अमेरिकालाई नेपालले ३५ रनमा अलआउट गरेको त्यो म्याच, जहाँ सन्दीप एक्लैले लिएका थिए ६ विकेट – Nepal Press

अमेरिकालाई नेपालले ३५ रनमा अलआउट गरेको त्यो म्याच, जहाँ सन्दीप एक्लैले लिएका थिए ६ विकेट

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गर्दा नेपाल क्रिकेट समर्थकहरु निराश बनेका छन् । अमेरिकी दूतावासको फेसबुक भित्ताभरि नेपाल समर्थकको आक्रोश पोखिएको छ ।

यसअघि सन् २०१९ मा पनि सन्दीपलाई अमेरिकाले सुरुमा भिसा दिएको थिएन । नेपालीहरुको तीव्र दबाबपछि आफैंले बोलाएर दिन बाध्य भयो । यसपटक पनि फ्यानहरुको चर्को दबाबमा दूतावास परिसकेको छ ।

अमेरिका पहिलोपटक घरेलु मैदानमा टी–२० विश्वकप खेल्दैछ । नेपाल र अमेरिकाले विश्वकप अघि वार्मअप म्याच खेल्दैछन् । क्रिकेटमा अमेरिकाभन्दा नेपाल बलियो छ ।

अमेरिकाले सन्दीपको भिसा रिजेक्ट गर्दा नेपाली समर्थकले चार वर्षअघि नेपाल र अमेरिकाले खेलेको क्रिकेट म्याच सम्झिएका छन् । उक्त खेलमा नेपालले अमेरिकालाई एकदिवसीय क्रिकेटको इतिहासमै सबैभन्दा कम स्कोरमा समेटेको थियो ।

लिग २ श्रृंखलाअन्तर्गत सन् २०२० को फेबु्रअरी २ मा त्रिवि मैदानमा नेपाल र अमेरिका भिडेका थिए । टस हारेर पहिलो ब्याटिङमा उत्रिएको अमेरिका ३५ रनमा अलआउट भयो । ओपनर जेभियर मार्सलले २२ बलमा १६ रन बनाउनुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेका थिएनन् ।

अमेरिकालाई ऐतिहासिक हार चखाउन सन्दीप लामिछानेले प्रमुख भूमिका खेलेका थिए । उनले केवल ६ ओभरमा १६ रन खर्चेर अमेरिकाका ६ ब्याट्सम्यानलाई पेभिलियन फर्काए । यो सन्दीप स्वयमको व्यक्तिगत उत्कृष्ट प्रदर्शन थियो । स्पिनर सुसन भारीले ४ विकेट लिए ।

३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा नै भेट्टायो । नेपालको कप्तानी गरेका ओपनर ज्ञानेन्द्र मल्ल १ रनमा र सुभाष खकुरेल शून्यमा आउट भएपछि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै टीमलाई जिताएका थिए ।

सर्वाधिक कम स्कोरमा अलआउट भएको अमेरिकी विश्व रेकर्ड अहिले पनि कायम छ । यसअघि सन् २०२४ मा जिम्बाबेलाई श्रीलंकाले पनि ३५ रनमा नै अलआउट गरेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर