लेनदेन रिसइबीको बदला लिन अपहरण, कपिलवस्तुबाट बुटवलको होटलमा लुकाउने पक्राउ – Nepal Press

लेनदेन रिसइबीको बदला लिन अपहरण, कपिलवस्तुबाट बुटवलको होटलमा लुकाउने पक्राउ

रुपन्देही । लेनदेनसम्बन्धी विवादमा रिसइबीको बदला लिन एक जनालाई अपहरण गरिएको छ ।

घटना विवरणअनुसार वैशाख १२ गते बिहान करिब १० बजे कपिलवस्तु नगरपालिका वडा नं ३ मालपारा टोल बस्ने ३७ वर्षीय विनीत मिश्रलाई  घरबाट तौलिहवा बजार गएको बेला वडा नं १ को मख्खन स्वीट होटल अगाडिबाट नम्बर छोपिएको रातो कलरको सानो कारमा राखेर अपहरण गरिएको थियो ।

मिश्रका आफन्तले प्रहरीलाई सूचना दिएपछि प्रहरी उपरीक्षक नवरत्न पौडेलको कमाण्ड र इप्रका पिपराका निरीक्षक गोपाल रायमाझीको टोली उनको खोजीमा खटिएको थियो ।

अनुसन्धानमा रहेका प्रहरीका अनुसार मिश्रलाई छिमेकी सागर कुँवरसँग लेनदेनको रिसइबीले उनकै योजनामा अपहरण गरिएको थियो ।

जिप्रका कपिलवस्तुका सूचना अधिकृत हरिबहादुर वलीका अनुसार कुँवरको योजनामा मिश्रलाई अपहरण गरी जबरजस्ती गाडीमा राखेर अनुहार र दुवै हात कपडाले बाँधेर बोल्नचल्न नपाउने गरी रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ मैनाबगरस्थित गुल्मेली मिडटाउन होटलको दोस्रो तलामा रहेको कोठा नं २ मा बन्धक बनाइ कुटपिट गरी रकम माग गरिएको अवस्थामा प्रहरीले विशेष सूचनाका आधारमा बिहीबार पक्राउ गरेको छ ।

वलीका अनुसार यो घटनाको योजनाकार बागलुङ गलकोट नगरपालिका १ घर भई काठमाडौँ बस्ने ३८ वर्षीय सागर कुँवर, बुटवल ७ शिव नगरका ३२ वर्षीय सागर गुरुङ, बुटवल १३ बेलवासका ओम बराल, वाणगंगा ३ कर्मानाका शान्ति हमाल, सन्धिखर्क २ अर्घाखाँचीका प्रकाश नेपाली, तिलोत्तमा १ रुपन्देहीका तुल्सी बनलाई यो घटनामा संलग्नताको आरोपमा पक्राउ गरेको हो ।

उनीहरूलाई ५ दिनको म्याद  कपिलवस्तु जिल्ला अदालतबाट गराएर  प्रहरीले अनुसन्धान अघि बढाएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट बुधवार दिउँसो अपहरणमा परेका मिश्रलाई बुटवलबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *