बजेटमा भन्दा फरक तलबमान सार्वजनिक गरिएकोमा कर्मचारी संगठनको विरोध – Nepal Press

बजेटमा भन्दा फरक तलबमान सार्वजनिक गरिएकोमा कर्मचारी संगठनको विरोध

काठमाडौं । अर्थमन्त्रालयले तयार पारेको नयाँ तलबमान बजेट वक्तव्यभन्दा फरक र विभेदपूर्ण भएको भन्दै नेपाल निजामती कर्मचारी संगठनले आपत्ति जनाएको छ ।

संगठनले एक विज्ञप्ति जारी गर्दै अर्थमन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीको नयाँ र फरक-फरक तलबमानप्रति आम राष्ट्रसेवकमा अन्यौलता बढाएको जनाएको हो ।

जिम्मेवार निकायबाट दुई फरक-फरक कागजात सार्वजनिक हुने विषयप्रति संगठनको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा राष्ट्रसेवक कर्मचारीहरूको तलबमान समान प्रतिशतमा वृद्धि गरिने विषय उल्लेख भई सोही अनुरुप संघीय संसदबाट बजेट पारित भएको थियो । हालै नेपाल सरकार अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखत सहितको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ फरकफरक तलबमान उल्लेख भएबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योलता बढाएको छ’, महासचिव जीवन काफ्लेको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

अन्य निकायका कर्मचारीसँगको तलबमान मिलान गर्ने बहनामा अर्थमन्त्रालयका राजस्व सचिवको दस्तखत भएको तलबमानमा राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारीको कम प्रतिशत तलब वृद्धि गर्ने गरी गरिएको प्रस्ताव संगठनले अस्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारीलाई हुने अन्यायप्रति संगठन जुनसुकै प्रकारका आन्दोलन वा विरोधका कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर