राप्रपा प्रवक्ताले भने- गण्डकीमा सरकारलाई विश्वासको मत दिँदैनौँ – Nepal Press

राप्रपा प्रवक्ताले भने- गण्डकीमा सरकारलाई विश्वासको मत दिँदैनौँ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । उनले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

प्रदेश सभामा दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गण्डकीको सरकारलाई विश्वासको मत नदिने जानकारी दिए ।

‘हाम्रो कार्यसम्पादन समितिकै निर्णय हो । हामीले गण्डकीमा अहिलेको सरकारलाई विश्वासको मत दिँदैनौँ । तटस्थ बस्छौँ,’ उनले भने ।

गत चैत २५ मा नेकपा एमाले गण्डकी संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएको मुख्यमन्त्री अधिकारीले उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

उनलाई एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे) को समर्थन छ । प्रदेश सभामा कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

६० सदस्यीय प्रदेशमा सभामुखलाई गणना नगर्दा ३० बहुमत पुग्ने एमालेको दाबी छ । राप्रपाले साथ दिँदा ३० लाई नै बहुमत मानेर जाने एमालेको तयारी छ । कांग्रेसले भने बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक हुने बताउँदै आएको छ ।

एमाले गण्डकी संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बहुमत पुर्‍याएरै विश्वासको मत लिने दाबी गरे । ‘विश्वासको मत लिनका लागि बहुमत पुग्नुपर्छ भन्ने छ । हामी बहुमत पुर्‍याएरै विश्वासको मत लिन्छौँ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर