सदरमुकामबाटै उपल्लो डोल्पाको सुरक्षाः हिमपातका कारण खोप कार्यक्रम प्रभावित – Nepal Press

सदरमुकामबाटै उपल्लो डोल्पाको सुरक्षाः हिमपातका कारण खोप कार्यक्रम प्रभावित

जाजरकोट । पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन अवस्थामा पुगेको छ । उपल्लो डोल्पाका तीन वटा पालिकामा रहेका प्रहरीचौकी ज्यान जोगाउने भन्दै सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो ।

सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । ‘प्रहरीचौकी रहेका घर रित्ता छन् । प्रहरी सदरमुकाम दुनै आइसकेका छन्’, दुनैका प्रेमा गुरुङले भने। शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा सुरक्षाका हिसाबले जोखिममा परेको छ ।

जिल्लामा सबैभन्दा बढी चोरी, निकासी तथा पैठारी हुने ठाउँमध्येमा उपल्लो डोल्पा पर्दछ । बहुमूल्य जडीबुटी, जङ्गली जनावर तथा पुराना बुद्धका मूर्ति चोरी हुनेक्रम रोकिएको छैन । प्रहरी चौकी नै नभएपछि झन् चोरी गर्नेको मनोबल बढ्ने पक्का भएको छ । तीन पालिकामा २१ वडा प्रहरीविहीन छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार छार्का ताङसुङ गाउँपालिकाको कागकोट प्रहरीचौकी र शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीको प्रहरी उपल्लो डोल्पामा रहेका छन् ।

अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डोल्पाका प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे–फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरीचौकीका प्रहरी जिल्लामा गाभिएका छन् ।

डोल्पा सबैभन्दा ठूलो जिल्ला हो । स्थानीय तहको सहयोग पाएको भए प्रहरीचौकी उपल्लो डोल्पामै राख्ने सकिने डिएसपी थापाले बताए । ‘अहिले पनि सहयोग त पाइएको छ, अझै यो भन्दाबढी सहयोगको अपेक्षा हामीले गरेका थियौँ’, उनले भने । उपल्लो डोल्पामा बस्नका लागि अहिलेका समयमा लत्ताकपडादेखि चश्मा, बुट चाहिने गर्दछ जो प्रहरीसँग अहिले छैन उहाँको भनाइ छ । अहिले उपल्लो डोल्पामा भारी हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जानसक्ने अवस्था नरहेको उनले भने।

हिमपातले रोकियो कोभिड र नियमित खोप

उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्ध लगाउने खोपसमेत रोकिएको छ । मङ्सिरदेखि चैतसम्म खोप बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

त्यस्तै बर्थिङ सेन्टरसमेत बन्द हुँदा यहाँ घरमै सुत्केरी हुने गरेको पाइएको छ । तीन पालिकामा बर्थिङ सेन्टरसमेत नरहेको उनले बताए। सबै उपल्लो डोल्पाका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुने गरेको शाहीले जानकारी दिए । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर