गृहमन्त्रीकै क्षेत्रमा एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण – Nepal Press

गृहमन्त्रीकै क्षेत्रमा एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको पालिका रहेको रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुलीका सन्जीव भण्डारी र सागर रेग्मी घाइते भएका छन् ।

आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ भने रेग्मीको अवस्था सामान्य छ । सोमबार राति स्थानीय कांग्रेस कार्यकर्ता सन्जीव भुसाल, प्रविन खड्का, इश्वर केसी, लक्ष्मण राना लगायत ७–८ जनाको संख्यामा राति साढे ११ बजेतिर आएका कांग्रेस कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका हुन् ।

आक्रमण गर्ने भुसाल कांग्रेसका वडाअध्यक्षका उम्मेदवार झविलाल भुसालका छोरा हुन् । घाइते भण्डारीको अहिले क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको छ ।

इलाका प्रहरी कार्यालय मंगलापुरले घटना भएको स्वीकार गर्दै यस विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले घटनाका विषयमा मंगलापुर प्रहरीमा उजुरी लिन नमिल्ने भएकाले उजुरीका लागि बुटवल जान आग्रह गरिएको बताए । उनले कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता पिटिएको स्वीकार गर्दै यस विषयमा अनुसन्धानपछि मात्र विस्तृत थाहा हुने बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आफू बाहिर भएकाले यसबारेमा बुझ्न नपाएको बताए । अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।

एमाले निर्वाचन परिचालन कमिटीका संयोजक वासुदेव घिमिरेले पराजयको डरले काँग्रेस कार्यकर्ता आक्रमणमा उत्रिन थालेको बताए । दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन एमालेले चाहेको भन्दै आक्रमणका घटना रोक्न आग्रह गरे ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका मेयरका उम्मेदवार रामकृष्ण खाण भने सम्पर्कमा आउन चाहेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर