विदेशमा उपचाररत नेपाली कामदारको सहायताका लागि कार्यदल गठन – Nepal Press

विदेशमा उपचाररत नेपाली कामदारको सहायताका लागि कार्यदल गठन

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेको अवस्थामा गम्भीर घाइते वा बिरामी भई विभिन्न देशका विभिन्न अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको अवस्था बुझ्न, उनीहरुको उद्धार तथा आवश्यक सहयोग गर्न कार्यदल गठन भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदलको सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहेका छन् ।

समितिले विशेषगरी वैदेशिक रोजगारीमा गई सघन उपचारमा रहेका श्रमिकको एकिकृत तथ्याङ्क तयार गर्ने, तिनीहरुलाई उद्दार गरी स्वदेशमा फर्काउने उपायको पहिचान गर्ने, स्वदेश ल्याएपछि सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने र यस कार्यका लागि आवश्यक श्रोत, साधन वैदेशिक रोजगार बोर्डको कल्याणकारी कृयाकलापबाट व्यहोर्ने काम गर्ने छ ।

साउदी अरबका विभिन्न अस्पतालमा गम्भीर अवस्थामा नेपाली बिरामीका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पटक पटक लेखेको थियो । असार २८ गते परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालय प्रतिनिधिको छलफल भएको थियो ।

बैठकले साउदी अरबसहितका रोजगारदाता मुलुकमा उपचार गराइरहँदा उपचार खर्च तिर्न नसकेका, भिसाको अवधि नाघिसकेका नेपालीहरुको समेत अवस्थालाई दृष्टिगत गर्दै उपचार, हेरचाह र व्यवस्थापनका लागि एक निर्देशिका तर्जुमा गरी सोहीअनुसार काम अगाडि बढाइने निर्णय गरेको थियो ।

त्यस्तै विदेशी अस्पतालमा उपचाररत नेपाली नागरिकको विवरण स्थायी ठेगाना, स्वास्थ्य अवस्था, रोगको प्रकृति, अस्पताल भर्ना मिति, भिषाको समयावधि लगायतका विषयमा अद्यावधिक गर्ने काम वैदेशिक रोजगार बोर्डको सचिवालयले गर्ने छ ।

बैठकको छलफलका आधारमा श्रममन्त्री कुँवरले वैदेशिक रोजगार बोर्डको कल्याणकारी क्रियाकलापबाट आवश्यक स्रोत, साधनको व्यवस्थापन गर्ने गरी तीन सदस्यीय कार्यदल गठन गर्न सचिवलाई निर्देशन दिएका थिए ।

कामको सिलसिलामा विभिन्न गन्तव्य मुलुकमा पुगी काम गर्ने क्रममा बिरामी भएर अस्पतालमा उपचाररत नेपालीको संख्या धेरै ठुलो रहेकाले उनीहरुलाई स्वदेशमा ल्याउन कुनै पनि समस्या भए मन्त्रालय र बोर्डले समाधान गर्न तयार रहेको मन्त्रीका निजी सचिव कृष्ण सुवेदीले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर