भोजपुरमा गठबन्धनबीच भागबण्डाका लागि ६ बुँदे मापदण्ड, कहाँ कसको दाबी ? – Nepal Press

भोजपुरमा गठबन्धनबीच भागबण्डाका लागि ६ बुँदे मापदण्ड, कहाँ कसको दाबी ?

भोजपुर । जिल्लाका ८१ वटै वडामा तालमेल गरेर जाने निर्णय गरेका सत्तारुढ गठबन्धनले स्थानीय चुनावको ९ बुँदे कार्यविधि र सिट बाँडफाँटसम्बन्धी ६ बुँदे सहमति गरेका छन् ।

भोजपुर सदरमुकाममा आज बसेको बैठकमा भएको सहमति र कार्यविधिलाई भने नेताहरूले गोप्य राखेका छन् ।

बैठकमा कांग्रेसबाट विनोद बान्तवा, नन्दमणी राई र सफल किरात, माओवादीबाट अजम्बर काङमाङ, सुदन किराती र विमल खड्का,
नेकपा एसबाट रमेश शाक्य, वीरजंग राई र ममिता राई जसपाबाट रामसिंह राई,आशकुमार राई र प्रसन्न राई उपस्थित थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनबीच तल्लो तहसम्म तालमेल गर्ने पुनस् प्रतिबद्धता जनाइएको छ । यदि गठबन्धनभित्र तालमेल नभए अन्य दल (विशेषगरी) एमालेसँग पनि गर्न नपाउने र गरेमा सम्बन्धित पार्टीले तत्काल कारबाही गर्ने कार्यविधि बनाइएको छ ।

चुनावी अभियान लिएर घरदैलो गर्दा संयुक्त घोषणा पत्र बनाएर जान पनि दलहरू सहमत भएका छन् ।

आजको बैठकमा सिट बाँडफाँटसम्बन्धी पनि छलफल भएको एक नेताले बताएका छन् । यद्यपि, कहाँ कसलाई दिने भन्ने भोलिसम्म टुंग्याउने गरी गृहकार्य थाल्ने निर्णय गरिएको छ ।

‘अघिल्लो निर्वाचनको मतभारलाई हेरेर सिट बाँडफाँट गर्ने । साथै प्रमुख उपप्रमुखमा फरक-फरक दलबाट फरक लिंगीलाई अघि सारिनुपर्ने पनि सहमति गरिएको छ ।’

बैठकमा सहभागी कांग्रेसका एक नेताले नेकपा एसलाई र जसपालाई सम्मान गरेर भागबण्डा गर्नेबारे बैठकमा छलफल भएको जानकारी दिए । एमालेले जितेका केही पालिका र वडामा नेकपा एसले दाबी गरेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार २०७४ मा जितेका स्थानीय तहसहित थपमा कांग्रेस र माओवादीको प्रस्ताव छ । २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको भोजपुरमा गत चुनावमा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिका कांग्रेसले जितेको थियो । यो सबैमा कांग्रेसको दाबी छ ।

आमचोक गाउँपालिका प्रमुख र रामप्रसादराई गाउँपालिका उपप्रमुख माओवादीले जितेको थियो । स्रोतका अनुसार पहिला जितेको आमचोक गाउँपालिका प्रमुख र माओवादी नेता सांसद सुदन किरातीको गृहपालिकासमेत रहेको रामप्रसादराईमा माओवादीको दाबी छ ।

नेकपा एमालेले टेम्केमैयुङ, हतुवागढीमा प्रमुख-उपप्रमुख दुवै साथै पौवादुङ्मामा प्रमुख जितेको थियो । टेम्केमैयुङकी उपाध्यक्ष र भोजपुर नगरपालिका उपमेयर ममिता राई नेकपा एसमा प्रवेश गरेका छन् । उपाध्यक्ष जयन्ती राईको गृहपालिका भएकाले पनि टेम्केमैयुङमा नेकपा एसले आफूलाई प्रमुख दाबेदारको रुपमा अघि सार्ने मनस्थितिमा रहेको बताइएको छ । २०७४ मा एमाले उम्मेदवार ध्रुव राईविरुद्धको गठबन्धनमा तत्कालीन संघीय समाजवादीबाट रामसिंह राईलाई उठाइएको थियो । यसपालि उनी अहिले जसपा केन्द्रीय सदस्य छन् । उनलाई नै दोहोर्‍याउने गरी जसपाले दाबी गरेकाे छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङले ‘४ क’ को सिद्धान्तको आधारमा सिट बाँडफाँटको मापदण्ड तय गरिएको नेपाल प्रेसलाई बताए ।

‘कतिकति, क-कसलाई, कहाँकहाँ र कोको भनेर आ-आफ्नो दलमा गृहकार्य गरिनेछ । त्यसको आधारमा आएको प्रस्तावअनुरूप सम्बन्धित दल र संयन्त्रले टुंग्याउनेछन्’, काङमाङले भने ।

९ बुँदे कार्यविधिमा उच्च गोपनीयता कायम गर्ने, गठबन्धनभित्र मात्र गठबन्धन गर्ने अन्यसँग गरे कारबाही गर्ने, एक-अर्कामा गालीगलौज गर्न नपाइने, गाउँपालिका-नगरपालिकामा उम्मेदवार तयार गरिसकेपछि वडा अध्यक्षदेखि वडा सदस्यहरूसम्म आवश्यककता र औचित्यको आधारमा अनिवार्य गठबन्धन गर्ने निर्णय भएको छ ।

त्यस्तै मेयर र उपमेयर , अध्यक्ष, उपाध्यक्ष आ–आफ्नो चुनाव चिह्नमा लड्ने तर वडामा जुन पार्टीले अध्यक्ष पद प्राप्त गर्छ त्यही पार्टीको चिह्नमा लड्ने (यसका लागि लिखित राजनीतिक सहमति गर्ने), बागी विद्रोही, अन्तर्घात गरे सम्बन्धित पार्टी जिम्मेवार हुनुपर्ने, वडातहसम्म संयुक्त निर्वाचन परिचालन समिति गठन गर्ने पनि सहमति भएको छ ।

सिट बाँडफाँटका लागि जित र कार्यकुशल, अघिल्लो चुनावको परिणाम, पाँच वर्षको संगठनको प्रगति, उम्मेदवारको लोकप्रियता, उम्मेदवारको व्यक्तित्वको आधार र गठबन्धनभित्रको दलहरूको सहभागिताको आधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर