चुनावपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा – Nepal Press

चुनावपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने भएको छ ।

आफ्नो प्रतिवेदनमा उठेका सवालको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ठोस विचारको विकास गर्न आगामी चुनावलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गरे ।

‘प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूका तर्फबाट उठेका जिज्ञासा तथा सुझाव तथा छुटेका पक्षहरूलाई समेटेर पूर्णता दिएर ठोस विचारको विकास गर्न महाधिवेशन आयोजना गरिनेछ’, उनले भने ।

विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान र बहस आवश्यक भएको र यो महाधिवेशनको प्रतिवेदनमार्फत त्यसको सुरूआत गरेको प्रचण्डको भनाइ छ ।

अहिलेको राजनीतिक प्रतिवेदनलाई  पूर्णदस्तावेजका रूपमा नबुझ्न उनको आग्रह थियो ।

‘यो प्रतिवेदन धर्मशास्त्र होइन, ग्रेट डिवेट हो । क्रान्तिकारी विचार विकास गर्ने ऐतिहासिक पहल हो । हामी जादुगर होइनौं, विज्ञानमा विश्वास गर्ने कम्युनिष्ट हौं । मार्क्सलाई भेटेर, बहस गरेर मार्क्सवाद बुझेको होइन किताव पढेर बुझेको हो’, प्रचण्डले भने, ‘वैज्ञानिकसँग छलफल गरेर हामीले विज्ञान बुझेका होइनौं, किताव पढेर र व्यवहारमा लागू गरेर बुझेका हौं, विचारको विकास गर्न अझ धेरै अध्ययन, बहस, चिन्तन, मनन र व्यवहारिक प्रयोग गर्न पुगेको छैन । अहिले हामी चुनावमा जाँदैछौं । चुनावलगत्तै विशेष महाधिवेशन गरेर विचारको विकासलाई सापेक्षित पूर्णता दिन पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर