सरकार विस्तार गर्न नसकेकोमा माओवादी सचेतकले गरे मुख्यमन्त्रीको आलोचना – Nepal Press
कर्णाली प्रदेश

सरकार विस्तार गर्न नसकेकोमा माओवादी सचेतकले गरे मुख्यमन्त्रीको आलोचना

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले सरकार विस्तार गर्न नसकेको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीको आलोचना गरेका छन् ।

आजदेखि सुरू प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा उनले माओवादीकै समर्थनमा बनेको सरकारको आलोचना गरेका हुन् । ‘हामीले पहिले प्रदेशको नामाकरण गर्‍यौं । राजधानी तोक्यौं ’, उनले भने, ‘अहिले तीन महिनासम्म सरकारलाई पूर्णता दिन सकिएको छैन । यो पनि देशभरमै रकेर्ड भएकाले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाऔं ।’

माओवादी केन्द्रले चार मन्त्रालय मागिरहेको सन्दर्भमा उनले दिएको आजको अभिव्यक्तिले सत्तारुढ गठबन्धनभित्रको चरम असन्तुष्टिको पुष्टि गरेको छ ।

‘यहाँ नोकरशाही तन्त्र हाबी भएको छ । सरकारले पूर्णता पाउन सकेको छैन । सरकारका प्रमुख मन्त्री परिषदलाई पूर्णता दिन तात्नुपर्छ । अहिले सरकार परिवारजस्तै भएको छ । यसलाई सरकारको रूपमा विस्तार गरेर जनतालाई विकास निर्माण तथा अन्य सरोकारवाला कामका बारेमा विश्वस्त तुल्याउन सक्नुपर्छ ।’ सचेतक विष्टले भने, ‘यदि म मुख्यमन्त्री हुन्थेँ भने सके सरकारलाई पूर्णता दिइसक्थेँ नसके म मार्ग प्रशस्त गरिदिन्थेँ ।’

महिनौंसम्म मन्त्रिपरिषद् विस्तार नभएका कारण व्यवस्थामाथि नै प्रश्न उठेको भन्दै विष्टले तत्काल एक्सन लिन मुख्यमन्त्री शाहीलाई सुझाए ।
कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसको गठबन्धन सरकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर