कैलाश सिरोहियालाई हिरासत पुर्‍याउने डा. इन्द्रजीत भन्छन्- म कसैको दबाब र प्रभावमा छैन – Nepal Press
नेपाल टक

कैलाश सिरोहियालाई हिरासत पुर्‍याउने डा. इन्द्रजीत भन्छन्- म कसैको दबाब र प्रभावमा छैन

‘सचेत नागरिकको हिसाबले राज्यलाई जानकारी गराएको हुँ, सत्यतथ्य छानबिन होस्’

काठमाडौं । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउपछि चर्चामा छन् सर्लाहीका युवा डा. इन्द्रजीत महतो । सिरोहियाविरुद्ध उनले प्रहरीमा जाहेरी दिएपछि यो विषय सञ्चारमाध्यममा आएको थियो ।

पेशाले चिकित्सक भए पनि इन्द्रजीत राजनीतिमा समेत सक्रिय छन् । यद्यपि उनको राजनीतिक यात्रा स्थिर छैन । कांग्रेस र एमाले हुँदै उनी अहिले रास्वपामा आवद्ध छन् । रास्वपाको प्रदेश समिति सदस्य हुन् । यद्यपि, उनको लगाव पार्टीका मुद्दाभन्दा राष्ट्र र राष्ट्रियताका मुद्दामा बढी छ । घर–घरमा राजा पृथ्वीनारायण शाहको तस्विर राख्ने अभियानदेखि लिएर विवादास्पद नागरिकता विधेयकको विरोधसम्ममा आफूलाई उभ्याउँदै उनले राष्ट्रवादी छवि निर्माण गरेका छन् ।

सिरोहियाले हिजो पक्राउ पर्नुअघि रास्वपा अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले नै इन्द्रजीतलाई प्रयोग गरेर उजुरी हाल्न लगाएको दाबी गरे । कान्तिपुरले पनि आज त्यही आसयमा समाचार प्रकाशित गरेको छ । यही सन्दर्भमा केन्द्रित भएर नेपाल प्रेसले डा. इन्द्रजीत महतोसँग गरेको कुराकानीः

– कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको नागरिकताको विषय तपाईंसम्म कसरी आइपुग्यो ?

म अस्पतालमा बिरामी हेर्दै थिएँ । एक जना अपरिचित व्यक्ति आउनुभयो । सुरुमा त मैले चेकजाँचका लागि आएको बिरामी नै होला भन्ने सोचें । तर, उहाँसँग एउटा फाइल थियो । उहाँले भन्नुभयो कि तपाईंले पृथ्वीनारायण शाहका कुराहरु लेख्ने गर्नुहुन्छ, राष्ट्रवादी जस्तो लाग्छ मलाई । तपाईंलाई यो फाइल दिन्छु, फुर्सद भएपछि पढ्नु ! डकुमेन्ट सही लाग्यो भने कानूनी उपचारको खोजी गर्नुहोला । गलत लाग्यो भने च्यातेर फ्याक्दिनुस् ।

सुरुमा त मैले त्यति गम्भीरतासाथ लिइनँ । त्यो मान्छे को हो भनेर न सोधें न त फोन नम्बर मागें, तर फाइल चाहिँ राखें । पछि यसो फुर्सद हुँदा पल्टाएँ । कैलाश सिरोहियाको नाम देखेपछि अलिकति चासो लाग्यो । अनि राम्रोसँग अध्ययन गर्दा केही खोट भेट्टाएँ । गम्भीर शंका लाग्यो । त्यसपछि एउटा नागरिकको हिसाबले राज्यलाई जानकारी त दिनुप¥यो । त्यसैले प्रहरीमा उजुरी लिएर गएको हो ।

– पछि यति ठूलो मुद्दा बन्ला भन्ने सोच्नुभएको थियो ?

पटक्कै थिएन । मैले त राज्यका निकायहरुले छानबिन गरून् भन्नेमात्र अभिप्रायले हालिदिएको हो । नागरिकताको विषयमा पहिलेदेखि नै धेरै संवेदनशील छु ।

– तपाईंले हेर्दाखेरि के के खोट थियो नागरिकतामा ?

मलाई प्राप्त भएको डकुमेन्टमा दुइटा नागरिकताको नम्बर एउटै थियो । पहिलो व्यक्तिले नागरिकता निकालेको पाँच दिनपछि त्यही नम्बरमा सिरोहियाको नागरिकता जारी भएको छ । दुइटा नागरिकतामा एउटै नम्बर हुनु नै ठूलो गडबडी हो । अरु कुराहरु पनि शंकास्पद थिए । नागरिकतामा जारी मिति हुन्छ र हाकिमको सिग्नेचर हुन्छ । त्यो दुवै उहाँको नागरिकतामा थिएन । ‘२०३४ को रेकर्डअनुसार’ भनेर मात्र लेखेको रहेछ । सरकारी पक्षबाट त्रुटि भयो कि आपसी मिलेमतोमा भयो, त्यो त म भन्न सक्दिनँ । यसको छानबिन सरकारी निकायले नै गर्ने हो भनेर जाहेरी प्रक्रियामा गएँ ।

– जाहेरी दर्ता गर्न कत्तिको गाह्रो भयो ? रोक्नलाई कतैबाट दबाब आयो कि आएन ?

त्यस्तो केही पनि भएन । मसित प्रमाणहरु थिए । त्यसैले दर्ता नगर्ने कुनै आधार नै थिएन । मलाई कतैबाट दबाब पनि आएको छैन । म स्थानीयस्तरमा राम्रोसँग परिचित पनि छु । १२ वर्ष भयो हरिवनमा बस्न थालेको । मलाई कसैले दबाब दिन सक्दैन । सबै जनता मेरो समर्थनमा हुनुहुन्छ ।

– तपाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध हुनुहुँदो रहेछ । कतिले चाहिँ पार्टीकै डिजाइनमा तपाईंले यो उजुरी हाल्नुभएको पनि भनिरहेका छन् । कान्तिपुरले पनि त्यस्तै समाचार लेखेको छ । यो कति सत्य हो ?

बिल्कुल असत्य हो । उनीहरुले त आफ्नो बचाउका लागि भन्ने नै भए । तर, मैले एउटा राष्ट्रवादी नेपाली नागरिक भएर यो कदम चालेको हो । रास्वपाकै कुनै नेता वा मन्त्रीको यस्तो गडबडी भेटिएको भए पनि हाल्ने थिएँ ।

म पार्टीभन्दा देशलाई धेरै माथि राख्छु । पार्टी त आज छ, भोलि छैन । कांग्रेस मन परेन छोडिदिएँ, एमाले मन परेन छोडिदिएँ । आज रास्वपामा छु । भोलि कुनै कुरा चित्त बुझेन भने रास्वपा पनि छोडेर हिँड्छु नि ! के मतलब ? विचार, सिद्धान्त मन परेन भने पार्टीमा टाँसिएर बस्नुपर्छ भन्ने छैन । म आफ्नो व्यवसाय गरेर बस्ने मान्छे हो । मेरो सबैभन्दा पहिलो काम बिरामी हेर्ने हो । त्यसपछि मात्रै राजनीति । मेरो पहिलो प्राथमिकता राजनीति होइन ।

– तपाईंले उजुरी गर्नुभन्दा अगाडि पार्टी नेतृत्वलाई त जानकारी गराउनुभएको थियो होला नि ?

त्यो पनि गराइनँ । किन गराउने ? माथि नै भनें नि, मैले एउटा रास्वपाको नेता-कार्यकर्ता भएर होइन कि एउटा नागरिकको रुपमा उजुरी हालेको हो । यसका लागि मैले कसैसित सोधिरहनु पर्दैन । कुनै पनि बेथितिविरुद्ध आवाज उठाउन मैले पार्टीलाई सोधिराख्दिनँ ।

– कान्तिपुरले त रास्वपाका नेता दीपक बोहोरा नै गएर उजुरी दर्ता गर्न लगाएको भनेर समाचार छापेको छ । उहाँसित तपाईंको भेट भएको थियो ?

उहाँलाई म चिन्दा पनि चिन्दिनँ । म गएको चुनावमा पराजित भएपछि रास्वपा प्रवेश गरेको हो । पार्टीका कोही पनि नेताहरुसँग दोहोरो चिनजान छैन । रास्वपामा लागेपछि दुई पटकमात्रै काठमाडौं गएको छु । मलाई नेताहरु रिझाएर माथि पुग्नु पनि छैन । म त आफ्नो काम गरेर बस्ने हो ।

– कैलाश सिरोहियासँग तपाईंको कुनै व्यक्तिगत सम्बन्ध वा दुश्मनी त थिएन नि ?

केही पनि छैन । उहाँलाई म कान्तिपुरको अध्यक्ष भनेरमात्रै चिन्थें । उहाँले मलाई चिन्नुहुन्न ।

– उहाँलाई दोषी ठहर गर्ने गरी यथेष्ट प्रमाण तपाईंले दिनुभएको छ त प्रहरीमा ?

यस्तो छ, म न्यायाधीश त होइन नि ! त्रुटि भेटियो भने उजुरीसम्म दिने हो । अरु सबै निर्णय त प्रहरी र अदालतले गर्छन् । दोषी हो कि होइन, म भन्न सक्दिनँ । मेरो एउटै भनाइ हो, देशमा नियम-कानून छ भने छानबिन गर्नुस् । निर्दोष हो भने सफाइ दिनुस् ।

– सिरोहियालाई मिडिया हाउसबाट पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन भएको भन्ने कुराहरु पनि आइरहेका छन् । यसमा के भन्नुहुन्छ ?

यसमा मलाई केही भन्नु छैन । सरकार र अदालतलाई आफ्नो काम गर्न दिनुपर्छ । कानूनी प्रक्रियामा कसैले पनि बोल्न र हस्तक्षेप गर्न मिल्दैन । कानूनभन्दा ठूलो कोही पनि हुँदैन । यो प्रेससँगको कुरै छैन । उहाँको व्यक्तिगत इस्यू हो । प्रेस भनेको लोकतन्त्रको एउटा स्तम्भ हो । म पनि प्रेस स्वतन्त्रताको पक्षमा छु ।

– नेपालमा नागरिकता कानून खुकुलो भएकाले धेरै विदेशीहरुले नागरिकता लिइरहेका छन् भन्ने गरिन्छ । तपाईंको हिसाबले कस्तो लाग्छ ?

मैले पहिल्यैदेखि यो विषयमा आवाज उठाउँदै आएको छु । कुनै पनि देशको नागरिकता कानून पटक पटक चेञ्ज हुँदैन । गर्नु हुँदैन । नागरिकता कानून खुकुलो बनाउँदै लैजानु भनेको नेपाललाई फिजीकरण गर्ने बाटो हो । म भन्छु, २०६२/६३ पछि वितरण गरिएका सबै नागरिकताको छानबिन गरौं ।

म पनि एक जना मधेशी हो । तर, मधेशीभन्दा पहिले नेपाली हो । नागरिकता कानून खुकुलो भयो भने त्यसले सबै नागरिकतालाई असर पर्छ । हामी मधेशीलाई पनि गर्छ । नेपालै रहेन भने हामी कता जाने ? हाम्रो पुर्खाले अर्जेको यो भूमि गुम्यो भने हाम्रो अस्तित्व के रहन्छ ?
नागरिकताको नियम-कानून खुकुलो बनाउनु नै समस्याको जड हो । अरु सबै कुराभन्दा देशलाई माथि राखेर सोच्नुपर्छ जस्तो लाग्छ ।


प्रतिक्रिया

One thought on “कैलाश सिरोहियालाई हिरासत पुर्‍याउने डा. इन्द्रजीत भन्छन्- म कसैको दबाब र प्रभावमा छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर