श्रीलंकामा विक्रमासिङ्घेद्वारा अन्तरिम राष्ट्रपतिको सपथग्रहण, २२ जुलाईमा नयाँ राष्ट्रपतिको चुनाव – Nepal Press

श्रीलंकामा विक्रमासिङ्घेद्वारा अन्तरिम राष्ट्रपतिको सपथग्रहण, २२ जुलाईमा नयाँ राष्ट्रपतिको चुनाव

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले राजिनामा दिएसँगै प्रधानमन्त्री रानिल विक्रमासिङ्घेले श्रीलंकाको अन्तरिम राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका छन् ।

उनलाई श्रीलंकाका प्रधानन्यायाधीश जयन्त जयसूर्याले सपथ गराएका हुन् ।रानिलको सपथपछि श्रीलंकाको संसदका सभामुख यापा अभयवर्धनले आगामी २२ जुलाईमा नयाँ राष्ट्रपतिको लागि चुनाव हुने घोषणा गरेका छन् भने भोलि जुलाई १६ गतेका लागि संसद बैठक समेत बोलाइएको छ ।

चरम आर्थिक संकटको विरुद्ध जारी प्रदर्शनका बीच देशबाट भागेर माल्दिभ्स हुँदै सिगांपुर पुगेका पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षेले बिहीबार राती इमेल मार्फत राजीनामा बुझाएका थिए ।

गोटाबायाको राजीनामा पछि हाल श्रीलंका आम मानिसहरुले सडकमा निस्किएर खुशियाली मनाएको तस्विरहरु सार्वजनिक भएका छन् । देशलाई आर्थिक संकटमा पुराउनका निमित्त देशको नेतृत्वको मुख्य भूमिका रहेको भन्दै श्रीलंकाली जनताहरुले राष्ट्रपति तथा प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

यससँगै श्रीलंकामा नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ । अब श्रीलंकाको राष्ट्रपति को बन्छ भन्ने विषयमा यकिन नभएता पनि प्रतिपक्ष दलका नेता साजित प्रेमदासाले आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन् भने यसअघि कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएका रानीलले पनि अबको राष्ट्रपति पक्ष र विपक्षी दलको सहमतिमा हुनु पर्ने बताएका थिए ।

आर्थिक संकट बाट जुध्नका निमित्त हाल श्रीलंकाले अन्तर्राष्टि«य मुद्रा कोषबाट सहयोगको अपिल गरेको छ तर त्यसका लागी श्रीलंकामा स्थिर सरकार हुनुपर्ने शर्त छ जसका लागी पनि अब चयन हुने राष्ट्रपती श्रीलंकाका लागि अहम मानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर