हाँस्य कलाकार जितु अब हिरो ! छक्कापञ्जाको इगो कि लक्ष्य दिगो ? – Nepal Press

हाँस्य कलाकार जितु अब हिरो ! छक्कापञ्जाको इगो कि लक्ष्य दिगो ?

काठमाडौं । ‘छक्कापञ्जा’ श्रृंखलाका सबै फिल्ममा महत्वपूर्ण भूमिकामा देखिँदै आएका कलाकार हुन्, जितु नेपाल उर्फ मुन्द्रे । छक्कापञ्जा टीमका एक अभिन्न सदस्य मानिने जितु यस श्रृंखलाको पछिल्लो फिल्ममा भने अटाउन सकेनन् ।

जितु टीममा नअटाउनुको मुख्य कारण अभिनेत्री तथा निर्माता दीपाश्री निरौलासँगको मनमुटावलाई मानिन्छ । यो विषयमा जितुले मिडियालाई धेरैपटक जवाफ दिइसके पनि होलान् । तर पनि प्रश्न आउन छाडेक ‘दीपाश्रीसँगको मनमुटावले गर्दा नै छक्कापञ्जाबाट निस्कनु भएको हो त ?’

छक्कापञ्जाबाट बाहिरिएपछि उनी नयाँ चलचित्र ‘ह्यारीकी प्यारी’मा जोडिए । यो चलचित्र आगामी शुक्रबार रिलिज हुँदैछ । नयाँ चलचित्रमा जोडिएपछि पुरानो सन्दर्भ सेलाउनुपर्नेमा जितुमाथि अर्को नयाँ प्रश्नको भार थपिएको छ, छक्कापञ्जाको इगोले ‘ह्यारीकी प्यारी’ गर्नुभएको हो ?’

चलचित्रमा ह्यारीको भूमिका निभाउँदै पहिलोपटक लिड रोलमा देखिँदैछन् जितु । हिजो ‘ह्यारीकी प्यारी’ ले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू चलचित्रमा जोडिनुको कथासहित आफूलाई अधिकतम समय सोधिने छक्कापञ्जाप्रतिको इगोबारे प्रस्ट्याए ।

उनले भने, ‘मैले कसैसँग केही इगो पालेको छैन । कसैलाई देखाउन यो चलचित्र गरेको हैन । इगो पालेर छक्कापञ्जालाई देखाउनैपर्छ भनेर मलाई यो चलचित्रमा खेलाउनुस् भन्दै म गएको पनि हैन । यो एउटा संयोग हो ।’

‘ह्यारीकी प्यारी’ को प्रमुख पात्रमा आफू फिट भएकाले चलचित्रमा जोडिएको उनको भनाइ छ । जितुले थपे, ‘छक्कापञ्जाको टीममा म नहुने जस्तो कुरा आएपछि ह्यारीकी प्यारीमा जोडिएको चाहिँ हो । यति ठूलो टीम अनि ब्यानरबाट कुरा आउँदा मैले नाई भन्ने कुरै आउँदैन ।’

‘ह्यारीकी प्यारी’ को चरित्रले दर्शकलाई तपाईंले छक्कापञ्जामा निभाउनुभएको भूमिका बिर्साउला ? भन्ने अर्को प्रश्नमा जितुले हाँस्दै उत्तर दिए, ‘मैले छक्कापञ्जामा निभाएको भूमिका दर्शकहरुले बिर्सनुहोस् भन्ने नै चाहन्नँ म । त्यो चरित्र अनि त्यो चलचित्र मेरो लागि पनि विशेष छ ।’

छक्कापञ्जा भएकोले नै आज आफू ह्यारीकी प्यारीमा भएको जितुको मान्यता छ ।

‘ह्यारीकी प्यारी’ हेरेपछि सायद दर्शकहरुले मैले निभाएको भूमिकामा भन्दा यहाँ केही भिन्नता पाउनुहोला । तर, छक्कापञ्जा नै बिर्साउने भन्ने चाहिँ हुँदैन । छक्कापञ्जा छ र आज म ह्यारीकी प्यारीमा छु । अगाडि मैले गरेका कामहरुले आज म चिनिएको छु । यति फरक हो, त्यहाँ म सहायक भूमिकामा थिएँ, यहाँ लिडमा छु’, उनले थपे ।

‘छक्कापञ्जा’ समूहबाट बाहिरिएपछि जितुले पहिलोपटक ‘ह्यारीकी प्यारी’मा सोलो लिड हिरो भएर काम गरेका छन् । यस चलचित्रले आफ्नो करिअरमा केही नयाँ आयाम थप्नेमा उनी ढुक्क छन् ।

‘ह्यारीकी प्यारी’ ले जितु मुख्य भूमिकामा हुँदा पनि चलचित्र राम्रो हुँदोरहेछ है भन्ने छाप छोड्न सक्ने उनको आत्मविश्वास छ ।
पहिलोचोटि सोलो हिरो बन्दाको अनुभव सुनाउँदै उनले भने, ‘सुरुमा यो चलचित्रको अफर आउँदा यस चलचित्रमा दुई मुख्य पुरुष पात्र हुनुहुन्छ भन्ने कुरा थियो । त्यसमध्ये पनि टाइटल रोल थियो ह्यारी नामको पात्रको । चलचित्रबारे कुरा गर्न हामी पुरै टीम नै बस्यौं । कथा सुन्यौं । चलचित्रमा म र विजय बरालजी मुख्य भूमिकामा थियौं ।’

चलचित्रको कथा आफूलाई मन परे पनि मुख्य भूमिकामा आफू भएबारे अनभिज्ञ रहेको उनको भनाइ छ । जितु भन्छन्, ‘कथा सुनिञ्जेलसम्ममा पनि म यही सोचिरहको थिएँ कि ह्यारी पात्रमा विजय बरालजी हुनुहुन्छ । कथा सुनिसकेपछि पो भन्नुहुन्छ, ह्यारी तिमी हौ भनेर । म त झसङ्ग्गै भएँ । पत्यारै लागेन ।’

लिड रोल भन्ने थाहा पाएपछि झस्केका जितु हिरोइनमा साम्राज्ञी भनेपछि झनै आत्तिए । हर्षित मुद्रामा उनले भने, ‘लिड रोलमा तिमी भन्दा झस्किएको म झन् हिरोइनमा साम्राज्ञी भन्दा त सुरुमा पत्यारै लागेन । उहाँले मसँग खेल्नुहुन्छ र भन्ने भयो ।’

सिने क्षेत्रमा आफूलाई दर्शकले चिने पनि यति ठूलो जिम्मेवारी बहन गर्न सक्छु सक्दिनँ भन्ने ‘ह्यारीकी प्यारी’ गरिञ्जेल उनलाई खट्कियो । सहायक वा ४, ५ जनाको समूहमा अभिनय गर्नु र लिडमा एक्लै अभिनय गर्नुमा आकाश-जमिनको फरक भएको उनको अनुभव छ ।

हिरो बन्छु भन्ने एक मनमा नलिएका जितुले विगत सम्झिँदै सुनाए, ‘यो क्षेत्रमा प्रवेश गरिराख्दा मलाई कहिले पनि हिरो बन्छु भन्ने थिएन । यो मेरो जिन्दगीको अर्कै पाटो हो । मान्छेको जीवन अचम्मको हुँदोरहेछ । म यसरी फिल्म खेल्छु, लिड रोलमा हुन्छु, छेउमा साम्राज्ञीजस्तो हिरोइन हुनुहोला भन्ने मैले कहिल्यै कल्पना पनि नगरेको चिज हो । म हिजो पनि दुःख गरेर आएको मान्छे । सधैं गर्नेछु ।’

एकपटक लिडमा बसेर चलचित्र गरेपछि भोलिका दिनहरुमा पनि लिडमै होस् भन्ने चाह सबैमा हुन्छ । जितु अब भविष्यमा के गर्छन् ?

उनले जवाफ दिए, ‘प्रधानमन्त्री भएको मान्छेलाई मन्त्री हुने चाह कहाँ हुन्छ र ? त्यस्तै हो यो क्षेत्र पनि । तर, आज लिडमा खेलें भन्दैमा भोलि सहायक खेल्नै हुँदैन भन्ने मेरो मान्यता छैन । कमेडी मेरो नशामा छ । म सकेसम्म कमेडीमै काम गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर