कांग्रेस पदाधिकारीमा लुम्बिनीबाट आधा दर्जनभन्दा बढी आकांक्षी, सदस्यमा दाबेदारको लर्को – Nepal Press

कांग्रेस पदाधिकारीमा लुम्बिनीबाट आधा दर्जनभन्दा बढी आकांक्षी, सदस्यमा दाबेदारको लर्को

रुपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै लुम्बिनी प्रदेशबाट पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरुले आफ्नो दाबी पेश गर्न थालेका छन् ।

वडादेखि प्रदेश तहका सबै निर्वाचनमा संस्थापन र संस्थापनइतर समूह बनेर निर्वाचनमा गएका दुवै समूहबाट पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि नेताहरुले लबिङ थालेका छन् ।

लुम्बिनीबाट महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाँण अगाडि सर्ने उनीनिकट नेताहरुले बताएका छन् । संस्थापन समूहका प्रभावशाली नेता खाँण सभापति शेरबहादुर देउवाका विश्वास पात्र भएकाले पनि योपटक पदाधिकारीमा उनले उम्मेदवारी सजिलै पाउने आंकलन उनीनिकट नेताहरुले गरेका छन् ।

उक्त समूहमा नवलपरासीबाट केन्द्रमा पुगेका पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल सहमहामन्त्री र महिला र दलितको प्रतिनिधित्व हुनुपर्ने बताउँदै अर्घाखाँचीका पुष्पा भुसाल तथा मानबहादुर विक पनि पदाधिकारीमा जान चाहेका छन् । उनीहरु दुवैले आफूनिकटका नेताहरुलाई पदाधिकारीका लागि लबिङ गरिरहेका छन् । त्यसैगरी बर्दियाका प्रभावशाली नेता किशोरसिंह राठौर पनि १४ महाधिवेशनमा पदाधिकारीका लागि अगाडि बढेका छन् ।

संस्थापन समूहबाट कपिलवस्तुका दीपकुमार उपाध्याय र वीरेन्द्र कनौडिया, रुपन्देहीका अब्दुल रज्जाक, दाङका डिल्ली चौधरी, बाँकेका सुरेन्द्र हमाललगायतका नेताहरु केन्द्रीय समितिमा लड्ने तयारीमा छन् ।

लुम्बिनीबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नजिकको सम्बन्ध बनाएका नेता चन्द्र भण्डारीले उपसभापतिमा आफ्नो उम्मेदारी घोषणा गरिसकेका छन् । ‘पार्टीमा आफ्नो लगानीका हिसाबले सभापतिको उम्मेदवार हुनुपर्ने हो तर केही अग्रज नेताहरु आकांक्षी भएकाले यसपटक उपसभापतिमा जाने हो’, नेता भण्डारीले भने ।

त्यसैगरी सोही समूहबाट सहमहामन्त्रीमा दाङ्गका दिपक गिरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यो समूहबाट बर्दियामा एमाले नेता वामदेव गौतमलाई हराएर चर्चामा आएका संजय गौतम, बाँकेमा सभापति बनेकी नेता शुशील कोइरालाकी भाइबुहारी किरण कोइराला, पाल्पाका पूर्वसभापति तथा लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर राना, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्युठानका डा. गोविन्द पोखरेललगायतका नेताहरुले केन्द्रीय समितिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर