५४८ स्थानीय तहको नतिजा सार्वजनिकः कसले कति जिते ? (सूचीसहित) – Nepal Press

५४८ स्थानीय तहको नतिजा सार्वजनिकः कसले कति जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मत गणनाको परिणाम आउने क्रम जारी छ । बिहीबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५४८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली कांग्रेसले बलियो देखिएको छ । नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य सबै पदमा कांग्रेस नै अगाडि छ ।

सार्वजनिक नतिजामात्र नभएर गणना भइरहेका पालिकामा समेत कांग्रेसकै अग्रता कायम छ । नगर उपप्रमुखमा भने नेकपा एमाले कांग्रेसभन्दा अगाडि बढेकाे छ ।

नगर प्रमुखमा एमालेभन्दा कांग्रेस झण्डै दोब्बर

मत गणना सम्पन्न भएका नगरपालिकाकाे प्रमुखमा कांग्रेसले सर्वाधिक ८३ स्थानमा जित हासिल गरेको छ । उसले ४५ स्थानमा अग्रता लिएकाे छ । प्रमुख पदम एमालेले ५१ स्थानमा जित हासिल गर्दा २६ स्थानमा अग्रता लिएकाे छ । नेकपा माओवादी केन्द्रले १६ नगरपालिकामा प्रमुख जितेकाे छ । गणना जारी रहेकामध्ये उसले १० स्थानमा अग्रता लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले ६ स्थानीय तहकाे प्रमुख  जितकाे छ । उसले ५ स्थानमा अग्रता लिएको छ । अन्य राजीतिक दल तथा स्वतन्त्रले ९ स्थानमा जित हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन् ।

कांग्रेसले १६२ वटा गाउँपालिकामा अध्यक्ष जितेकाे छ । मतगणना जारीमध्ये २२ स्थानमा अग्रता लिएकाे छ । एमालेले १०६ वटा स्थानमा अध्यक्ष जित्दा १८ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ८६ वटा गाउँपालिकामा अध्यक्ष जित्दा ६ स्थानमा मात्रै अग्रता कायम गरेको छ ।

जनता समाजवादी पार्टीले १४ स्थानमा जित हासिल गरेको छ भने ६ स्थानमा अग्रता लिइरहेको छ । अन्यले १७ स्थानमा विजय हासिल गरी १० स्थानमा अग्रता कायम गरेका छन् ।

उपप्रमुखमा एमाले अगाडि बढ्दै

मतगणना भइसकेका नगरपालिकाकाे उपप्रमुख पदमा पनि कांग्रेस अगाडि देखिन्छ । अग्रता लिएको आधारमा जित निकालेमात्रै एमालेले कांग्रेसलाई उछिन्ने देखिएको छ । कांग्रेसले ६१ स्थानमा जित हासिल गरी ३९ स्थानमा अग्रता कायम गर्दा एमालेले कांग्रेसभन्दा चार संख्यामात्रै कम अर्थात ५७ स्थानमा जित हासिल गरी ४९ स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले २४ स्थानमा उपप्रमुख पदमा जित र ९ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले उपप्रमुख पदमा ६ स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ७ स्थानमा विजय हासिल गरी १६ स्थानमा अग्रता कायम गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै अग्रता

गाउँपालिकाको उपाध्यक्ष पदमा भने कांग्रेसले १६६ स्थानमा जित हासिल गरी २३ स्थानमा अग्रता कायम गर्दा एमालेले १०१ स्थानमा जित हासिल गरी २३ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्ष पदमा ८४ स्थानमा जित र ६ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टीले ११ स्थानामा जित र ६ स्थानमा अग्रता लिइरहँदा अन्य राजनीतिक दल तथा स्वतन्त्रले १९ स्थानमा विजय हासिल गरी ६ स्थानमा अग्रता कायम गरेका छन् ।

काँग्रेसले २२०० वडा अध्यक्ष जित्दा एमालेका १७१६

यस्तै कांग्रेसले अहिलेसम्म २२०० वटा वडामा अध्यक्ष जितेकाे छ ।  ५५ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १७१६ मा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले ९१९ वडाध्यक्ष जित्दै र १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९२ वटा वडामा अध्यक्ष जितेर १२ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल र स्वतन्त्रले ४७० वटा वडामा विजय हासिल गरी १४ स्थानमा अग्रता कायम गरेका छन् ।

कांग्रेसबाट २१६० र एमालेबाट १८६४ महिला सदस्य विजयी

कांग्रेसले २१६० स्थानमा महिला सदस्य जितेकाे छ । ५६ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १८६४ जना महिला सदस्य जितेर ७२ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले ८५६ जना महिला सदस्य जितेर १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९२ जना महिला सदस्य जितेर १४ स्थानमा अग्रता लिएकाे छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रबाट ४२० वडा सदस्य जितेर ८ स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्यतर्फ कांग्रेसले २१०० जना जितेर ६१ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १८४० जना दलित महिला सदस्य जितेकाे छ । उसले ६६ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ८६० जना जित्दा १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९० जना दलित महिला सदस्य जित्दा १४ स्थानमा अग्रता लिएकाे छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ४१० स्थानमा विजय हासिल गरी ५ स्थानमा अग्रता कायम गरेका छन् ।

खुला सदस्यमा कांग्रेसका ४३४३ र एमालेका ३७७०

वडा सदस्य पदमा पनि कांग्रेस नै अगाडि रहेकाे छ । उसले ४३४३ स्थानमा जित हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ । एमालेले ३७७० स्थानमा जित्दा ७५ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले १५९० खुला सदस्य  जितेर १० स्थानमा अग्रता कायम गरेको छ । जसपाले ३८१ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ ।

अन्य राजनीतिक दल तथा स्वतन्त्रले ८७३ स्थानमा विजय हासिल गरी ६ स्थानमा अग्रता कायम गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर