किन रोकियो सलमान खानको बहु प्रचारित कन्सर्ट ? – Nepal Press

किन रोकियो सलमान खानको बहु प्रचारित कन्सर्ट ?

काठमाडौं । तीन महिना अगाडिदेखि नै व्यापक प्रचारप्रसार भएको भारतीय अभिनेता सलमान खानको नेपाल भ्रमण अन्तिम समयमा रोकिएको छ । आयोजक संस्था ओडीसी इन्टरनेसनले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन ।

सलमानसहितको टिमले आउँदो शनिवार दशरथ रंगशालामा कन्सर्ट गर्ने कार्यक्रम थियो । आयोजकले सलमानसहितको टिमलाई अग्रिम पारिश्रमिकसमेत दिइसकेको छ । तर, अहिले तयारी नपुगेको र अन्य कारण देखाएर कार्यक्रम स्थगन गरिएको हो ।

ओडीसी इन्टरनेसनलका प्रमुख सीमान्त गुरुङले सलमानको दबंग टुर स्थगित भए पनि रद्द नभएको बताए । भारतबाट ल्याउन लागिएको साउन्ड सिस्टमका सामानको ट्रकको समयै भन्सार क्लियरेन्स हुन नसकेको उनको भनाइ छ । साथै, स्थानीय चुनावले प्रभाव परेको, अभिनेत्री ज्याकलिन फर्नान्डिसले नेपाल आउने अनुमति नपाएको अन्य विविध कारणले अहिले गर्न नसकिएको उनले बताए ।

‘हामी केही सकेसम्म तीन–चार हप्ताभित्र यो कार्यक्रम गर्ने प्रयासमा छौँ,’ उनले भने ।

गुरुङका अनुसार अहिलेसम्म ५–६ लाख रुपैयाँको टिकट अनलाइनबाट विक्री भएको छ । उक्त टिकट काटेकाहरूले टिकट फिर्ता गर्न वा त्यसैबाट अर्को मितिमा हुने कन्सर्ट हेर्न सक्ने उनले जानकारी दिए ।

कन्सर्टका लागि ५ हजारदेखि २५ हजार रुपैयाँको टिकट मूल्य तोकिएको छ । यसै कार्यक्रमको सन्दर्भमा पर्यटनमन्त्री आलेले सलमानसँग भर्चुअल संवाद गरेका थिए ।

अघिल्लो पटक के भएको थियो ?

यसअघि २०७४ सालमा सलमानलाई ‘दबंग टुर’ का लागि नेपाल ल्याउने पहिलो प्रयास भएको थियो । तर, विप्लव समूहको थ्रेटका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरियो ।

‘द दबंग टुर’ का लागि ११० जनाको दलबलसहित नेपाल आउन लागेका थिए । सलमानसहित सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पलसहितको टोलीले २०७४, फागुन २६ गते दशरथ रंगशालामा प्रस्तुति दिने कार्यक्रम थियो ।
तर, विप्लव माओवादीको विरोधपछि कार्यक्रम बिथोलियो । सुरक्षा थ्रेट देखाउँदै सलमानले कार्यक्रममा नआउने सन्देश पठाए ।

आयोजक ओडीसी इन्टरनेटमेन्टले ५ हजार टिकट बेचिसकेको र सलमानको टिमलाई ५ करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेपश्चात् कार्यक्रम स्थगित गरेको थियो ।

स्थगनपछि दुई पटक मिति सरे पनि कार्यक्रम हुन सकेन । त्यस बेला ओडीसीले १० करोड रुपैयाँ घाटा व्यहोरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर