प्रकाशमानले त्यागे पौडेल समूह, आफ्नै प्यानल बनाउने तयारी – Nepal Press

प्रकाशमानले त्यागे पौडेल समूह, आफ्नै प्यानल बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह त्यागेका छन् । आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महाधिवेशन तयारीमा केन्द्रीय हुने भन्दै पौडेलले बोलाएको बैठक बहिस्कार गर्ने भएका छन् ।

वरिष्ठ नेता पौडेलले आज संस्थापनइतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ बजे हुने बैठकमा आफू नआउने सन्देश सिंहले पौडेललाई पठाइसकेका छन् ।

पछिल्लो समय पौडेल र सिंहका बीच दूरी बढ्दै गएको अवस्था छ । १३ औं महाधिवेशनमा पौडेल सभापति लड्दा सिंह प्रस्तावक रहेका थिए । १३ औं महाधिवेशनमा आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको सिंहको गुनासो छ । यसअघि पौडेल पक्षको बैठकमा नियमित सहभागी हुने सिंहले यही कारण आजको बैठक बहिस्कार गर्न लागेका हुन् ।

‘प्रतिकुल अवस्थामा प्रकाशमानको साथ चाहिने तर प्रकाशमानलाई कहिल्यै सहयोग गर्न नपर्ने ? सभापतिमा प्रकाशमानलाई स्वीकार नगर्ने हो भने बैठकको अर्थ छैन’ सिंहनिकट एक नेताले नेपाल प्रेससँग भने । ती नेताका अनुसार संस्थापन इतर समूहबाट सहयोग नभएपनि सभापतिमा चुनाव लड्ने मनिस्थितिमा सिंह पुगिसकेका छन् ।

पछिल्ला केही सार्वजनिक कार्यक्रमहरुमा सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल दुवैले पार्टी हाँक्न नसक्ने बताउँदै आएका छन् । ‘अब महाधिवेशमा प्रकाशमान दाईको आफ्नै टिम बन्छ’, सिंहनिकट नेताको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर