गठबन्धनमा १६५ सीटको बाँडफाँट टुंगियो, कांग्रेस र अन्य दलबीच आधा-आधा भागवण्डा – Nepal Press

गठबन्धनमा १६५ सीटको बाँडफाँट टुंगियो, कांग्रेस र अन्य दलबीच आधा-आधा भागवण्डा

काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको सीट बाँडफाँट टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कार्यदलसहित शीर्ष नेताको बैठकले एकसरो सीट संख्या टुंगो लगाएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाल प्रेसलाई बताए ।

पुनले दलहरुले आ-आफ्नो दाबीअनुसारको निर्वाचन क्षेत्रमा छलफल गरी सीट संख्या मोटामोटी टुंगो लगाएको बताए । मंगलबार प्रदेश सभाको पनि सीट बाँडफाँट टुंगो लगाएर सार्वजनिक गरिने उनले जानकारी दिए ।

पुनले सीट संख्या ठ्याक्कै यति भनेर अहिले नै भन्ने अवस्था नरहेको तर यसअघि छलफलमा आएकै संख्या वरिपरि टुंगिएको बताए । स्रोतका अनुसार गठबन्धन दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति भएको छ ।

यसअघि नेपाल प्रेसले अनौपचारिक मस्यौदा आइतबार सार्वजनिक गरेको थियो । सोही अनुसार कांग्रेसले ८३ र महन्थ ठाकुर समूहसहित ८६ सीट वरपर पाउने भएको छ ।

गठबन्धनका कुन दलले कुन-कुन निर्वाचन क्षेत्र पाउने भन्ने लगभग सहमति जुटेको छ । तर प्रदेशको समेत टुंगो लागेपछि मात्र फेरि छलफल गरेर सार्वजनिक हुने बताइएको छ । गठबन्धन बैठक लगत्तै बालुवाटारमा कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

यो पनि पढ्नुस्ः गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, लोसपासहित कांग्रेसलाई ९०, अरुलाई कति ?


प्रतिक्रिया

One thought on “गठबन्धनमा १६५ सीटको बाँडफाँट टुंगियो, कांग्रेस र अन्य दलबीच आधा-आधा भागवण्डा

  1. यसको मतलव चुनाव पछि माओवादीले काँग्रेसलाई खेलाउने भयो आफ्नो र माकुनेको सिट जोडेर । दलाली गर्न प्रचण्डलाई कसले सक्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर