शिक्षकले राजनीति गर्न नपाए पार्टी सिस्टम कमजोर हुन्छ : प्रचण्ड (भिडिओ) – Nepal Press

शिक्षकले राजनीति गर्न नपाए पार्टी सिस्टम कमजोर हुन्छ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले राजनीति गर्न हुँदैन भन्ने मान्यता गलत भएको बताएका छन् । शिक्षकले राजनीति गर्न नपाएको खण्डमा पार्टी सिस्टम नै कमजोर हुने उनको तर्क छ ।

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय परिषदलाई सम्वोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले भने, ‘शिक्षकले राजनीति गर्नु हुन्छ कि हुँदैन भन्ने कानूनी र संवैधानिक प्रश्न जस्तो बनाइएको छ । तर, नेपालमा जति पनि पार्टीहरु छन्, सबै शिक्षकहरुकै योगदानका कारण छन् । राजनीतिक दलका योजना र कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै हुन् । त्यसैले शिक्षकले राजनीत गर्न हुन्न भन्नु पार्टी सिस्टम नै कमजोर पार्ने कुरा हो ।’

प्रचण्डले शिक्षकहरु अझै सक्रियतापूर्वक सामाजिक र राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेमा जोड दिए । शिक्षकहरुलाई राज्यले सबैभन्दा बढी सेवा–सुविधा र सम्मान दिनुपर्ने भएतापनि नेपालमा ठिक उल्टो अवस्था रहेको उनले बताए ।
राज्यले यसरी अन्याय गरेकाले नै शिक्षकहरु क्रान्तिकारी बनेको उनले तर्क गरे ।

‘राज्यले अन्याय गरेकाले नै शिक्षकहरु क्रान्तिकारी भएका हुन् । अमेरिकामा जस्तो शिक्षक भएको भए केको आन्दोलनकारी हुने ?’ प्रचण्डले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर