बर्दघाटमा पर्यटन प्रवर्द्धनका लागि तीन दिने महोत्सव – Nepal Press

बर्दघाटमा पर्यटन प्रवर्द्धनका लागि तीन दिने महोत्सव

रुपन्देही । पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले त्रिदिवसीय साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सव आयोजना गरेको छ ।

लुम्बिनी प्रदेशको मुख्य प्रवेशद्वारको रूपमा रहेको बर्दघाट बहुभाष, बहुजातीय एवम् कला, संस्कृति र प्राकृतिक सम्पदाले विविधतायुक्त रहेकाले सम्पदाको प्रचारप्रसारका लागि महोत्सव सञ्चालन गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सक्ने प्रचुर सम्भावना भएका यस्ता स्थलहरूको इतिहासको खोजी,प्रवर्द्धन र प्रचारका लागि महोत्सव आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

महोत्सवमा विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्व,साहित्यकार तथा स्रष्टाहरूलाई निमन्त्रणा गरी नगरभित्रका ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थलको अवलोकन गराई यसका महत्वका बारेमा जानकारी गराइएको छ ।

नगरभित्र रहेका बुद्ध मङ्गल ताल, कन्चनगढी, बनदेवी मन्दिर, हिल्स टुरिजमको रूपमा रहेको सन्सारकोट क्षेत्र र बाउन्नघोला सिमसार लगायतका क्षेत्रहरूमा पुगी तीन दिनसम्म विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिने छ ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिका पर्यटनका हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रवर्द्धन र सौन्दर्यीकरणका लागि नगरपालिकाले बजेट विनियोजन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि सोही अनुरूप नगर अघि बढेको बताउँदै बर्दघाटको चिनारीमा टेवा पुग्ने गरी आगामी दिनमा थप योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले कृषि र पर्यटनको क्षेत्रलाई थप प्राथमिकतामा राखिएको उल्लेख गर्दै प्राकृतिक सम्पदाबाट समेत थुप्रै लाभ लिन सकिने धारणा व्यक्त गरे ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीले अहिले मुलुकमा पर्यावरणको ह्रास आउँदै गरेको अवस्थामा यसको न्यूनीकरणका लागि प्रज्ञा साहित्यको स्थापना भइरहेको उल्लेख गर्दै पर्यटकीय स्थलको विकाससँगै पर्यावरणीय सुन्दरतातर्फ समेत ध्यान दिनुपर्ने बताए।

विभिन्न कला, संस्कृतिको प्रस्तुति गरिएको महोत्सवमा सिमसार, सहिद पार्क र संसारकोटको अवलोकन रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गरिने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौड्यालले उल्लेख गरे।

साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्ला र गण्डकी प्रदेशका पूर्वी नवलपरासी र चितवनबाट भाषा साहित्य, कला, संस्कृतिसँग आबद्ध संघसंस्थाका प्रतिनिधि र साहित्यप्रेमी व्यक्तिहरूको उपस्थिति रहेको पौड्यालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *