मधेस सरकारले लोककल्याणकारी विज्ञापन दिने, पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा पनि हुने – Nepal Press

मधेस सरकारले लोककल्याणकारी विज्ञापन दिने, पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा पनि हुने

जनकपुरधाम । मधेस सरकारले मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ र मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि २०७९ स्वीकृत गरेको छ ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विज्ञप्ति जारी गर्दै यी दुई विधेयक मधेस सरकारको मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी दिए ।

उनका अनुसार आमसञ्चार प्राधिकरणले प्रस्तावित दुबै मस्यौदा गृह तथा सञ्चार मन्त्रालयबाट मन्त्रीस्तरीय निर्णय भई अर्थ मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयबाट समेत स्वीकृत भइसकेको छ । मन्त्रीस्तरीय निर्णयपछि असार ८ गते स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको उनले जानकारी दिए ।

लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि स्वीकृत भएपछि मधेस प्रदेशमा सञ्चालित मापदण्ड पुगेका पत्रपत्रिका, एफएम र रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमहरुले मधेस सरकारको लोकहितका विज्ञापन एवम् सूचनाहरु प्राप्त गर्ने भएका छन् । त्यस्ता विज्ञापन एवम् सूचनाहरु सञ्चारमाध्यमहरुले प्रकाशन/प्रशारण गरेवापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिएबमोजिम भुक्तानी उपलब्ध गराइनेछ ।

यस्तै मधेसका जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएका पत्रकारको बीमा गरिने भएको छ । बीमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एक पटक एक लाख रुपैयाँसम्मको औषधोपचार खर्च पाउनेछन् । सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिने दुर्घटना बीमा कार्यविधि २०७९ मा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर