गौरिकालाई बिर्साउँदै डुआना – Nepal Press

गौरिकालाई बिर्साउँदै डुआना

पोखरा । हरेक खेलकुद महोत्सवमा पौडी अन्य खेलको तुलनामा बढी चर्चामा आउँछ।  फुटबल, क्रिकेट र भलिबलजस्ता खेलहरु बढी लोकप्रिय भएपनि पौडी खेलाडीले जित्न सक्ने स्वर्ण पदकको संख्याका कारण अन्य खेलका खेलाडीहरु ओझेलमा पर्छन्।

पौडीमा एकै खेलाडीले करिब एक दर्जनसम्म  स्पर्धामा प्रतिस्पर्धा गर्ने भएकाले उनिहरुले धेरै स्वर्ण पदक जित्ने सम्भावना हुन्छ तर अन्य प्राय खेलमा एउटा खेलाडी एउटा मात्र स्पर्धामा भिड्ने भएकाले उनिहरुलाई एकभन्दा बढी स्वर्ण पदक जित्न सक्ने सुविधा हुँदैन। चर्चित अमेरिकी पौडीबाज माइकल फेल्प्सले ओलम्पिकजस्तो विश्व खेलकुदको महाकुम्भको १४ वर्षअघि आयोजित बेइजिङ संस्करणमा ८ स्वर्ण जितेर अन्य खेलका खेलाडीलाई चकित बनाएका थिए।

नेपाली खेलकुद महोत्सवमा पनि पौडी खेलाडीको दबदबा हरेकपटक देखिने गरेको छ।  जारी नवौँ संस्करणमा पनि यसले निरन्तरता पाएको छ। त्यसमा पनि गौरिका सिंहजस्ती दक्षिण एसियाली खेलकुद-सागकी स्वर्ण पदक विजेता र अमेरिकामा बस्दै आएकी एश्ले सापकोटा डंगोललाई उछिन्दै डुआना लामाले ९ स्वर्ण प्राप्त गरेकी छिन्।

नेपालमै जन्मे हुर्केकाले पनि डुआनाको यो सफलताको चर्चा बढी भइरहेको छ। त्यसमा पनि उनले गौरिकाको विगतको राष्ट्रिय कीर्तिमान तोडेकी  छिन्। त्यसैले अस्वस्थताका बीच गौरिकाले प्रतिस्पर्धा गरिरहेको भएकाले डुआनालाई यो सफलता प्राप्त भएको हो भन्ने अवस्था छैन।

डुआना नेपाली पौडीकी नयाँ अनुहार होइनन् तर पछिल्ला ६-७ वर्षयता नेपाली पौडीमा एकछत्र राज गरेकी गौरिका स्वयम सहभागी रहेको प्रतियोगितामा ९ स्वर्ण पदक जित्नु  डुआनाका लागि चानचुने कुरा होइन। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई प्रतिनिधित्व गरिरहेकी डुआनाले जितेका ९ स्वर्ण  ६ व्यक्तिगत र तीन टिम स्पर्धामा हुन्।  उनले एक कांस्य पदक पनि जितेकी छन्।

डुआनाले धेरै स्पर्धामा आफ्नै कीर्तिमान सुधारिन् भने एउटा स्पर्धा उनका लागि सम्झनलायक रह्यो ।  २ सय मिटर व्यक्तिगत मिड्लेमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै उनले आफ्नो नाम ‘रेकर्ड बुक’मा लेखाइन् । गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा बनाएको २ मिनेट ३२ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै डुआनाले २ मिनेट ३०.६७ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी थिइन् । त्यो उपलब्धि उनलाई विशेष लाग्छ ।

‘गौरिकाको कीर्तिमान तोड्छु भनेर सोचेकी पनि थिइँन । तर, राम्रो गर्छु भन्ने अठोट चाँही थियो । तर, उसलाई जितेको थाहा पाएपछि म ‘सर्प्राइज्ड’ भएँ । सबै रेकर्ड गौरिकाकै नाममा थियो । सानैदेखि हामी सँगै खेलेको हो । उ एकदमै छिटो छ,’ डुआनाले खुसी लुकाउन सकिनन् । नेपालको परिवेशमा सबै खेलाडी राम्रो भए पनि गौरिकालाई उनी आफ्नो प्रतिद्वन्दी मान्छिन् । पहिलैदेखि  गौरिका जस्तै हुने आफ्नो इच्छा रहेको उनले सुनाइन्।

डुवानाले आठौं राष्ट्रिय खेलकुदमा पनि तीन राष्ट्रिय कीर्तिमानसहित ५ स्वर्ण जितेकी थिइन् । डुआनाले सन् २०१८मा १२ वर्षको उमेरमा सिंगापुरमा भएको फिना पौडी विश्वकपमा भाग लिँदा कीर्तिमानी प्रदर्शन गरेकी थिइन । सिंगापुरमा उनले महिला ५०मिटर ब्रेस्टस्टेकमा (३५.८२ सेकेन्ड) तथा १ सय मिटर ब्रेस्टस्ट्रोकमा (१ मिनेट १६.९९ सेकेन्ड) नयाँ राष्ट्रिय कीतिमान बनाएकी थिइन ।

त्यसपछि उनले  फिना विश्व जुनियर च्याम्पियनसिपसहित थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकि छिन्। तथापि नवौं राष्ट्यि खेलकुद उनका लागि सबैभन्दा विशेष छ । डुआनाले आफुले मन पराउने र आदर्श मान्ने गौरिकालाई पछि पार्दै स्वर्ण जितेकी छिन्। नेपालमा जन्मेहुर्केर विदेशमा बसेर तयारी गरिरहेका खेलाडीलाई पछि पार्नु डुवानाका लागि पक्कै सजिलो थिएन। तर डुआना र उनको परिवारले गरेको अथक त्याग र मिहेनतले उनिहरुलाई अन्तत सफलता दिलाएको छ।

५-६ वर्षको उमेरदेखि  सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी धाउन थालेकी डुवाना यतिबेला राष्ट्रिय खेलकुद महोत्सवमा छाएकी छिन्। एक्ली सन्तान डुआनाका लागि देशमा अभ्यास गर्न उपयुक्त पोखरी नहुँदा आमाबाबुले जाडो महिनामा थाइल्यान्डमा र गर्मीमा नेपालमा बसेर अध्ययन तथा पौडी जीवन अगाडि बढाउने वातावरण मिलाइदिएका छन् ।

त्यसैले उनका पिता मुखिया लामा र आमा मेरी लामा अहिले डुआनाभन्दा बढि खुसी छन् । डुआनाको खेलकै लागि भनेर पोखरा आएका उनीहरुलाई छोरीको उपलब्धिमा गर्व छ ।

सात वर्षको उमेरमै जुनियर च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी डुआना आइरिस आमा र नेपाली बुवाका छोरी हुन् । बुवा मुखिया नेपाली फुटबलको महारथी मनाङ मर्स्याङ्दी क्लबका पदाधिकारी हुन् । उनको घर मनाङ हो । ‘पहिला यहा ट्रेनिङ गर्न गाह्रो थियो । अझै पनि गाह्रो नै छ।  त्यसैले मेरो प्रशिक्षकले बाहिर जाउ उतै राम्रो हुन्छ भनेपछि प्यारेन्टसले मलाई त्यहाँ लानुभयो,’ डुवानाले भनिन्, ‘मेरो लागि सबभन्दा ठूलो प्रेरणाको स्रोत उहाँहरु नै हो । त्यसपछि म आफै हुँ ।’

अहिले डुवाना थाइल्यान्डमा आफ्नै स्कुलमा अभ्यास गर्छिन । नेपाल आउने बित्तिकै उनी सोतदोबाटो कुदिहाल्छिन् । भन्छिन्, ‘मलाई नेपाल धेरै मिस हुन्छ, त्यसैले नेपाल आइरहन्छु । सातदोबाटोमा राष्ट्रिय टिमका खेलाडीहरुसँग ट्रेनिङ गर्न मन लाग्छ । त्यसैले म आउने बित्तिकै सातदोबाटो गइहाल्छु।’

राष्ट्रिय खेलकुदको एकै संस्करणमा एउटै खेलाडीले १२ स्वर्ण पदकसम्म जितेको इतिहास छ। एकै खेलाडीले सहभागी भएकामध्ये अधिकांश स्पर्धामा स्वर्ण जित्नेक्रम १४ वर्षअघि आयोजित पाचौँ राष्ट्रिय खेलकुदबाट सुरु भएको हो। त्यतिबेला नयना शाक्यले ९ स्वर्ण पदक जितेकी थिइन्। त्यसको तीन वर्षपछि भएको छैठौं राष्ट्रिय खेलकुदमा करिष्मा कार्कीले नयनाको ठाउँ लिइन । उनले राष्ट्रिय खेलकुदको एकै संस्करणमा १२ वटा स्वर्ण पदक जितेर अर्को कीर्तिमान बनाइन् । सातौं राष्ट्रिय खेलकुदमा पुरुषतर्फ सिरिस गुरुङ र महिलामा सोफिया शाहले समान ४ स्वर्ण जितेका थिए।

आठौं राष्ट्रिय खेलकुदसम्म आईपुग्दा दृष्य थोरै बदलियो । नयाँ नामले राष्ट्रिय खेलकुदमा राज गरेन । बरु त्यसअघि नै विश्वकै सबभन्दा कम उमेरको ओलम्पियन भएर तहल्का मच्चाइसकेकी गौरिका सिंह नेपालगञ्जमा छाइन । उनले आठौं राष्ट्रिय खेलकुदमा एक्लै १२ स्वर्ण पदक जितेर घरेलु पौडीमा पनि दमदार उपस्थिती जनाइन । त्यसअघि नै उनले नेपाललाई प्रतिनिधित्व गर्दै २०१६ को रियो ओलम्पिक खेलिसकेकी थिइन । स्वर्ण पदक जितेको संख्याको हिसाबले यसपटक डुआना अघि सरेकी छिन्।

डुआनाको लक्ष्य ठुल्ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने, नेपालका लागि पदक जित्ने र त्यो भन्दा धेरै नेपालको पौडी विकाशमा योगदान गर्ने छ । अरु खेलले नेपाललाई चिनाएझै उनलाई पौडी खेलेरै देशको नाम राख्ने मन छ । ओलम्पिक र एसियाडको स्वर्ण पनि उनको लक्ष्य हो । तर अहिले सागको स्वर्ण जित्नका लागि केन्द्रीत रहेको डुआना बताउँछिन् ।

‘मलाई पौडी खेलाडी भएर नेपालको नाम राख्ने मन छ । मलाई पौडीले नै अगाडी ल्याएको हो । मेरो ओलम्पिक र एसियन गेम्समा पदक जित्ने सपना छ । तर त्यसका लागि मैले धेरै मेहनत गर्नुपर्छ । अझ धेरै अभ्यास गर्नुपर्छ । अहिलेलाई दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक जित्नेमा केन्द्रित छु,’ उनले योजना सुनाइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *