‘मेरो टिकट सरप्राइज होइन, आनन्द-पार्वतको सहमति र जनता-कार्यकर्ताको चाहनाअनुसार आएको हुँ’ – Nepal Press
नेपाल टक

‘मेरो टिकट सरप्राइज होइन, आनन्द-पार्वतको सहमति र जनता-कार्यकर्ताको चाहनाअनुसार आएको हुँ’

दोलखा एमाले उम्मेवार बालकृष्ण शिवाकोटी भन्छन्- यसपटक कहीं पनि बुथ लुट्न दिँदनौं, गठबन्धनलाई तीनै सीटमा पराजित गर्छौं

काठमाडौं । नेकपा एमालेबाट दोलखाको टिकट सार्वजनिक हुँदा कतिपय सरप्राइजमा परे । दुईजना प्रभावशाली नेताहरु पूर्वमन्त्री आनन्द पोखरेल र पार्वत गुरुङमध्ये एकले टिकट पाउने चर्चा चलिरहेका बेला एकाएक बालकृष्ण शिवाकोटीको नाम सार्वजनिक भयो प्रतिनिधिसभामा ।

शिवाकोटीको नाम दोलखामा नयाँ होइन । तर, यो निर्णयले जिल्लामात्र होइन देशै तरंगित भयो । शिवाकोटीले प्रदेश नम्बर २ क्षेत्रको टिकट पाउने चर्चा चलिरहेका बेला एमालेले प्रतिष्ठित उद्यमीसमेत रहेका प्रदेशस्तरीय नेता शिवाकोटीलाई प्रतिनिधिसभा र जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ तथा भीमेश्वर नगरपालिकाका पूर्वमेयर भरत केसीलाई प्रदेशको उम्मेदवार बनायो ।

शिवाकोटी नेतृत्वमा एमालेले नयाँ अनुहार मैदानमा अघि सारेपछि गठबन्धनबाट पनि नयाँ अनुहार आएका छन् । अहिले राजनीतिमा क्रियाशील नेता-कार्यकर्ताले मात्र उम्मेदवारी दिएका छैनन्, चुनावी मैदानमा उद्योगी व्यवसायी पनि छन् ।

लामो समयसम्म बहसमा रहने राजनीतिक मुद्दालाई पछिल्लो समय आर्थिक मुद्दाले ओझेल पार्न थालेको छ । त्यसैले त चुनावी प्रचारप्रसारमा विकास र समृद्धिको नारा लगाएर भोट माग्न थालिएको छ । अधिकांश उम्मेदवारले रोजगारी, विकासलगायतलाई आफ्नो प्राथमिकतामा राखेका छन् । यहीसँग सम्बन्धित व्यक्ति उद्योगी व्यवसायीको आगमन पनि यही मुद्दामा टेकेर भएको छ ।

एकदर्जनभन्दा बढी व्यवसायमा संलग्न शिवाकोटीले पनि दोलखाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका लागि चुनावी लडाइँ लड्दैछन् । यद्यपि उनी व्यवसायीमात्र होइनन् एमालेको ग्रासरुटदेखि नै काम गरेका कार्यकर्ता पनि हुन् तर अवसर नपाएका ।

एउटा व्यवसायीले पार्टीको टिकट कसरी पाउँछ, संसदमा प्रवेशपछि के हुन्छ, राजनीतिमा किन आकर्षण बढिरहेको छ जस्ता विषयसँग सम्बन्धित रहेर उनै बालकृष्ण शिवाकोटीसँग नेपालप्रेसले गरेको कुराकानीको सम्पादित अंशः

– चुनाव नजिकिँदैछ । तयारी कस्तो भइरहेको छ ?

हाम्रो पार्टीले उम्मेदवारी दर्ता गरेपछि पार्टीका सबै कार्यकर्तालाई सबै ठाउँमा पुग्न निर्देशन गरेको छ । दोलखाकै कुरा गर्नुहुन्छ भने एमालेमय भएको छ । चुनावी अभियानमा काठमाडौंमा पनि आयौं । प्रचारप्रसारकै क्रममा दोलखा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमा पनि सहभागी भयौं । भेटघाट व्यापक छ । अहिलेको माहोलले व्यापक रुपमा नेकपा एमालेको पक्षमा जनलहर देखिएको छ ।

– तपाईं व्यवसायी त्यसमा पनि प्रतिनिधिसभाका लागि नयाँ अनुहार । दोलखाबाट प्रतिनिधिसभाको टिकट पाउनुमा तपाईंकै पार्टीभित्रका नेता-कार्यकर्ता सरप्राइजमा परेका छन् । दुई ठूला प्रभावशाली नेताले नपाएर तपाईंले पाउनुभयो । यो कसरी सम्भव भयो ?

विगत लामो समयसम्म पार्टी निर्माणमा लागेको एउटा व्यक्तिले टिकट पाउनु सरप्राइज भन्नु नै अनौठो लागिरहेको छ । सरप्राइज भयो भन्ने सुन्दा मलाई अनौठो लाग्छ ।

विगत लामो समयदेखि पार्टीको अनुशासित कार्यकर्ताको रुपमा काम गरेको मानिस हुँ । अरुभन्दा म अलि फरक छु । म विकास र समृद्धिसँग नजिक हुनुपर्छ र केही गर्नुपर्छ भनेर लागेको मानिस हो ।

– तर, तपाईंकै पार्टीभित्रका नेता-कार्यकर्ता ज्यादा सरप्राइज्ड भएका छन् नि ?

सरप्राइज्ड भए होलान्, त्यो ठीक हो । म निरन्तर पार्टीको काम गरेको मान्छे हो । बाहिरबाट देख्दा ठूला दुई नेता अर्थात पूर्वमन्त्रीले नपाएर मैले पाउँदा सरप्राइज जस्तो लागेको छ । त्यस्तो बिल्कुल होइन । दुवैजना नेता (आनन्द पोखरेल र पार्वत गुरुङ)को सहमतिमा पार्टी कार्यकर्ताको चाहना र भावना अनुसार जनताले भनेअनुसार तलबाट सिफारिस भएर मलाई पार्टीले प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो । यहाँ कुनै पनि सरप्राइज छ जस्तो लाग्दैन । कसैले पनि सधैंभरि टिकट पाइरहनुपर्छ भन्ने पनि होइन । नयाँ जस्तो लागेको हो । पहिलो चोटि सबै नयाँ हुन्छन्, त्यतिमात्र हो ।

– तपाईंले टिकट पाउन केपी ओलीसँगको निकटता र नाताको फाइदा उठायो भन्ने सर्कल तपाईंकै पार्टीभित्र छ । निकटता र नाताको फाइदा उठाउनुभएकै हो ?

पार्टी अध्यक्षले आफ्नो नाताको हिसाबले कसैलाई पनि टिकट दिनुहुन्न । उसको पार्टीमा योगदान, निरन्तरता छ कि छैन, पार्टीमा के गरेको छ, जनताको भावना के छ, त्यो हेरिन्छ । पार्टी कार्यकर्ताको भावनाअनुसार मलाई टिकट दिइएको हो । नाता भएर टिकट दिएको जस्तो लाग्नेलाई भन्न त केही सकिँदैन । तर, मलाई नाता भएकै कारण टिकट दिएको भने होइन । काम गरेको आधारमा र जनताले यसलाई मत दिन्छन् भनेर नै टिकट दिइएको हो ।

– दोलखामा एमालेको राम्रो प्रभाव स्थानीय चुनावमा सकियो, अब एमाले दोलखामा फर्किन सक्दैन पनि भन्दैछन् । तपाईंहरुले साख फर्काउन सक्नुहोला ?

कहिलेकाहीं निर्वाचन हो थोरबहुत त्यस्तो देखिएको छ । दोलखामा नेकपा एमालेको असाध्यै राम्रो संगठन छ । विगतमा हाम्रो पार्टी नेकपा माओवादी र नेकपा एमाले मिलिसकेपछि बनेको पार्टी नेकपा थियो । त्यो वेला पार्टीको संगठन त्यति प्रभावकारी भएर काम गरेन । संगठनभन्दा पनि अलि कतै रुमल्लिएको थियो ।

नेकपा विभाजनपछि एमालेको महाधिवेशन भयो । त्यसपछि राम्रो तयारी गर्न नपाउँदै चुनाव भयो । यसले केही ठाउँमा गठबन्धनसँग हारेका छौं । त्यसपछि पार्टी सुदृढीकरणको अभियान व्यापक रुपमा तल्लो तहसम्म पुर्‍याएका छौं । अहिले पार्टी सुदृढ भएको छ कि तपाईंले अहिले भन्नुभन्दा पनि मंसिर ४ गतेकै परिणामपछि थाहा पाउनुहुनेछ । एमालेले दोलखामा अत्यधिक मत ल्याएर विजयी हुन्छ । हाम्रो आधार भनेको संगठन राम्रो छ । कार्यकर्ता क्रियाशील छन् । एमालेले जित्यो भने मुलुक समृद्ध बन्छ ।

– अहिले घोषणापत्रविना नै चुनावी प्रचारप्रसारमा हुनुहुन्छ । केलाई आधार बनाएर भोट मागिरहनुभएको छ ?

विगतमा घोषणापत्रमा धेरै कुरा निस्कने र सबै पूरा नहुने भएकाले अहिले वास्तविक गर्न सक्ने विषयमात्र राखेर घोषणापत्र बनाउँदैछौं । अब हाम्रो पार्टीले जे गर्नसक्छ त्यसको व्यवहारिकता बुझेर मात्र घोषणापत्र बनाउँछ । केन्द्रीय पार्टीले बनाएको घोषणापत्र र हाम्रो स्थानीय रुपमा भूगोल, जनताको चाहना फरक फरक छ । कुन ठाउँमा के आवश्यक छ त्यो स्थानीय रुपमै पनि घोषणापत्र बनाउनुपर्ने भएकाले स्थानीय रुपमै पनि बनाउँछौं ।

– समग्र दोलखालीले तपाईंलाई मत दिएर किन जिताउने ? जितेपछि दोलखाको विकास कसरी गर्नुहुन्छ ?

विगत लामो समयदेखि पार्टीको अनुशासित कार्यकर्ताको रुपमा काम गरेको मानिस हुँ । अरुभन्दा म अलि फरक छु । म विकास र समृद्धिसँग नजिक हुनुपर्छ र केही गर्नुपर्छ भनेर लागेको मानिस हो । त्यहाँँ भएको बेरोजगारीको समस्या, भौगोलिक तथा प्राकृतिक हिसाबले राम्रो भएकाले धार्मिक पर्यटन र हाइड्रोलगायतको विकासमा काम गर्छु । आम मानिसमा मै गर्छु भन्ने विश्वास पनि छ ।

– पछिल्लो समय उद्योगी व्यवसायी राजनीतिप्रति निकै आकर्षित भएका छन् । अहिले एक दर्जनभन्दा बढी उद्योगी व्यवसायी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुनुले राजनीतिप्रतिको आकर्षण झल्काउँछ । उद्योगी व्यवसायीलाई राजनीतिमा आउन कतिको सहज छ ? कतिपयले त व्यवसायीले टिकट पैसामा किन्छन् भन्ने आरोप छ नि ?

हाम्रो पार्टीमा बिल्कुल होइन । नेकपा एमालेमा त्यस्तो छैन । यो पार्टी सबै वर्ग, क्षेत्र, व्यवसाय, पेशालगायतको प्रतिनिधित्व हुनुपर्छ भन्ने पार्टी हो । हिजो राजनीतिक मुद्दा थिए । त्यही भएर राजनीतिक दलका नेतालाई मत दिए भने त्यो मुद्दा सल्टिन्छ भन्ने थियो । अब समृद्धिको मुद्दा आएको छ ।

विकासको मात्र कुरा भएकाले यहीसँग सम्बन्धित मानिस ल्याउँदा मुलुक बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ टिकट वितरण हुन्छ । पैसाले टिकट किन्न पाइँदैन, भ्रममात्र हो ।

केही मानिसहरु अराजक पनि छन् । विगतमा पनि एक-दुई ठाउँमा बुथ कब्जा भएको थियो । हामी यस पटक कहीं लुट्न दिँदैनौं । जनताको मतद्वारा नै विजयी हुन्छौं । कतै तलमाथि हुन दिँदैनौं ।

– सरकारले उद्योगी व्यवसायी मैत्री नीति लिएन भनेर गुनासो गर्छन् । तिनै व्यवसायी नीति निर्माणमा पुगे भने आफ्नो व्यवसाय वा कम्पनीलाई फाइदा हुने काममात्र गर्छन्, जुन विगतमा पनि देखिएको थियो । अब तपाईंबाट चाहि के आश गर्ने ?

मबाट त्यस्तो हुँदैन । मेरो विगतको व्यक्तित्व हेर्नुभयो भने त्यहाँबाट पनि मलाई चिन्नुहोला । सबैले राम्रो गर्छन् भन्ने पनि हुँदैन र सबै नराम्रो पनि हुँदैन । केही केही त्यस्ता आए होलान् । हामी मुलुक बनाउनुपर्छ भन्नेर आएका हौं ।

पार्टीले त्यतिकै टिकट दिएको छैन । यिनीहरुले इमानदारीपूर्वक काम गर्छन् भनेर नै दिएको हो । हाम्रो पनि पार्टीभित्र धेरै छलफल हुन्छ । मुलुकका निम्ति के गर्दा हित हुन्छ त्यही गर्ने प्रतिबद्धता तपाईंसामु नै व्यक्त गर्दछु ।

– यदि तपाईंले प्रतिनिधिसभामा प्रवेश पाउनुभयो भने तपाईं दोलखाको मात्र होइन राष्ट्रकै नेता हुनुहुनेछ । त्यतिवेला देशको आर्थिक समृद्धिको लागि तपाईंको फोकस केमा हुनेछ ?

म सबैभन्दा पहिले दोलखाप्रति नै जिम्मेवार हुन्छु । दोलखाको विकास नै मेरो प्राथमिकता हुनेछ । त्यसपछि देश हो । देशको नीति निर्माणमा मुलुकको आर्थिक समृद्धि हुने कामका लागि लाग्नेछु ।

– दोलखामा प्रायः बुथ कब्जाका कुरा आउँछन् । हरेक चुनाव बुथ कब्जाले बदनाम छ । यसपटक चाहिं बुथ कब्जा रोक्न सक्नुहोला ?

केही मानिसहरु अराजक पनि छन् । विगतमा पनि एक-दुई ठाउँमा बुथ कब्जा भएको थियो । हामी यस पटक कहीं लुट्न दिँदैनौं । जनताको मतद्वारा नै विजयी हुन्छौं । कतै तलमाथि हुन दिँदैनौं ।

– पछिल्लो समय गठबन्धनको राजनीति निकै मौलाएको छ । जुन अघिल्लो चुनावमा तपाईंकै पार्टीले अभ्यास गरेको थियो । अहिले अर्कोले गरिरहेको छ ? चुनावका लागि हुने गठबन्धनलाई कसरी मूल्यांकन गर्ने ?

अघिल्लो चोटि केका निम्ति गठबन्धन भयो र अहिले केका लागि भयो भन्ने बुझ्नु जरुरी छ । हिजो हामी दुई कम्युनिष्ट एकै हँुदा मुलुकमा दीर्घकालसम्म शासनसत्ता वा समृद्धिका लागि काम गर्न सक्छौं भन्ने थियो । त्यो गठबन्धन स्वदेशी, विदेशी नराम्रा पक्षको घुसपैठले टुट्यो ।

अहिलेको गठबन्धन त्योभन्दा फरक छ । नितान्त मुलुक बिगार्न र सरकार चलाउनमात्र भएको छ । अहिलेको सरकारले गरेको कामबाटै तपाईं छुट्याउन सक्नुहुन्छ । अहिलेको गठबन्धन प्रतिपक्षसँग सरकार पक्षका मानिस सबै मिलेर चुनावमा आइरहेका छन् ।

– अहिलेको गठबन्धनले चुनावी नतिजा आफ्नो पक्षमा ल्याउन एमालेलाई अप्ठेरो छ भनेर विश्लेषण भइरहेको छ नि ?

अलि अलि तपाईंले भनेका कुरा हो कि हो कि जस्तो लागेको छ । यदि नेकपा एमालेको संगठन, कार्यकर्ता, पार्टी नेतृत्व असक्षम भएको बखतमा तपाईंले भनेजस्तो हो । चुनावमा देख्दा धेरै पार्टी एक ठाउँमा र एमालेमात्र एक्लै भन्ने देखिन्छ ।

नेकपा एमालेले एक्लै यो चुनैती सामना गर्नसक्छ । हामी हाम्रै मतले चुनाव जितेर आउँछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live