नेपाल-चीन साहित्य सम्मेलनमा नेपाली कविताको चिनियाँ संस्करण सार्वजनिक – Nepal Press

नेपाल-चीन साहित्य सम्मेलनमा नेपाली कविताको चिनियाँ संस्करण सार्वजनिक

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र चिनियाँ लेखक संघको संयुक्त आयोजनामा नेपाल-चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न भएको छ ।

‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकार भर्चुअलरूपमा सहभागी भएका थिए । सम्मेलनमा बोल्दै प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले रेसम मार्गको अवधारणा सांकेतिक भए पनि यसले आर्थिक, सामाजिक एवम् राजनीतिक जस्तै साहित्यिक र सांस्कृतिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

चिनियाँ लेखक संघका अध्यक्ष थाइ निङले नेपाल प्रज्ञा-प्रतिष्ठान र चिनियाँ लेखक संघबीको संयुक्त पहलबाट दुई देशबीच साहित्यिक आदानप्रदानमा टेवा पुगेको बताए ।

सम्मेलनमा प्रतिष्ठानका उपकूलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल र प्राज्ञ सभा सदस्य शशी लुमुम्बूलगायत उपस्थित थिए । नेपालका तर्फबाट प्रा.डा. अभि सुवेदी, प्रा. डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. रुद्र पौडेल, प्रा.डा. कृष्णचन्द्र शर्मा र उपप्राध्यापक महेश पौड्यालले गोष्ठीपत्र प्रस्तुत गरे भने चीनका तर्फबाट निङ खन, चाङ छिङह्वा, लिउ चियान, पेई था, वाङ लिउछीलगायतले मन्तव्य राखे ।

सो अवसरमा एक सयभन्दा बढी नेपाली कविता समेटिएको कविता संग्रह चिनियाँ संस्करण सार्वजनिक गरिएको थियो । प्रतिष्ठानले अंग्रेजी भाषामा अनुवाद गरेको ‘दि भ्वाइस अफ नेपाल’ नामक उक्त कृतिलाई चिनियाँ लेखक संघले चिनियाँ भाषामा अनुवाद एवम् प्रकाशन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर