बुढीगंगा निर्वाचन : वैशाख ३० मा ९९ प्रतिशत खसेको बुथमा अहिले ७० प्रतिशत मतदान – Nepal Press

बुढीगंगा निर्वाचन : वैशाख ३० मा ९९ प्रतिशत खसेको बुथमा अहिले ७० प्रतिशत मतदान

कैलाली । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाजुराको बुढिगंगा नगरपालिका–४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७ सय ९ मतदाता सङ्ख्या रहेकोमा एक हजार ६ सय ९९ मत खसेकाे थियाे । यो मत प्रतिशत ९९ दशमलव ४१ हो । तर, बिहीबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एक हजार ७ सय ९ मतदाता सङ्ख्या मध्ये १ हजार १९९ जनाले मतदान गरेका छन् । यो करिब ७० प्रतिशत हो ।

वैशाख ३० मा नेपाली कांग्रेसले नियन्त्रणमा लिएको भनिएको यो मतदान स्थल सम्भबत नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदान स्थलमा दुई वटा मतदान केन्द्र रहेका थिए ।

नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार रङ्गबहादुर खातीको मतदान स्थल पनि यही हो । तर अहिले औसत रूपमा अन्यमा र यसका उस्तै रहेको छ । यस पटक उपस्वास्थ्य चौकी बड्तोला क मतदान केन्द्रमा सबै भन्दा धेरै मत खसेको छ । यहाँ ७ सय मतदातामध्ये ६ सय ८३ जनाले मतदान गरे । यो करिब ८१ प्रतिशत हो ।

समग्रमा बुढिगंगामा ६६ दशमलव ८३ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठयताले जानकारी दिए । उनले समग्रमा शान्तिपूर्ण रूपमा मतदान भएको दाबी गरे । उनका अनुसार आजैबाट मतगणना हुने छ ।

‘सबै मतपेटिका आइसकेको छ । सर्वदलीय बैठक बसेपछि आजैबाट मतगणना हुन्छ’ उनले नेपाल प्रेसलाई भने । वडा नम्बर ५मा रहेको भानुदय माविमा मतगणना हुने उनले जानकारी दिए ।

अघिल्लो पटक विवाद भएपछि निर्वाचन आयोगले  बिहीबारका लागि पुन मतदान गर्ने निर्णय गरेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामवहादुर बानिया र उपप्रमुखमा मायाकुमारी खड्का चुनावी मैदानमा छन् ।

गठबन्धनबाट रङ्गबहादुर खाती प्रमुखमा र रिता शाही उपप्रमुखका उम्मेदवार हुन् । ९ पालिका रहेको बाजुरामा यस अघि ५ पालिकामा एमाले र ३ मा कांग्रेसले जितिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर