साधना महिला विद्यालयः जहाँ १२५ आमा-हजुरआमा अध्ययन गर्छन् – Nepal Press

साधना महिला विद्यालयः जहाँ १२५ आमा-हजुरआमा अध्ययन गर्छन्

रुपन्देही । विद्यालय उमेर समूहमा शिक्षाबाट बञ्चित आमाहरूको शैक्षिक भर्‍याङ बनेको छ, बुटवलको साधना महिला विद्यालय । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षा पूरा गरौं’ भन्ने उद्देश्यका साथ २०६३ सालमा ६ कक्षाबाट अध्यापन शुरु भएको यो विद्यालयबाट एक सयभन्दा धेरै आमाहरुले एसईई पूरा गरिसकेका छन् ।

आफ्नो पढ्ने उमेरमा पढ्न नपाएका हजुरआमा र आमाहरूले धेरै प्रेरणा लिएको यो विद्यालय गुठीबाट शुरु भए पनि अहिले सामुदायिक बनेको छ । पाको उमेरमा सिकाइमा हुने कठिनाइबीच आमाहरुले पढाइमा दिएको मेहनतले आनन्द लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावित्रा अर्याल बताउँछिन् ।

विवाहित महिलालाई विद्यालयमा ल्याइ औपचारिक रुपमा शिक्षा दिने आँट गरेर बुटवलमा २७ जना शिक्षाप्रेमी महिलाहरुलाई संगठित गरी अर्यालले बुटवल उपमहानगरपालिका वडानम्बर ६ मा विद्यालयमा स्थापना गरेकी हुन् ।

कक्षा ६ देखि १० सम्म गुठी विद्यालयको रुपमा स्थापना भएको यो विद्यालयमा २०६९ सालदेखि कक्षा १ देखि ५ सम्म कक्षा सुरु गरिएको थियो । विद्यालयमा अहिले २ सय ५० जना आमाले अध्ययन गर्दै आएका छन् । विद्यालय शिक्षा लिएका तर, विभिन्न कारणले औपचारिक रुपमा शिक्षा पूरा गर्न नसकेका तथा पढ्नै नपाएका महिलाहरूले यो विद्यालयमा पढ्ने गरेको प्रधानाध्यापक विष्णु गौतम घिमिरेले बताइन् ।

‘सूचना प्रविधिको विकाससँगै आमाहरुले पढाइलाई महत्व दिएका छन्’ प्रअ गौतम भन्छिन् । सानो उमेरमा पढ्न नपाएका महिलाहरुलाई अध्ययन गराउने उद्देश्यले स्थापना भएको यो विद्यालयमा ७० वर्षसम्मका आमाहरुले अध्ययान गर्दै आएका छन् ।

शिक्षा र आर्थिक कारणले महिला पछि परेको आफूले अनुभव गरेर यस प्रकारको विद्यालय संचालन गर्ने योजना बनाएको अध्यक्ष सावित्रा अर्याल बताउँछिन् । काठमाडौंको प्रेरणा महिला विद्यालयबाट प्रेरणा लिएर यो क्षेत्रमा पनि संचालन गर्न सकिन्छ भन्ने आँट आएको उनी सुनाउँछिन् । सानो उमेरमा पढ्न नपाएकाहरुको अधुरो शिक्षा पूरा गर्न यसले ठूलो सहयोग गरेको उनको भनाइ छ ।

विद्यालय दर्ता गर्ने समयमा ‘आमाहरुलाई बुढेसकालमा के पढाउनु ? शिक्षा नियामावलीले दिँदैन’ भनेर शिक्षाका अधिकारीले भनेको कुरा सम्झँदै अध्यक्ष अर्याल भन्छिन्– अहिले यहाँ पढेका महिलाहरुका सफलताका कथा सुन्दा आनन्द लाग्छ, शुरुमा निकै दुःख भयो गुठीबाट चलाउन अहिले सामुदायिक बनेपछि धेरै सहज भएको छ, अहिलेसम्म १० कक्षासम्म भएपनि अब १२ कक्षासम्म चलाउने योजना बनाएका छौं, अहिले पनि धेरै महिला पढ्नका लागि तयार हुनुभएको छ ।’

‘छोरीलाई पढाउन हुन्न भन्ने समाजमा हामीले आमा पढाउने महत्कांक्षी योजना लिएरै विद्यालय सञ्चालनमा ल्याएका हौ’ अर्यालले भनिन्, ‘आमाहरुले पढ्छन् भन्दा सबैले अचम्म मानेका थिए, हाँसोको पात्र बनाएका थिए तर अहिले यसको सफलताले आनन्द लाग्छ ।’

सुरुका १० वर्ष संचालनका लागि निकै दुःख भएको समयमा तलब र घरभाडा व्यवस्थापन गर्न समस्या भएको स्मरण गर्दै अर्याल भन्छिन्, ‘गुठीबाट सामुदायिकमा गएपछि धेरै सहज भएको छ, बुटवल उपमहानगरलगायत क्षेत्रबाट पनि सहयोग नियमित भएको छ, १२ शिक्षक, १ कार्यालय सहयोगी रहे पनि दरबन्दी २ जनाको भएकाले अन्य शिक्षकलाई निजीबाट तलब खलाउनुपरेको छ ।’

अहिले विद्यालयको आफ्नै १४ धुर जग्गा र १३ वटा कोठा रहेको भवनसहितका संरचना तयार छन् । विद्यालयमा भवन थप गर्न आवश्यक जग्गा छैन । भएका भवनमा तला थप गर्ने अहिले विद्यालयको योजना छ । १३ कोठा विद्यालय भवन यसै क्षेत्रका सांसद तथा अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले संसद विकास कोषबाट दिएको बजेट, चन्दा दाता नगरपालिका, तत्कालीन जिल्ला विकास समिति, शिक्षा कार्यालय सबैको पहलमा १ करोड बढी खर्च गरेर बनाइएको अर्यातलले बताइन् ।

‘यहाँबाट लुम्बिनी प्रदेशका दुई सांसद कमला बिक र रमा घर्तीले एसईई पूरा गर्नुभएको छ, रमा ज्ञवाली ब्याचलर पूरा गरेर निमावि शिक्षक बन्नुभयो, यहाँबाट पास भएका धेरै महिलाहरु कलेज पढ्दै, स्टाप नर्स पढ्दै हुनुहुन्छ अहिले पनि स्थानीय तहका ५ जना जनप्रतिनिधिले पढिरहनुभएको छ, यो विवरण सुनाउँदा स्थापनाकालका सबै दुःख बिर्साउँछ’, अर्यालले भनिन् ।

विद्यालयका लागि बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष २ लाख रुपैयाँ आर्थिक सहयोग गर्र्दै आएको छ । शिक्षा मन्त्रालयबाट धार्मिक तथा फरक खालको विद्यार्थी शीर्षकमा वार्षिक १२ लाख रुपैयाँ बढी आउने गर्छ ।

‘हामीले जति पनि शिक्षक राखेका छौं, उहाँहरुलाई सरकारी तलव स्केल दिन सकिएको छैन, न्यूनतम दिएरै राखेका छौं’ विद्यालयकी प्राचार्य विष्णु गौतमले भनिन् । गौतमले आमाहरुलाई पढाउनमा गाह्रो नभए पनि बुझाउन समस्या हुुने उनको अनुभव छ ।

‘ढिलो बुझ्नुुहुन्छ । बुुझेपछि फेरि भुल्नुहुन्न, केटाकेटीलाई भन्दा पढाउन त सजिलो हुन्छ । गणित र अंग्रेजी बुुझाउन बढी समस्या हुन्छ’, उनले भनिन् ।

भर्ना भएका सबै विद्यालयमा आउँदैनन् । नियमित विद्यालय आउने आमाहरुले यहाँका शिक्षकहरुलाई एकछिन ढिला गरे बोलाउन गइहाल्छन् । ‘हामीले कति काम छोडेर सिक्न आएका छौं, छिटो आउनु भन्दै बोलाउनुहुन्छ, समय खेर जान दिनुहुन्न तर सबै जना नियमित आउन सक्नुहुन्न’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर