नीता-हरिहरलाई भुवन केसीको सुझावः अनमोलजस्तो छोरा पाउनु र हिरो बनाउनु – Nepal Press

नीता-हरिहरलाई भुवन केसीको सुझावः अनमोलजस्तो छोरा पाउनु र हिरो बनाउनु

काठमाडौं । युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गाना (हनी जोडी) यही असार २४ गते विवाह बन्धनमा बाँधिए । परिवार र सीमित आफन्तमाझ सम्पन्न विवाह समारोहपश्चात आइतबार असार २६ गते दरबार मार्गस्थित होटल याक एण्ड यतीमा रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो । रिसेप्सनमा भने अधिकतम कलाकारदेखि मिडियासम्मलाई निम्तो दिइएको थियो ।

एकै कलरको सुट र लेहेङगामा सजिएर आएका हनी जोडीलाई देख्नेबित्तिकै मिडियाकर्मीले घेरिहाले । विवाहदेखि हनिमुन अनि बच्चासम्मको प्रश्नोत्तर गर्दागर्दै अभिनेता, निर्देशक तथा निर्माता भुवन केसीको प्रवेश भयो । केसीले सञ्चारकर्मीसँग हरिहर र नीताको जोडी सुपरडुपर हिट भएको बताए ।

भुवनलाई मिडियाकर्मीले हनी जोडीलाई विवाहको टिप्स दिन प्रस्ताव गरे । उत्तरस्वरुप उनले सो जोडीलाई ‘अनमोल केसीजस्तो छोरा पाउन’ टिप्स दिए । उनको सुझाव थियो, ‘छिट्टै अनमोलजस्तो छोरा पाउनु । अनि फिल्ममा हिरो बनाउनु ।’

लाग्छ भुवन केसीलाई आफ्नो छोरा अनमोलप्रति ठूलो गर्व छ । नहोस् पनि किन, जसले नेपाली सिनेमामा सबैभन्दा ठूलो स्टारडम हासिल गरेका छन् । यद्यपि अनमोललाई नेपोटिज्मको सहारामा हिरो बनेको, अभिनयमा कमजोर रहेको आरोपहरु नलागेका होइनन् ।

नेपाली सिने जगतमा नेपोटिज्मको प्रडक्ट अनमोलमात्र छैनन् । सलोन बस्नेत, सुहाना थापा आदि कलाकारहरु पनि परिवारको सहारामै सिने जगतमा प्रवेश गरेका हुन् । नातावादकै माध्यमबाट आए तापनि स्टारडमको हिसाबमा भने अनमोललाई अरुभन्दा माथि राखेर हेर्ने गरिन्छ । अनमोल नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर