६ महानगरमा एमाले : मेयरमा अग्रता शून्य, उपमेयरमा वर्चश्व – Nepal Press

६ महानगरमा एमाले : मेयरमा अग्रता शून्य, उपमेयरमा वर्चश्व

काठमाडौं । देशका ६ वटै महानगरको मतगणनामा प्रमुख प्रतिपक्षी दल एमाले पछाडि परेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित दुई महानगरपालिकाको मेयर जितेको एमालेले अहिलेसम्म जारी मतगणनामा कतै पनि अग्रता लिन सकेको छैन ।

सबैको चासो रहेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ठूला दलहरूलाई उछिन्दै अगाडि बढिरहेका छन् । एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको दोस्रो स्थानमा संघर्ष छ ।

एमालेको गढका रूपमा रहेका ४ वडाको मतगणना चलिरहँदा स्थापितले अग्रता लिन नसकेपछि एमाले पंति अहिल्यै निराश बन्न थालेको छ ।

देशको राजधानीसमेत रहेको महानगरमा पछि पर्नु एमालेका लागि ठूलो धक्का हो । काठमाडौंको चुनावलाई एमालेले प्रतिष्ठाको विषयका रूपमा लिएको थियो । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहलाई मुख्य चुनौती मानेको भए पनि बालेनको पक्षमा उर्लिएको जनमतले एमाले स्तब्ध बनेको छ । अहिलेको मतान्तर हेर्दा स्थापितले बालेनलाई उछिनेर अघि बढ्न सक्ने सम्भावना न्यून देखिन्छ । यद्यपि, धेरै वडाको मतगणना सुरु नै भएको छैन ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट काठमाडौंमा विद्यासुन्दर शाक्य सहज रूपमा विजयी बनेका थिए । उनले ६४ हजार ९१३ मत ल्याउँदै १९ हजार मतको फराकिलो अन्तरले कांग्रेसका उम्मेदवार जोशीलाई हराएका थिए । एमालेको उक्त जनमतलाई बालेनको खहरले बगाइदिने संकेत देखिएको छ ।

उपमेयरको प्रतिस्पर्धामा भने एमालेको विशाल अग्रता छ । एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा चार गुणा बढी मत पाइरहेकी छन् । यसबाट काठमाडौंमा एमालेको जनाधार भने कमजोर नभएको बुझिन्छ । मेयरमा भने काठमाडौंका मतदाताले एउटा राजनीतिबाहिरको एउटा युवालाई टेस्ट गर्न चाहेका छन् ।

पहिले जितेको अर्को महानगर पोखरामा पनि पनि यसपालि एमालेले प्रारम्भिक मतगणनामा अग्रता लिन सकेको छैन । २०७४ सालको चुनावमा एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई १४ हजार भोटको अन्तरले हराएका थिए । तर, यसपालि सत्तारुढ पाँच दलीय गठबन्धनका कारण एमालेलाई सकस परिरहेको छ ।

पोखरामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले एमालेका कृष्ण थापालाई पछि पारिरहेका छन् । उनीहरुबीच ठूलो अन्तरा भने छैन । पछिल्लो रिपोर्टअनुसार ३ हजार मत गणना हुँदा आचार्यले एक हजार १२१ र थापाले एक हजार ४० मत ल्याएका छन् ।

एमाले र गठबन्धनबिच सबैभन्दा टक्कर चाहिँ भरतपुरमा देखिएको छ । सुरुदेखि नै भरतपुरको मतगणनामा गठबन्धन उम्मेदवार प्रचण्डपुत्री रेनु दाहाल र एमालेका विजय सुबेदीले उछिनपाछिन गरिरहेका छन् । पछिल्लो केही समयदेखि झिनो अन्तरले रेनु अगाडि छन् । यस महानगरमा एमालेको थोरै आशा बाँकी छ ।
अघिल्लो स्थानीय चुनावमा पनि भरतपुरमा एमाले र माओवादीको यस्तै कडा टक्कर परेको थियो । रेनुले हार्ने खतरा देखेपछि माओवादी कार्यकर्ताले मतपत्र नै चपाएर निलिदिएको घटना अहिले पनि चर्चा हुने गर्छ ।

विराटनगर महानगरपालिकामा पनि गठबन्धन उम्मेदवारले लिड गरिरहेका छन् । यस महानगरमा गठबन्धनका उम्मेदवारका रूपमा कांग्रेसका नागेश कोइराला सुरुदेखि एमाले उम्मेदवार सागर थापाभन्दा अगाडि छन् । अघिल्लो स्थानीय चुनावमा पनि यो महानगरमा कांग्रेसले जित हासिल गरेको थियो ।

वीरगञ्ज महानगरपालिकामा पनि गठबन्धनका तर्फबाट उठेका जनता समाजवादी पार्टीका राजेशमान सिंह एमालेका विजयकुमार सरावगीभन्दा निकै अगाडि छन् । सरावगी वीरगञ्ज महानगरका साबिक मेयर हुन् । यसअघिको चुनावमा उनी जनता समाजवादीबाट मेयर निर्वाचित भएका थिए । तर, पार्टीले दुर्व्यवहार गरेको भन्दै एमालेमा प्रवेश गरेका थिए । एमालेले उनैलाई मेयर उम्मेदवार बनाएको थियो । तर, प्रारम्भिक मतगणनामा उनी पछि परेका छन् ।

अर्को, ललितपुर महानगरपालिकामा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन पनि एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा दोब्बर मतले अगाडि छन् । चिरिबाबुले अघिल्लो चुनावमा पनि कांग्रेसबाट मेयर जितेका थिए । त्यसबेला कडा प्रतिस्पर्धामा जित हासिल गरेका उनी यसपालि भने सहज रूपमा अगाडि बढिरहेका छन् ।
समग्रमा हेर्दा ६ वटा महानगरमध्ये दुई वटामा कांग्रेसको लिड छ भने माओवादी, नेकपा एस र जसपाले एक–एक वटामा अग्रता लिएका छन् । एउटामा बालेन शाह छन् ।

उपमेयरमा एमालेको वर्चश्व

उपमेयरको प्रतिस्पर्धा मेयरको भन्दा फरक देखिएको छ । मेयरमा कतै पनि अग्रता लिन नसकेको एमाले उपमेयरमा भने ३ वटा महानगरपालिकामा अगाडि छ ।चितवन र विरगञ्जमा एमालेले उपमेयर अन्य पार्टीलाई छाडेकाे थियाे । एउटा महानगरमा मात्रै एमालेकाे उपमेयर उम्मेदारले अगाडि छैनन् ।

काठमाडौं उपमेयरमा एमालेकी सुनिता डंगोलको जित लगभग निश्चित देखिन्छ । उनको तुलनामा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठ निकै पछाडि परेका छन् ।

ललितपुरमा पनि एमालेकी मञ्जली श्रेष्ठले विशाल अग्रता लिइरहेकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार बाबुराज बज्राचार्य पनि कमजोर देखिएका छन् । मेयरमा कांग्रेसभन्दा निकै पछि रहेको एमाले उपमेयरमा भने प्रतिस्पर्धीभन्दा अघि छ।

ललितपुरकै जस्तो अवस्था विराटनगरमा पनि छ । यहाँ पनि मेयरमा दोस्रो स्थानमा रहेको एमाले उपमेयरमा मतगणनामा अगाडि छ । एमालेकी शिल्पा कार्कीले जसपाका उम्मेदवार अमरेन्द्र यादवलाई पछि पारिरहेकी छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

अन्य तीन महानगरहरू भरतपुर, पोखरा र वीरगञ्जमा भने नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । जुन ठाउँमा कांग्रेसले अन्य दललाई उपमेयर छोडेको छ, त्यहाँ एमाले अगाडि छ भने जहाँ कांग्रेसले मेयर छोडेर उपमेयर लिएको छ, त्यहाँ कांग्रेस अगाडि छ ।

यस्तो ट्रेन्डलाई लिएर सत्तारुढ गठबन्धनका अन्य दलहरूले कांग्रेसबाट घात भएको महसुस गर्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर