युट्यूबमा भाइरल हुन प्रयासरत रवि चुडाल घरबेटीमाथि बलात्कारको आरोपमा पक्राउ – Nepal Press

युट्यूबमा भाइरल हुन प्रयासरत रवि चुडाल घरबेटीमाथि बलात्कारको आरोपमा पक्राउ

दुर्गा प्रसाईंको भाञ्जा पर्ने चुडालले आफूलाई एक वर्षअघि बलात्कार गरेको जोहरीकर्ता ‘महाराजगञ्ज ४८’ को दाबी

काठमाडौं । केही समयदेखि युट्यूबमा उछृंखल अन्तरवार्ताहरु दिएर भाइरल हुने प्रयासमा रहेका रविरत्न चुडाल हिजो पक्राउ परेका छन् । ५२ वर्षीया महाराजगञ्ज ४८ (परिवर्तित नाम) ले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

महाराजगञ्ज ४८ को महाराजगञ्जमा रहेको घरमा चुडालले सटर भाडामा लिएर बसेका थिए । उनी फेन्सी स्टोर चलाउँथे । उक्त घरमा घरबेटीको परिवारबाहेक चुडाल मात्रै बस्ने गरेका थिए । महाराजगञ्ज ४८ विधवा हुन् । उनको श्रीमानको २०६४ सालमा मृत्यु भएको थियो । उनका दुई छोराहरु अहिले विदेशमा छन् । चुडाल पनि पत्नीसँग सम्वन्ध बिग्रेर एक्लै बसिरहेका छन् ।

पछिल्लोपटक आफूलाई गत वर्ष जेठ १७ गते चुडालले बलात्कार गरेको दावी महाराजगञ्ज ४८ को छ । बलात्कार मुद्दामा एक वर्ष हदम्याद हुन्छ । महाराजगञ्ज ४८ ले गत असोजदेखि जाहेरी दिने प्रयास गरेकी थिइन् ।

तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै जाहेरी लिन मानेको थिएन । त्यसपछि उनले उच्च अदालतमा निवेदन दिइन् । उच्चले गत पुस १७ गते जाहेरी दर्ता गरी आवश्यक कारवाही अगाडि बढाउन काठमाडौं परिसर र महाराजगञ्ज प्रहरीलाई परमादेश दिएको थियो । त्यसपछि जाहेरी दर्ता भएको हो ।

जाहेरी दर्तापछि पनि लामो समयसम्म चुडाल पक्राउ परेका थिएनन् । दुई साताअघि महाराजगञ्ज ४८ ले एक युट्यूव च्यानललाई अन्तरवार्ता दिएकी थिइन् । त्यसमा उनले आफूलाई ब्ल्याकमेलिङ गर्दै बलात्कार गरेको भन्दै चुडाललाई पक्राउ गर्न माग गरेकी छिन् । चुडाल भने युट्यूवमा राजनीतिक विश्लेषण छाँट्दै बसिरहेका थिए ।

महिलाको भनाइ अनुसार २०७३ साल असार १८ गतेदेखि चुडाल उनको घरमा भाडा लिएर बस्दै आएका छन् ।

‘दुईचोटि खुट्टा ढोगेपछि विश्वास गरेर भाडामा राखेँ । आफ्नो दाजुभाइ जस्तो सोचेँ । आफ्नो सन्तानजस्तो मानेको थिएँ । तर, उसले ममाथि विश्वासघात गर्यो’, अन्तरवार्तामा महिलाले भनेकी छन् । चुँडालको पृष्ठभूमि संदीग्ध छ । नाताले उनी दुर्गा प्रसाईंका भाञ्जा (ठूलीआमाको छोरीको छोरा) पर्छन् ।

तर, प्रसाईंसँग उनको ठूलो रिसइबी छ । उनी अन्तरवार्ताहरुमा प्रसाईंको उछितो काढ्ने गर्छन् । प्रसाईंले नै आफ्नो घर भाँडेको आरोप लगाउँदै आएका छ्न । दुई कक्षासम्मको अध्ययन गरेका चुडाल यसअघि ड्रग्स र रक्तचन्दनको केसमा केही समय जेल परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर