किन बढ्दैछ आत्महत्या ? – Nepal Press
ब्लग

किन बढ्दैछ आत्महत्या ?

२०७९ जेठ महिनाको पहिलो साता लहान नगरपालिका- ६ मा रहेको लहान मेरी चिल्ड्रेन एकेडेमीमा अध्ययन गर्ने १४ वर्षीय बालिकाको शव विद्यालयमै झुन्डिएको अवस्थामा फेला पर्‍यो । उनी कक्षा ७ मा अध्ययन गर्थिन् । उनका अभिभावक छैनन् । ती बालिकालाई अनाथ आश्रमबाट शैक्षिक जिम्मेवारी लिने भन्दै बिद्यालयका सञ्चालकले चार वर्ष अगाडिदेखि पढाउँदै आएका थिए ।

बालिकाको मृत्यु रहस्यमय भएको टिप्पणी पनि भयो । तर, प्रहरीले आत्महत्या ठहर गर्‍यो । अहिले प्रहरीले आत्महत्या दुरुत्साहन गरेको भन्दै एक जनालाई पक्राउ गरेको छ । आश्रमबाट गएका अरु चार जना बालिका पनि त्यही स्कुलमा अध्ययन गर्छन् ।

बढ्दो तथ्याङ्क

सिरहामा आत्महत्याको दर बढेको छ । यो समस्या सिरहा र मधेस प्रदेशमा मात्रै नभई देशैभरि विकराल बन्दै गएको छ । यो समस्या प्रदेश १ पछि मधेसमा बढी छ । १२-१४ वर्षका बालबालिका, किशोरकिशोरी, युवा देखि ८०-८५ वर्षका ज्येष्ठ नागरिकले पनि आत्महत्या गरेका धेरै उदाहरण छन् ।

सिरहामा आर्थिक वर्ष २०७६/०७७ मा १४६, २०७७/०७८ मा १३५ र २०७८/०७९ मा १८९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवास खतिवडाले जानकारी दिए । यी तीन वर्षको अवधिमा सिरहामा आत्महत्या दुरुत्साहनका ४ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

सिरहामा मात्रै होइन मधेस प्रदेशमा पनि ३ वर्षको अवधिमा आत्महत्याका घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको वार्षिक रिपोर्टअनुसार आर्थिक वर्ष ०७६/७७ मा ८१३, २०७७/०७८ मा ९५९ र २०७८/०७९ मा १ हजार १८ जनाले आत्महत्या गरेका छन् ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २४१, २०७७/०७८ मा ७ हजार ११७ र २०७८/०७९ मा ६ हजार ७९२ जनाले आत्महत्या गरेको विकराल तथ्याङ्क छ । २०७८/०७९ को आत्महत्याको दरलाई मात्र हेर्ने हो भने नेपालमा अहिले दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क देखिन्छ ।

के कारणले बढिरहेछ आत्महत्या ?

बेरोजगारी, गरिबी, व्यापार बिजनेसमा हुने घाटा, वैदेशिक रोजगार र त्यसले पारेका पारिवारिक, आर्थिक, सामाजिक प्रभाव, लेनदेन, देशको राजनीतिक परिस्थिति, महिलामाथि हुने हिंसा, दाइजो, तिलकको भार, व्यस्त जीवनशैली र एक्लोपन, पारिवारिक कलह, बलात्कार तथा यौन हिंसा, प्रेमविवाह परिवारले स्वीकार नगर्नु, मादकपदार्थ सेवन गर्ने, कुलत, सामाजिक सन्जालको बढ्दो प्रयोग, मोबाइल स्पोर्टस-अनलाइन गेमको लत जस्ता कारणले आत्महत्याको दर बढाएको छ ।

अर्कोतिर समाजका विभिन्न पक्षले दुरुत्साहन गरेका कारण पनि आत्महत्या गर्ने गरेको पाइएको छ । सिरहामा तीन वर्षको अवधिमा ४७० जनाले आत्महत्या गर्दा दुरुत्साहनका ४ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

दुरुत्साहन र कानुनी व्यवस्था

मुलुकी अपराध संहिता २०७४ ले आत्महत्या दुरुत्साहन गर्ने, आत्महत्या गर्ने परिस्थितिसम्म पुर्‍याउने काम दण्डनीय हुने उल्लेख छ । संहिताको उपदफा २ मा आत्महत्याको दुरुत्साहन गर्नेलाई पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

दाइजो, तिलक, बाल विवाह र आत्महत्याको सम्बन्ध

मधेस प्रदेशमा दाइजो, बाल विवाह जस्तै अन्य हानिकारक परम्पराले पनि आत्महत्याका घटना बढाएकोे ओरेक नेपाल सिरहा परियोजना संयोजक शर्मिला निरौला बताउँछिन् ।

जति उमेर र शिक्षा बढ्दै जान्छ, त्यति नै दाइजो बढी दिनुपर्ने भएर सानैमा विवाह गरिदिने प्रचलन मधेसमा व्याप्त छ । माग गरे जति दाइजो दिनुपर्ने र नदिए विवाहपछि महिलामाथि शारीरिक र मानसिक हिंसा गर्ने, दाइजो चुक्ता गर्न नसकेका कारण धेरैजनाको हत्यासमेत हुने गरेको छ ।

सानै उमेरमा विवाह गरिदिए दहेज-दाइजो कम लाग्ने भन्दै शारीरिक र मानसिक रुपमा परिपक्व नभई विवाह गरिदिएका कारण पनि किशोरीले आत्महत्या गर्ने गरेका छन् ।

सानै उमेरमा विवाह गर्दा घर कसरी चलाउने, के काम गर्ने, परिवारमा कस्तो व्यवहार गर्ने भन्ने जानकारी नै हुँदैन । श्रीमान् बाहिर कमाउन जाने र त्यो अवस्थामा परिवारले सकारात्मक व्यवहार नगर्ने कारण पनि आत्महत्याका घटना धेरै हुने गरेको निरौलाको ठम्याइ छ ।

परिवारभित्रै हुने यौन हिंसा, घरेलु हिंसा, दाइजो नल्याएको भनेर यातना दिने जस्ता व्यवहारको शिकार हुन पुग्दा उनीहरु अगाडिको बाटो देख्दैनन् र आत्महत्याको बाटो रोज्ने गरेका थुप्रै उदाहरण रहेको उनले बताइन् । महिलामाथि हुने यौन हिंसा बलात्कार जस्ता घटना पञ्चायतबाट मिलाइने कारणले पनि मधेसका धेरै किशोरी र महिलाहरुले आत्महत्या गरिरहेका छन् ।

अभियानका बाबजुद उकालो ग्राफ

आत्महत्या न्यूनीकरणका लागि प्रहरीले विभिन्न अभियान चलाउँदै आएको छ । ‘प्रहरी मेरो साथी’ समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतना अभियान पनि चलाइएको छ । सामाजिक संघसंस्थाहरुले पनि समाजमा विभिन्न काम गरिरहेका छन् । तर, आत्महत्यादर घट्नुको साटो बढिरहेको छ ।

प्रहरी अभियानमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसा, आत्महत्या न्यूनीकरणका जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी नायब उपरीक्षक सुवास खतिवडाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्र्रमअन्तर्गत ६३३ वटा सचेतनामूलक कार्यक्रम समुदायस्तरमा भएका छन् । ती कार्यक्रममा ६९ हजार नागरिक तथा विद्यार्थी सहभागी भएको उनले बताए । त्यसैगरी सामाजिक संघसंस्थाहरुको कार्यक्रमहरुमा जाँदा समेत आत्महत्यासम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गर्ने गरेको खतिवडाले जानकारी गराए ।

त्यसैगरी प्रहरीले सडक नाटक, रेडियो सन्देश, अन्तरक्रिया जस्ता सचेतनामूलक कार्यक्रमहरु अभियानकै रुपमा सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

आत्महत्या न्यूनीकरणका लागि सामाजिक संघसंस्थाहरुले काम गरिरहेका छन् । ओरेक नेपाल, मुक्ति नेपाललगायतका संघसंस्थाले पनि मानसिक तनाव र हिंसामा परेकाहरुलाई मनो-सामाजिक परामर्श प्रदान गर्दै आएका छन् । विभिन्न घरेलु हिंसा अथवा अन्य हिंसा पीडित महिलाहरुलाई पनि मनो-सामाजिक परामर्श प्रदान गरिरहेको मुक्ति नेपाल सरहाका अध्यक्ष श्याम शाहले बताए ।

आरेक नेपाल सिरहाकी संयोजक निरौला मनो-सामाजिक परामर्शका कारण धेरै महिलाहरुको जीबन बचाएको बताउँछिन् । दुःखसुख सबैको जीवनमा आइपर्छ । दुःख परेकोबेला तिमी एक्लै छैनाैं। हामी तिम्रो पछाडि छौं भनेर आँट, हौसला, हिम्मत दिन सक्यो भने आत्महत्याका घटना कम हुने निरौलाको अनुभव छ ।

‘दुःख पर्दा आतिने, निराश हुने जिन्दगी नै सकियो भनेर बसेकाहरुलाई दुःखसुख नै जीवन हो । संघर्ष गर्नुपर्छ । जीवनमा ममाथि आइपरेको दुख अनुभव गरें । यसबाट बाहिर आएपछि मेरो जीवन फेरि सामान्य हुनेछ भन्ने कुरा पीडामा परेकाहरुलाई बुझाउन सकियो भने थुप्रै जीबन बचाउन सकिन्छ’, उनले भनिन् ।

न्यूनीकरण कसरी गर्ने ?

मानिसले आफ्नो अगाडि आउने विभिन्न परिस्थितिको सामना गर्न सकेन भने आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ । अहिले सामाजिक अभियानहरु पनि विशेषगरी सचेतना, शिक्षा, स्वास्थ्य र जिविकोपार्जनमा केन्द्रित भएका छन् । तर, मानसिक स्वास्थ्यबारे अभियान चलाउने र मानसिक रुपमा कमजोर भएका नागरिकहरुलाई समय-समयमा मनो-सामाजिक परामर्श दिनसके धेरैको जीवन बचाउन सकिने निरौला बताउँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *