विकास-सम्झनाले गल्ती स्वीकारेपछि गोपाल योञ्जनको परिवार लचक, प्रहरीमा मिलापत्र हुने – Nepal Press
कपिराइट विवाद

विकास-सम्झनाले गल्ती स्वीकारेपछि गोपाल योञ्जनको परिवार लचक, प्रहरीमा मिलापत्र हुने

काठमाडौं । ख्यातिप्राप्त संगीतकार स्व. गोपाल योञ्जनको गीतहरु दुरुपयोग गरेको विषयमा उनको परिवार र सम्झना रौनियारबीच उब्जेको विवाद समाधानउन्मूख बनेको छ । विकास-सम्झनाले गल्ती स्वीकार्दै क्षमायाचना गर्न तयार भएपछि योञ्जन परिवार विवाद समाधानका लागि लचिलो भएका हुन् ।

गोपाल योञ्जनकी छोरी सृजनाले आफ्नो बुबाले सिर्जना गरेका गीतहरूलाई सम्झना विकासले अनुमतिविना युट्यूवमा हालेर आयआर्जन गरेको भन्दै सञ्चार मन्त्रालय र प्रतिलिपि अधिकारको कार्यालयमा उजुरी दिएकी थिइन् । प्रतिलिपि अधिकार कार्यालयले यस सम्बन्धमा केही दिनअघि प्रहरीलाई पत्राचार गरेको थियो । यो मुद्दा अहिले अपराध अनुसन्धान कार्यालय टेकुले हेरिरहेको छ ।

गोपाल योञ्जनको गीत संग्रह विमोचनका लागि उनकी श्रीमती रिञ्छेन योञ्जन र छोरी सिर्जना केही दिनअघि अमेरिकाबाट नेपाल आएका छन् । प्रहरीले अस्ति दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । सिर्जनाले आफ्नो बुवाको गीत दुरुपयोग गरेको स्वीकारेर सम्झना-विकासले सार्वजनिक क्षमायाचना गर्नुपर्ने र गीतबाट भएको सबै आम्दानी आफूहरुलाई दिनुपर्ने सर्त राखेकी थिइन् । विकासले निर्णयमा पुग्न एक दिन समय मागेका थिए ।

सिर्जनाको माग अनुसार गीतको अनधिकृत प्रयोग गरेको स्वीकार्दै क्षमायाचना गर्न विकास-सम्झना तयार भएका छन् । सिर्जनाको परिवारले नै ड्राफ्ट गरेको विज्ञप्तिमा हस्ताक्षर गरेर उनीहरुले जारी गर्ने तयारी छ । साथै, युट्युवबाट भएको आम्दानीको आधा हिस्सा योञ्जनको परिवारलाई दिन पनि उनीहरू तयार भएका छन् । सिर्जनाको माग बमोजिम शतप्रतिशत रोयल्टी दिन भने नसकिने विकासले बताए ।

‘कानूनतः सर्जकले १५ प्रतिशत रोयल्टी पाउने व्यवस्था छ । तर, पनि विवाद समाधानका लागि लचक भएर ५० प्रतिशत दिन तयार भएका हौं,’ उनले भने ।

यस्तो छ विवाद

गीतकार, संगीतकार तथा गायक गोपाल योञ्जनको निधनपछि कानूनतः उनका गीतहरूको प्रतिलिपि अधिकार श्रीमती रेन्छिन योन्जनसँग सुरक्षित रहेको छ । सोही अधिकारमुताबिक योञ्जनका गीतहरूको संरक्षण प्रबर्द्धन, भण्डारणदेखि पुनः रेकर्डिङका कार्यहरू पनि परिवारले नै गर्दै आएको छ ।

चलचित्र निर्देशक सम्झना रौनियार र उनका फोटोग्राफर श्रीमान् विकास रौनियारको कम्पनी सबस्ता इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र ‘मेघा’ मा योञ्जनका केही गीतहरू उनको परिवारको स्वीकृति लिएर प्रयोग गरिएको थियो । त्यसमा योञ्जन परिवारले नै स्टुडियो खर्चदेखि गायक-गायिका, बाद्यवादक, संगीत संयोजकको पारिश्रमिकहरू व्यहोरेको थियो । सबस्ता इन्टरटेनमेन्टले कलाकारहरूको खाजा र यातायात खर्च मात्रै व्यहोरेको सिर्जनाको भनाइ छ । उनको दाबी अनुसार ‘मेघा’ चलचित्रको ९५ प्रतिशत स्क्रिप्ट पनि उनैले निःशुल्क रिराइट गरिदिएकी थिइन् ।

योञ्जन परिवारले अडिओको प्रमोसन र प्रबर्द्धनको जिम्मा म्युजिक नेपाललाई सन् २०१४ मा दिएका थिए । योञ्जनका गीतहरू सबस्ता इन्टरटेनमेन्टलाई चलचित्रमा प्रयोग गर्न दिएपछि योञ्जनकी श्रीमती रेन्छिनले आवश्यक सर्तहरू राखेर एक एमओयू गर्न प्रस्ताव गरेका थिए सम्झना र विकासलाई । तर, सम्झना र विकासले फाइनल एमओयू नपठाएको सृजनाले सञ्चार मन्त्रालयमा दिएको निवेदनमा उल्लेख गरेकी छन् ।

उनले निवेदनमा थप लेखेकी छन्, ‘यसपश्चात् निजहरूले उक्त गीतहरू हामीलाई सोध्दै नसोधी, हाम्रो अनुमतिविना युट्युबमा अपलोड गरी आर्थिक लाभसमेत उठाएको व्यहोरा हाम्रो सामु आयो ।’

यस विषयमा योञ्जन परिवारले आपत्ति जनाएपछि सम्झना-विकासले युट्यूवबाट मेघाका सबै गीतहरू हटाए । चलचित्रमा प्रयोग गरिएका गीतहरूलाई पनि म्युट गरिएको छ । तर, त्यतिबेलासम्म युट्यूवबाट भएको आम्दानीमा योञ्जन परिवारले दाबी गरेका हुन् ।

यद्यपि, नेपाल प्रेससँगको कुराकानीमा सिर्जनाले यो संघर्ष आफूहरूले पैसाका लागि नगरेको बताइन् ।

‘हाम्रो लागि यति प्रतिशत उतिप्रतिशत रोयल्टी ठूलो कुरा होइन । मुख्य कुरा स्रष्टाको सम्मान हो । कुनै पनि स्रष्टाको गीत निजको अनुमतिविना प्रयोग गरेर आर्थिक लाभ गर्ने कुराहरूलाई नजरअन्दाज गर्दैजाने हो भने भोलि धेरै स्रष्टाहरू पीडित हुन सक्छन् । हामीलाई पैसाभन्दा पनि उहाँहरूले आफ्नो गल्ती रियलाइज गर्नु महत्वपूर्ण छ,’ उनले भनिन् ।

आफूहरूले चाहेको जस्तो क्षमायाचना आएको खण्डमा विवादलाई लम्ब्याइरहने मनसायमा नरहेको उनले बताइन् ।

विकास-सम्झनाको क्षमायाना विज्ञप्ति आइसकेपछि सम्भवतः आइतबार प्रहरीमा गएर दुवै पक्षबीच सम्झौता हुन सक्छ ।

यो पनि पढ्नुस्  : गोपाल योञ्जनका गीतमा कपिराइट विवाद : छोरी सृजनाले सम्झना-विकासविरुद्ध दिइन् उजुरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर