देउवाको पक्षमा उभिँदै प्रकाशमानले भनेः पार्टीमा सुधार ल्याउने वचन दिनुभएको छ – Nepal Press

देउवाको पक्षमा उभिँदै प्रकाशमानले भनेः पार्टीमा सुधार ल्याउने वचन दिनुभएको छ

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका एक नेता प्रकाशमान सिंह अन्ततः पार्टी सभापतिमा शेरबहादुर देउवाकै पक्षमा उभिएका छन् । पहिलो चुनावमा आफू पराजित भएपछि दोस्रो चरणमा उनले देउवालाई समर्थन गर्ने भएका हुन् ।

प्रकाशमानको समर्थन माग्न देउवा आज बिहानै उनको निवास चाक्सीवारी पुगेका थिए । दुई नेताबीच कुराकानीपछि सिंहले देउवालाई समर्थन गर्ने सहमति भयो, जसले संस्थापन इतर पक्षलाई निराश तुल्याएको छ ।

देउवासँग सहमति भएपछि सिंहले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका थिए । देउवाले पार्टीमा सुधार ल्याउने प्रतिवद्धता जनाएको र महाधिवेशन प्रतिनिधिहरुको झुकाव पनि देउवातर्फ नै देखिएको उनले तर्क गरे ।
आफ्नो प्यानलकी उपसभापति उम्मेदवार सुजाता कोइरालासमेतको उपस्थितिमा सिंहले पत्रकारसँग यसो भनेः

‘चुनाव दोस्रो राउन्डमा जाने भयो । हामीले कांग्रेसमा नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर महाधिवेशनमा भाग लिएका हौं । तर अहिले देशभरिकै अधिकांश महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवाजीप्रति स्वीकार्यता देखाएका छन् ।

देउवाले मलाई यसपाली हेल्प गर्नुस भन्नुभयो । पार्टीको विधान संशोधनका कुराहरुदेखि कमिकमजोरी सच्याउने विषयमा उहाँले प्रतिवद्धता जनाउनुभएको छ । सबै कुरामा सल्लाह गरेर अघि बढ्ने वर्ड दिनुभएको छ ।

दोस्रो चरणको चुनावमा हामीले पार्टीका महाधिवेशन प्रतिनिधहरुको मतलाई समेत आत्मसात गर्दै पार्टीभित्र सुधार ल्याउने र कार्यशैली परिवर्तन गर्ने सहमतिका आधारमा उहाँलाई समर्थन गर्ने निर्णय गरेका छौं ।’

सहमतिपछि देउवाले सिंहको सदासयताका लागि आभार व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर