निर्माण गरिएको हो ।

विद्यालय भवन र सैनिक अस्पतालको केही समय पहिले नेपाली सेनाका प्रधानसेनापति शर्माले नै शिलान्यास गरेका थिए । प्रधानसेनापति शर्माले सैनिक ब्यारेक क्षेत्रभित्र बन्ने अस्पताल र विद्यालयले नेपाली सेनाका बालबालिकाको शिक्षादीक्षा र सैनिक तथा उनका परिवारको उपचारमा सहज हुने बताएका थिए ।

सेनाले बुटवल उपमहानगरपालिका- १ स्थित ऐतिहासिक जितगढी किल्लाको पुनर्निर्माण गरी बुटवल उपमहानगरपालिकालाई गत वर्ष हस्तान्तरण गरेको थियो । यसअघि पेट्रोल पम्प, थोक बजार, पसलसमेत सञ्चालन गरिसकेको छ । रामनगरस्थित सेनाको २२ नम्बर बाहिनी छेउमा पेट्रोल पम्प, बुटवल १० कालिकानगरमा थोकबजार केन्द्र, अमरपथको व्यस्त बजारमा टक्सार केन्द्र सञ्चालन ल्याइएको छ ।

नाफामूलक व्यापार व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषको रकम व्यापारिक प्रयोजनमै बढी लगानी गरिरहेको छ ।

देशका सात प्रदेशमा महाविद्यालय तथा अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार लुम्बिनीको बुटवलमा फिल्ड अस्पताल, महाविद्यालय र आपतकालीन रिकभरी डाटा सेन्टर स्थापना गरिएको नेपाली सेनाले जनाएको छ । सैनिक फिल्ड अस्पताल हाल २५ शय्याको रहेको छ ।

नेपाली सेनाका पृतनापति उपरथी सुनिल श्रेष्ठले सैनिक कल्याणकारी कोषअन्तर्गत केन्द्रबाटै सामाजिक क्षेत्रका परियोजना सञ्चालन भएको र यसको लगानी तथा सञ्चालन कार्यविधि सबै माथिबाटै बन्ने जानकारी दिए ।

केन्द्रमा पनि राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले सैनिक कल्याणकारी कार्यक्रमअन्तर्गत जग्गा प्लटिङ/हाउजिङ निर्माण, सपिङ कम्प्लेक्स, इन्धनको ढुवानी आपूर्ति तथा बिक्री वितरण, जलविद्युत आयोजनामा कर्जा प्रवाह तथा तयारी पोशाक उत्पादनलगायतमा लगानी गरेको छ ।

कोषसँग चलअचल गरी ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँको सम्पत्ति छ । जग्गा प्लटिङ, हाउजिङ कर्मचारीका लागि आवास निर्माण, सपिङ कम्प्लेक्स निर्माण र गेष्टहाउसलगायतमा लगानी गर्न नै सेनाले कार्यविधि बनाएको छ ।

अस्पताल, मेडिकल कलेज, विद्यालय, महाविद्यालय, खानेपानी, इन्धन आपूर्ति तथा बिक्री, विस्फोटक पदार्थ उत्पादकलगायत २ दर्जनभन्दा बढी योजनामा कोषको ५ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ लगानी छ । जसमा थप २ अर्ब बढी लगानी गर्ने सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *