प्रचण्डलाई व्यंग्य गर्दै सूर्य थापाले भने– एकजनाले आफ्नो कद आफैं घटाइरहेछन् – Nepal Press

प्रचण्डलाई व्यंग्य गर्दै सूर्य थापाले भने– एकजनाले आफ्नो कद आफैं घटाइरहेछन्

चितवन । एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीको १०औं महाधिवेशनबाट देश नै खुशी बन्दा एक जनामात्रै बेखुशी बनेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

भरतपुरमा प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘मैले नाम लिन चाहिनँ । छटपटिएका छन्, हाम्रो घोषणादेखिनै छटपटिएका छन्, मलाई, मेरो छोरीलाई समाप्त पार्न टार्गेट गर्न, घेराबन्दी गर्न भनेर कराएको सुन्छु, ती जनप्रनिधि पनि हुन्, दुःखका साथ भन्नुपर्छ हाम्रो मतले नै निर्वाचित भएका हुन् । त्यो उचाईको नेताले त्यसो नगरिदिएको भए हुन्थ्यो ।’

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्री प्रचण्ड एमाले महाधिवेशनमा शुभकामनासमेत नदिएर आफ्नो कद घटाएको थापाको टिप्पणी छ । ‘हाम्रो महाधिवेशनबाट बेखुशी कोही छैनन्, जनसमुदाय खुशी छन्, चितवनका व्यवसायी खुशी छन्, चितवनका सबै क्षेत्र खुशी छन्, देश खुशी छ,’ उनले भने, ‘तर एक जना मान्छे अलि बेखुशी छन्। एमालेको महाधिवेशनलाई शुभकामना दिएको भए उहाँको कद बढ्थ्यो । आफ्नो कद आफै घटाउने, आँफैलाई नहोच्याएको भए हुन्थ्यो ।’

उनले चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सानदार रुपमा सफल भएको दाबी गरे । ‘यति सानदार महाधिवेशन नेपालका अन्य राजनीतिक दलहरुले सक्ने छैनन्,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर