महेश बस्नेत भन्छन्- मलाई हराउन अर्थमन्त्रीले भक्तपुरको विकास बजेट काटे – Nepal Press

महेश बस्नेत भन्छन्- मलाई हराउन अर्थमन्त्रीले भक्तपुरको विकास बजेट काटे

‘जित सुनिश्चित छ, जनस्तरमा गठबन्धन भएको छैन’

काठमाडौं । नेकपा एमालेका नेता तथा भक्तपुर २ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आफूलाई हराउन अर्थमन्त्री जनार्दन शर्माले भक्तपुरको विकास बजेट काटेको आरोप लगाएका छन्।

आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा अर्थमन्त्रीले अर्थ सचिव राखेर विकास बजेट काटेको दाबी गरेका हुन्।

उनले भने, ‘ओली सरकार आएपछि वडा वडामै करोडौँ बजेट ल्याएका थियौँ । तर, देउवा सरकार आएपछि बालुवाटारकै सहमतिमा अर्थमन्त्रीले अर्थसचिवलाई राखेर भक्तपुरको विकास बजेट काट्न लगाए । विकास रोकेर मलाई हराउन खोजेका छन् ।’

उनले भक्तपुरको विकास निर्माणको कुनै कसर बाँकी नराखी काम गरेको जिकिर गरे। आफूले भक्तपुरको आवाजलाई सदनमा मात्रै नभएर राष्ट्रिय राजनीतिमा बुलन्द गरेको उनको भनाइ छ।

उनले भने, ‘हामी सिंहदरबारको नेतृत्व दाबी गर्ने गरी जानुपर्छ। हामी राष्ट्रिय हितदेखि जनताको समस्यालाई प्राथमिकतामा राख्नुपर्छ। हामीले दोब्बर होइन। तेब्बर मतले जित्नुपर्छ। त्यसको तयारीमा हामी लागिसकेका छौँ।’

आफूहरूले समानुपातिक रूपमा उम्मेदवार दर्ता गरेको दाबी गरे। नेताको बीचमा गठबन्धन भए पनि कार्यकर्ता र जनता तहमा गठबन्धन नभएकाले आफूहरूले मत पाउने विश्वास व्यक्त गरे। आफू लड्नको लागि मात्रै नभएर जितको सुनिश्चितताको साथ चुनावी मैदानमा आएको दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर