नेपाललाई विश्वकप खेलाएका पुबुदु राष्ट्रिय टोलीको प्रशिक्षकमा पुन: नियुक्त – Nepal Press

नेपाललाई विश्वकप खेलाएका पुबुदु राष्ट्रिय टोलीको प्रशिक्षकमा पुन: नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकन पुबुदु दसानायकेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार बिहान बसेको क्यान बोर्ड बैठकले यसअघि पनि नेपाली टोलीको नेतृत्व गरिसकेका पुबुदुलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

श्रीलंकाली पूर्व विकेटकिपर ब्याट्सम्यान पुबुदको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी-२० क्रिकेट विश्वकप खेलेको थियो । ट्वान्टी-२० विश्वकप क्रिकेटमा त्यो नै नेपालको पहिलो र अन्तिम सहभागिता थियो ।

पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखी २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पुबुदुले भैरहवा ग्ल्याडियटर्सलाई प्रशिक्षण दिएका थिए ।

भदौमा तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले अचानक राजीनामा दिएपछि नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षकको पद रिक्त थियो । क्यानले कात्तिक एकमा मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । र, त्यसका लागि ६० जनाले आवेदन प्रस्तुत गरेका थिए ।

क्यानले राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक छान्न कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रवन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र आईसीसीका एक प्रतिनिधी रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो ।

६० जना आवेदकमध्येबाट सर्टलिस्टमा परेका पाँच जनाले अन्तरवार्ता दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *